उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०२-०९
- A
- A-
- A+
काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रम बिच दुई दिवसीय बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ ।
नेपाल सरकार गृहमन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा विद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतका विषयमा मंगलबार उक्त गोष्ठी शुरू भएको थियो ।
गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले सबै सुरक्षा निकायहरूले आम नागरिकको सुरक्षा संवेदनशीलता, सामिप्यतालाई प्रभावकारी हुने किसिमको कामहरू गर्नुपर्ने बताउनुभयो । गोष्ठीमा राखिएका विषयवस्तु एवम् छलफलहरू लाभदायी भएको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘गोष्ठीलाई गृह मन्त्रालय र प्रदेश सरकार बिच पुलको रूपमा व्याख्या गर्न चाहन्छु ।’
गृहमन्त्री लामिछानेले निमार्ण भएका वा हुने अल्पकालीन एवं दीर्घकालीन योजनाहरूमा छलफल हुनुपर्ने र सेवा प्रदायक अंगहरूले आम नागरिक एवम् पहुँच नपुगेका समुदायलाई भरोसा दिलाउने किसिमका कार्यहरू गर्नुपर्ने उल्लेख गर्दै विद्यमान केही ऐन कानूनहरू संशोधन तथा थप निर्माण गर्नुपर्नेमा गृह मन्त्रालय संवेदनशील रहेको बताउनुभयो । कार्यसम्पादन सूचकको आधारमा मूल्याङ्कन हुने उल्लेख गर्दै उहाँले अपराध न्यूनीकरणमा प्रहरी साझेदारी एवम् सूचनामूलक कार्यक्रमहरूबाट थप प्रभावकारी बनाउँदै सर्वसाधरण जनताले महशुस हुने गरी चुस्त दुरूस्त एवम् पारदर्शी रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ र बागमती प्रदेशका का.मु. प्रमुख सचिव गोविन्द बहादुर कार्कीले गोष्ठीको महत्व एवम् आवश्यकताबारे आ-आफ्नो विचार व्यक्त गर्दै प्रहरी समायोजन हुनुपर्ने धारणा राख्नुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशको समग्र हित, दिगो विकास र शान्तिका लागि सम्पूर्ण सरोकारवालाहरू बिचको प्रतिवद्धता प्रवर्द्धन तथा साझेदारहरू बिचको सहकार्य अभिवृद्धिमा गोष्ठी साझा प्लेटफर्मको रूपमा साबित हुने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुरक्षा राज्यको उच्च प्राथमिकताको क्षेत्र रहेको र यसको अभावमा राज्यको सुशासन एवम् समृद्धितर्फको गति समेत प्रभावित हुने भएकोले यसतर्फ गम्भीर र संवेदनशील रही निर्दिष्ट जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न नेपाल प्रहरी प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले शान्ति सुरक्षा तथा अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा निर्वाह गरेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी अझ व्यावसायिक र लगनशील भई थप उर्जाका साथ जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम र योजनाबद्ध प्रहरी परिचालन मार्फत समग्र प्रदेशमा शान्ति सुव्यवस्था बहाल राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले हरदम प्रयासरत रहँदै स्पष्ट जिम्मेवारी बोध र निर्भिकतापूर्वक कानूनको कार्यान्वयन गर्न गराउन प्रदेश तथा मातहत जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
गोष्ठीमा नेपाली सेनाका रथी अशोकराज सिग्देल, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सह-सचिवहरू नारायण प्रसाद भट्टराई, थानेश्वर गौतम र स्किम श्रेष्ठ तथा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । साथै बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवं आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा बागमती प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र अगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल समेत भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्यसहित गोष्ठी समापन गर्नुभयो । गोष्ठीमा गृह मन्त्रालयका पदाधिकारीहरू, बागमती प्रदेशस्तरीय सुरक्षा निकायका प्रमुखहरू, बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।