लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०३-१४
- A
- A-
- A+
काठमाडौं, नागार्जुन नगरपालिका-२ स्वयम्भूस्थित रीड मोडल स्कुलमा लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालको दुरूपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, प्रहरी वृत्त स्वयम्भू र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रताप दानीले लैंगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक सञ्जालबाट हुने विसंगति एवम् विकृतिलाई न्यूनीकरण गरी सभ्य र सुरक्षित समाज निर्माण गर्न कार्यक्रमले सहयोग गर्ने चर्चा गर्नुभयो । अपराधमुक्त समाज निर्माण गर्न नागरिक समाज र प्रहरीबीच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी उपाध्यक्ष तथा कार्यक्रमका सभापति श्रीमती कल्पना गिरीले आफ्नो टोल छिमेकमा हुने लैंगिक तथा घरेलु हिंसा र विद्युतीय अपराधलाई निर्मुल पार्नलाई कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । इन्टरनेट र सामाजिक सञ्जालबाट हुने आपराधिक कार्यहरू बढ्न नदिन समयमानै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक पुर्णिमा कुमारी चन्दले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा लैंगिक हिंसा तथा घरेलु हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक नाटक “समान युग”, साइबर अपराध सम्बन्धी सचेतनामूलक नाटकका साथै सामुहिक सहचरी नृत्य तथा सामुदायिक प्रहरी साझेदारी गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक एवम् विद्यार्थीहरू, संचारकर्मी, प्रहरी अधिकृत तथा जवानहरू लगायतको उपस्थिति रहेको थियो ।