प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन
२०८१-०७-०८
- A
- A-
- A+
चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण तथा कार्यलय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी जनशक्तिलाई अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्न सक्षम बनाउने थलो तालिम केन्द्र भएको चर्चा गर्दै तालिम केन्द्र प्रहरीको एउटा एकाई मात्र नभई कानूनको निष्पक्ष कार्यान्वयनको लागि निर्भिक, निष्पक्ष, कर्मठ, इमानदार र व्यावसायिक प्रहरी जनशक्तिको उत्पादन गर्ने पवित्र स्थल भएको बताउनुभयो । प्रशिक्षणस्थलमा उपलव्ध भौतिक पूर्वाधारहरूले प्रशिक्षण गतिविधिलाई प्रत्यक्ष असर पार्ने हुनाले यो भवनको उद्घाटन सँगै प्रशिक्षणमा संलग्न प्रशिक्षक र प्रशिक्षार्थीहरू लाभान्वित भई तालिमको स्तर र प्रभावकारितामा गुणात्मक वृद्धि आउने अपेक्षा लिएको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले परम्परागत प्रशिक्षण प्रणालीलाई निरन्तरता दिई आधुनिकतासँग भित्रिएका नयाँ प्रसंग र परिवेशलाई सम्बोधन गर्दै आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै समयानुकूल पाठ्यक्रमको निर्माण र तदनुरूप प्रशिक्षण प्रणालीको विकाशमा केन्द्रित हुन जरूरी रहेको बताउनुभयो । हाम्रो परिवेश, अपराधको प्रवृत्ति र प्रविधिको विकासको अपरिहार्यतालाई मध्यनजर गर्दै यस शिक्षालयले आफ्नो प्रशिक्षण पद्दतिलाई समयानुकूल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतिलाई दृष्टिगत गरी चुनौतिको सामना गर्न सक्ने प्रहरी जनशक्तिको निर्माण गर्न सक्षम बनाउने तालिम कार्यक्रमको विकास गर्न प्रशिक्षक वर्गलाई उहाँले निर्देशन दिनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, भौतिक पूर्वाधार शाखाका प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड १५ लाख ५२ हजार ३ सय ३३ रूपैयाँ १५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल, प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।