प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हत्या गरेको अभियोगमा पक्राउ

२०८१-०७-१०

  • A
  • A-
  • A+
Share

नवलपरासी पूर्व, देवचुली नगरपालिका-९ बिशालटार बस्ने २९ वर्षीय मिलन मानन्धरको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अर्जुनले धारिलो हतियार प्रहार गर्दा मिलन गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलदले र जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका मिलनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  

संखुवासभा, चिचिला गाउँपालिका-४ मत्क्षपोखरी बस्ने ४५ वर्षीय भिम बहादुर गुरूङको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीया दुर्गा माया गुरूङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दुर्गाले धारिलो हतियार खुकुरी प्रहार गर्दा भिम बहादुरको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिचिला र जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
चोरीमा संलग्न दुई जना पक्राउ
२०८१-०७-१०

कास्की, पोखरा महानगरपालिका-८ न्यूरोड बस्ने भिम बहादुरको कोठाबाट सुनको सिक्री १ थान, घडी १ थान र नगद समेत चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा भिमसेन गाउँपालिका-६ घर भई हाल कास्की पोखरा महानगरपालिका-१५ घलेचोक बस्ने ३९ वर्षीय राम बहादुर नेपाली र २६ वर्षीया गोमा गुरूङ रहेका छन् । गत कात्तिक १ गते भिम बहादुरको कोठाबाट चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी भएको सुनको सिक्री (दुई टुक्रा पारिएको अवस्थाको) १ थान, घडी १ थान र विभिन्न कम्पनीका मोवाइल ३ थान सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

माल्टा पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ
२०८१-०७-१०

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिराहा, सिराहा नगरपालिका-१० घर भई काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्लेलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । मनोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट नगद ७ लाख ३० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मध्यबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८१-०७-१०

काठमाडौं, ठगी तथा संगठित अपराध कसूर मुद्दाका फरार प्रतिवादी तनहुँ भानु नगरपालिका-८ बगालेफाँट घर भएका ४८ वर्षीय राम बहादुर खनाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । सुर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रालि र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी राम बहादुरलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३ पानीपोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ
२०८१-०७-०९

काठमाडौं, वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् । NCB PHNOM-PENH कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्‍चात २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।साथै सुजन विरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो । उनलाई सम्बन्धित कसूरहरूमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।