प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साहित्य, कला र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा प्रहरी सर्जक तथा कलाकारहरूको भूमिका प्रशंसनीय छ - प्रहरी महानिरीक्षक कुँवर

२०८१-०५-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताउनुभएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गर्नुभयो । विगतमा नेपाल प्रहरीको सदस्यको हैसियतले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै अवकाश प्राप्त जीवनमा साहित्य लेखन, कला र संस्कृतिको माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ निर्देशित गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले भेटघाट कार्यक्रमले बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूबीचको सहकार्य, समन्वय र एकता थप मजबुत हुने धारणा व्यक्त गर्नुभयो । अपराध रोकथाम, विपद् उद्दार, शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीको शाख र प्रतिष्ठालाई जीवन्त राख्न बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले जसरी उल्लेख्नीय भूमिका निर्वाह गरिरहनु भएको छ त्यसरी नै आगामी दिनमा समेत साहित्य र कलाको माध्यमबाट नेपाल प्रहरीको प्रतिष्ठामा थप श्रीवृद्धि गर्नुहुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रममा सहभागी भएका प्रहरी सेवाबाट अवकाश प्राप्त सर्जक तथा कलाकारहरूलाई सम्मान समेत गर्नुभयो । 

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले पूर्वजहरूले गरेका राम्रा कामलाई अझ राम्रो गर्दै जाने, नसके त्यसलाई मर्न नदिने प्रण गरिएको बताउनुभयो । यस्ता कामलाई निरन्तरता दिन, रचना सिर्जना संरक्षण गर्न र कल्याणकारी कार्य गर्नेबारे विचार विमर्श भइरहेको उहाँले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीका सर्जक र कलाकारहरूको सिर्जनाबाट जनसम्पर्क स्थापित गर्न र प्रहरी कार्यमा सहयोग पुर्‍याउन सहजता ल्याएको चर्चा गर्नुभयो । साहित्य, कला र संगीतमार्फत प्रहरीका सर्जक तथा कलाकारहरूले प्रहरी संगठन, समाज र राष्ट्रलाई विशेष योगदान दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।   

अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आजको भेटघाट विशिष्ट भेटघाट भएको उल्लेख गर्दै संस्थागत रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रहरी संगठनप्रति विशेष आभार व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत नेपाल प्रहरीका बहालवाला तथा पूर्व प्रहरी सर्जकहरू एवम् नेपाल पूर्व प्रहरी कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच प्रहरी सेवा र सिर्जनाबारे छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।   

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०७-१३

काठमाडौं,  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागि परि नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वास योग्य संस्थाको रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतको रूपमा आफ्नो जिम्मेवारीमा खरो रूपमा उत्रिनुहुन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सरूवा, बढुवा लगायत नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम संगत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्ग निर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा संगठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न
२०८१-०७-१२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका खेलाडी तथा अफिसियलहरूलाई रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, प्रतियोगितामा सहभागी भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरू एवम् प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र तथा मायाको चिनो समेत प्रदान गर्नुभयो । कार्यक्रमको सुरूमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३-१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रथम भएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विद्यामा प्राप्त गरेको ख्याती तथा नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागीता जनाई हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागीता र योगदानका कारण खेलकुद, नेपाल प्रहरी संगठन र नागरिक बिचको सम्बन्ध सुदृढ भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रको श्रीवृद्धिका अवसरहरू श्रृजना भइरहने  अपेक्षा रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलको लागि संगठन सदैव सकारात्मक रहेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टिमका खेलाडी तथा अफिसियलहरूलाई ट्रफि, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रतियोगिताका उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गर्नुभयो ।प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा खेलकुद कार्यक्रम व्यवस्थापन उप-समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश: नगद १ लाख १ हजार रूपैयाँ र ५१ हजार रुपैयाँ एवम् ट्रफि, मेडल, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रूपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरिएको थियो । कात्तिक ७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवन उद्‌घाटन
२०८१-०७-०८

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण तथा कार्यलय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी जनशक्तिलाई अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्न सक्षम बनाउने थलो तालिम केन्द्र भएको चर्चा गर्दै तालिम केन्द्र प्रहरीको एउटा एकाई मात्र नभई कानूनको निष्पक्ष कार्यान्वयनको लागि निर्भिक, निष्पक्ष, कर्मठ, इमानदार र व्यावसायिक प्रहरी जनशक्तिको उत्पादन गर्ने पवित्र स्थल भएको बताउनुभयो । प्रशिक्षणस्थलमा उपलव्ध भौतिक पूर्वाधारहरूले प्रशिक्षण गतिविधिलाई प्रत्यक्ष असर पार्ने हुनाले यो भवनको उद्‌घाटन सँगै प्रशिक्षणमा संलग्न प्रशिक्षक र प्रशिक्षार्थीहरू लाभान्वित भई तालिमको स्तर र प्रभावकारितामा गुणात्मक वृद्धि आउने अपेक्षा लिएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले परम्परागत प्रशिक्षण प्रणालीलाई निरन्तरता दिई आधुनिकतासँग भित्रिएका नयाँ प्रसंग र परिवेशलाई सम्बोधन गर्दै आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै समयानुकूल पाठ्यक्रमको निर्माण र तदनुरूप प्रशिक्षण प्रणालीको विकाशमा केन्द्रित हुन जरूरी रहेको बताउनुभयो । हाम्रो परिवेश, अपराधको प्रवृत्ति र प्रविधिको विकासको अपरिहार्यतालाई मध्यनजर गर्दै यस शिक्षालयले आफ्नो प्रशिक्षण पद्दतिलाई समयानुकूल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतिलाई दृष्टिगत गरी चुनौतिको सामना गर्न सक्ने प्रहरी जनशक्तिको निर्माण गर्न सक्षम बनाउने तालिम कार्यक्रमको विकास गर्न प्रशिक्षक वर्गलाई उहाँले निर्देशन दिनुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, भौतिक पूर्वाधार शाखाका प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड १५ लाख ५२ हजार ३ सय ३३ रूपैयाँ १५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,  प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरबाट नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्‌घाटन
२०८१-०७-०८

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत उहाँले निर्देशन दिनुभयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, साविक राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने र अभिभावकको तर्फबाट हरिशचन्द्र दाहालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका प्राचार्य मुकुन्द कुमार गिरीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यु प्रस्तुत गरेका थिए । प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०७-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने चर्चा गर्दै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता सुरू
२०८१-०७-०७

काठमाडौं, आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता २०८१ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरु भएको छ ।नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।