निर्माणाधिन प्रतिष्ठानको समयमै गुणस्तरका साथ सम्पन्न गर्न क्रियाशील हुनुपर्ने : गृहमन्त्री रमेश लेखक
२०८१-०४-३२
- A
- A-
- A+
काभ्रे, गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरू समयमै गुणस्तरका साथ सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवाला निकायहरू क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका-६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको शुक्रबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो क्रममा उहाँले यस परियोजना महत्वपूर्ण भएको चर्चा गर्दै निर्माण कार्यमा देखिएका समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
उक्त अवसरमा गृहमन्त्री रमेश लेखकले निर्माणाधिन प्रतिष्ठान परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले निर्माण कार्यलाई समयमै सम्पन्न गराउने लक्ष्यका साथ काम भइरहेको चर्चा गर्नुभयो । निर्माणको क्रममा देखा परेका विविध समस्याहरूलाई सम्बोधन गर्न नेपाल सरकार, स्थानीय तह लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै आइरहेको उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षकहरू, पनौती नगरपालिकाका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गर्नुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त कार्यक्रममा Central Public Works Department (CPWD) का परामर्शदाता ई. राजेश कुमारले निर्माणाधिन प्रतिष्ठान सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।