प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण

२०८१-०६-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो ।

सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील रहनुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिल राज बोहरा, काठमाडौं उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्त राम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नबिन चुदाली, प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायव निरीक्षक जोख बहादुर बिक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोबिन्द बहादुर महतो, प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक यम कुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायव उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक विजय महतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक संगिता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधन कुमार महतो, प्रहरी हवल्दार दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दिपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान बिमला चौधरी, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष लामा, प्रहरी नायव निरीक्षक महादेव भट्ट, प्रहरी हवल्दार डोलराज ढकाल, उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेश कुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ७ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।   

यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ साहित्यकार गंगा कर्माचार्य पौडेल र प्रहरी वरिष्ठ नायव निरीक्षक सरस्वस्ती बुढाथोकीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका शिक्षक हरिहर तिमिल्सिना, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण सम्बन्धी नारा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ परिकल्पना गर्नुहुने काठमाडौं टोखाका घन बहादुर थापा, उत्कृष्ट प्रहरी नारातर्फ काठमाडौं गुहेश्वरीका रबिन दोङ, भक्तपुर सूर्यबिनायकका इश्वर केसी, शुसिला थापा र नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक किरण सापकोटालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी उहाँले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित वृत्तचित्र प्रतियोगितामा विजयी हुने ललितपुर टिकाथलीका गणेश देवकोटा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका मनोरम केसी, काठमाडौं बौद्धका रविन तामाङ, उत्कृष्ट लेखरचना निबन्धतर्फ विजयी हुने निष्ट मावि बनेपा काभ्रेकी चन्द्रिका थापा मगर, पाँचखाल भ्याली स्कूल काभ्रेकी क्रिती लामिछाने, युरेका आवासिय मावि धरानका ईशान क्षेत्रीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । 

  यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने काठमाडौं नरेफाँटका सार्किमान बल, पदम कुमार रेग्मी, सुनसरीका प्रदिप कुमार सन्थलीया, रोयल कन्स्ट्रक्सन धनगढी कैलालीका प्रकाश बहादुर सेटी, इम्प्रेसन एण्ड क्रिएटिभ डिजाईन ज्वागल ललितपुरका विवेक श्रेष्ठ, राजु ढुङ्गेल, कलाकारतर्फ झापाका दिवाकर घिमिरे, सुनसरीकी सुनिशा बजगाँईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका बिमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, बिनसरा पुन, मणिभक्त पुन, मिन बहादुर घर्ति र रूपन्देहीका शैलेन्द्र कुमार चौधरीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ । 

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्दै जनविश्वास अनुरूप कार्यसम्पादन गर्न अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने बताउनुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले देखाउनुभएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

सम्बन्धित समाचार
आठ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०९-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस २६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ पुस २८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ५ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ पुस २८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहनुभएको छ ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुशी भन्दा माथि राख्दै पदिय जिम्मेवारी र जवाफदेहीता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिनुभयो । संगठनको विकास र सुदृढिकरणको लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेशागत निष्ठा, व्यावसायिकता, इमानदारीता र धैर्यतालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले संगठनको छवि उच्च गर्ने र यसको बृहत्तर हितको लागि सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-०९-१६

 काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङले आ-आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पुस १६ गते, विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल मंसिर २८ गते, विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरत बहादुर बोहरा पुस १४ गते सेवानिवृत्त हुनु भएको हो । साथै विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक विकास राज खनाल वैशाख ७ गते र विसं २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक डा.देउती गुरूङ पुस १५ गते सेवानिवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०८१-०९-१६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरू र अफिसियलहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै नयाँ प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने अवसरको रूपमा रहेको चर्चा गर्दै यस्ता प्रतियोगिताले समग्र नेपाल प्रहरीको फुटबल खेलको स्तरलाई सुदृढ तुल्याउन ठूलो योगदान पुर्‍याएको बताउनुभयो । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टिमलाई अझ बढि क्षमतावान्, कुशल, दक्ष र सफल बनाउने तर्फ यथोचित पहल गर्नका लागि नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण नेपाल प्रहरी संगठन मात्र नभई समग्रमा राष्ट्रकै गरिमामा बढोत्तरी हुनुका साथै प्रहरी र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको उल्लेख गर्नुभयो । प्रहरी संगठनमा अनुशासन, नेतृत्व क्षमता, सहयोगी र सामूहिक भावना, मेहनत र लगनशिलता अनिवार्य शर्तको रूपमा रहेको बताउँदै खेलकुदले सिकाउने यस्ता महत्वपूर्ण गुण र आचारणहरू आत्मसाथ गरी संगठनको बृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट डिफेण्डरलाई एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले र प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले द्वितीय हुने टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाणपत्र, चेक र ट्रफि प्रदान गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले प्रतियोगिताका सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई पुरस्कार एवम् अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आज भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको टिमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रूपैयाँ र द्वितीय हुने टिमले १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले १५/१५ हजार रूपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जिवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धन बहादुर आले उत्कृष्ट डिफेण्डर घोषित भएका थिए भने फेयर प्ले टिमतर्फ कोशी प्रदेश प्रहरी कार्यालयको टिम उत्कृष्ट घोषित भएको थियो ।   पुस ७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका गरी जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरू
२०८१-०९-०७

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता, २०८१ आइतबारबाट शुरू भएको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले नेपाल प्रहरीको खेलकुद क्षेत्रलाई गतिशील एवम् सशक्त बनाउन विभिन्न आन्तरिक प्रतियोगिताहरू संचालन गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको बताउनुभयो । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अनुशासन कायम राखि आफ्नो कौशल प्रदर्शन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य एवम् प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।पुस १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ । 

सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०९-०७

काठमाडौं,  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूले प्रदर्शन गरेको व्यावसायिकता, इमानदारीता र लगनशीलतालाई कायम राख्दै प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिसँग मात्र जोडेर नहेरी सांगठनिक विकास र सुदृढिकरणमा समेत महत्वपूर्ण योगदान दिने अवसरका रूपमा मनन गरी पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी आगामी दिनहरूमा अझ बढी सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीको साख वृद्धिलाई प्राथमिकतामा राखी नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा अझ बढी जवाफदेहीताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०८-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैंगिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने विचार व्यक्त गर्नुभएको छ । साथै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र लैंगिक विभेदमा शून्य सहनशीलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी भएको ‘नेपाल प्रहरी लैंगिक नीति २०८१’ को सार्वजनिकिकरण गर्नुभयो । साथै उहाँले लैंगिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीबाट भएका प्रयासहरू बारे तयार पारिएको वृत्तचित्र समेत शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै लैंगिक हिंसाजन्य घटना नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर संवेदनशीलताका साथ सम्बोधन गर्दै आइरहेको बताउनुभयो । लैंगिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुन:स्थापनका साथै लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरी प्रधान कार्यालयदेखि इलाका स्तर सम्मका कार्यालयहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भई सेवा प्रवाह समेत हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।   प्रहरी महानिरीक्षक कुँवरले प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती थपेको उल्लेख गर्दै यस्ता किसिमका चुनौतीहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्नका लागि नेपाल प्रहरीका प्रयासहरू केन्द्रीत रहेको बताउनुभयो । लैंगिक हिंसाको न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसा विरूद्ध हुने जुनसुकै अपराधहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गरी अनुसन्धान लगायतका सम्पूर्ण प्रकृयाहरू पूरा गर्ने उद्देश्यले आज जारी भएको लैंगिक नीति समयसापेक्ष, परिष्कृत र परिमार्जित स्वरूपमा रहेको जानकारी दिनुभयो । यस नीतिबाट नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्ध हुने कुनै पनि प्रकारका हिंसा, विभेदप्रति अत्यन्तै संवेदनशील भई कार्यसम्पादन गर्न र सेवा प्रवाहमा उच्च मनोबलका साथ परिचालित हुन प्रेरित गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्मा, गृहमन्त्रालयका उपसचिव सुरेश राज जोशी, राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव अन्जु ढुंगाना र स्वास्थ्य सेवा विभाग, नर्सिङ सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ कम्युनिटि नर्सिङ प्रशासन अधिकृत कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव उपरीक्षक रूपा थापाले लैंगिक हिंसाको वर्तमान अवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।