मानव बेचबिखन विरूद्ध निर्मम भएर अगाडि बढ्नुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८१-०४-१५
- A
- A-
- A+
काठमाडौं, गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोको आयोजना तथा अनाहत नेपाल, UNODC र Society for Integrated aligned Nepal को सहकार्यमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा मानव बेचबिखन विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो ।
गृहमन्त्री रमेश लेखकले सीमित स्रोत साधनको वावजूद पनि मानव बेचबिखन अनुसन्धान ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उहाँले बताउनुभयो । चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा गृहसचिव एकनारायण अर्यालले वर्तमान अवस्थामा मानव बेचबिखन तथा ओसारपसार चुनौतिपूर्ण रहेको उल्लेख गर्दै यसको न्यूनीकरण एवम् रोकथामको लागि सबै सरोकारवाला निकायहरू सचेत भएर आपसी सहयोग एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको प्रयासको प्रशंसा गर्दै ब्यूरोको लक्ष्य प्रति गृहमन्त्रालय सदैव सहयोग र समन्वय गर्न प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
गृह सचिव अर्यालले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवम् रोकथामको लागि ब्यूरोले संचालन गरेको विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आगामी दिनमा अपराधमा फस्न सक्ने तथा अपराधबाट पीडित हुन सक्ने क्षेत्र एवम् समुदाय नजिक पुगेर अझ प्रभावकारी रूपमा संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याई पीडितलाई अनुभूति हुने गरी न्याय सम्पादन गर्न ब्यूरो अझ सक्रिय भई कार्य गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी सीमित साधन स्रोतका वावजूद पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण एवम् रोकथामको लागि सदैव क्रियाशील रहेको बताउनुभयो । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै यसको नियन्त्रण, न्यूनीकरण र रोकथामको लागि सम्पूर्ण सरोकारवाला निकाय, विभिन्न संघसंस्था लगायतको संयुक्त समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नायव महान्यायाधिवक्ता डा. टेक बहादुर घिमिरे, ललितपुर महानगरपालिकाका उपप्रमुख मन्जली शाक्य, UNODC का क्षेत्रीय प्रतिनिधि Marco Teixeria, अनाहत नेपालका अध्यक्ष अशोक कुमार खाँड, Society for Integrated aligned Nepal का अध्यक्ष डिल्ली गिरीले कार्यक्रमको महत्व बारे आ-आफ्नो धारणा सहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्रले मानव बेचबिखन अनुसन्धान ब्यूरोको गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा मानव बेचबिखन तथा ओसारपसार विरूद्ध चेतनामूलक नृत्य, कविता वाचन एवम् श्रब्यदृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, काठमाडौं/ललितपुर/ भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू, संचारकर्मीहरू, शिक्षक, विद्यार्थीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।