प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

२०८१-०९-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ रूपन्देहीको भैरहवामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममुखी हुनुपर्नेमा जोड दिँदै गोष्ठीबाट प्रदेशको शान्ति सुरक्षाको स्थिति विश्लेषण गरेर प्रत्येक जिल्लामा शान्ति सुरक्षामा देखा परेका चुनौतीहरू र ती चुनौतीहरूलाई सम्बोधन गर्दै प्रदेशमा शान्ति सुरक्षाको स्थितिलाई पूर्णरूपले सुनिश्चित गर्नुपर्ने बताउनुभयो । राजश्व चुहावट, तस्करी नियन्त्रण एवम् सीमा नाकामा हुने अपराधजन्य गतिविधि नियन्त्रणमा परिणाममुखी ढंगले देखिने गरी कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । साथै प्रदेशमा चुनौतीको रूपमा देखिएका आर्थिक अपराध, साइबर अपराध, ठगी, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

गृहमन्त्री लेखकले शान्ति सुरक्षा नै लोकतन्त्रको पूर्व सर्त भएको उल्लेख गर्दै शान्ति सुरक्षा मार्फत देशमा आर्थिक विकास एवम् विकास निर्माणका काम अगाडि बढ्ने बताउनुभयो । शान्ति सुरक्षा नागरिकले प्राप्त गर्नुपर्ने पहिलो आधारभूत अधिकार भएको र संविधानको रक्षाको सर्त पनि भएको बताउँदै शान्ति सुरक्षाको सुनिश्चितताले नागरिकले आफ्नो हक अधिकारहरू निर्वाद रूपले उपभोग गर्न पाउने समेत भएकोले यसलाई गम्भीरतापूर्वक बुझ्न जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो । 

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश कुमार अग्रवाल र लुम्बिनी प्रदेशका प्रमुख सचिव माहादेव पन्थले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका सुरक्षा र अपराध सम्बन्धी समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गर्न एकिकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धिमूलक भएको बताउनुभयो । सुरक्षा सम्बन्धी मुद्दाहरूमा छलफल, सबै आवश्यक सुरक्षा उपायहरू र जोखिम मूल्याङ्कन, विभिन्न अपराध, घटना प्रतिक्रिया र प्रतिकार्य योजनाहरूको समीक्षा र सो वस्तुस्थितलाई अद्यावधिक गर्दै परिमार्जित रणनीतिको रूपरेखा निर्माण गरी प्रदेशको सुरक्षा व्यवस्थापन गर्ने संवेदनशील विषयमा राज्यका सबै अंगहरूबीच समन्वय र सहकार्य अपरिहार्य हुने हुँदा यस गोष्ठीद्वारा एकिकृत कार्यप्रणालीको सुदृढिकरणमा नयाँ आयाम थप हुनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो ।  

सो अवसरमा नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कंडेलले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा लुम्बिनी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । 

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा लुम्बिनी प्रदेश अन्तर्गत १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 



सम्बन्धित समाचार
गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०८-२४

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८१ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न विशेष सक्रियताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम गर्न सबै सरोकारवाला निकायहरूबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा कर्णाली प्रदेशका मुख्य मन्त्री तथा आन्तरिक मामिला तथा कानुन मन्त्री यामलाल कडेल र कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रदेशमा देखिएका समस्या तथा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी प्रदेशको प्रयास र केन्द्रको अपेक्षा बुझ्न एकीकृत र समन्वयात्मक रूपमा आयोजना गरिएको यस गोष्ठी निकै महत्वपूर्ण र उपलब्धीमूलक भएको बताउनुभयो । प्रदेशमा शान्ति सुरक्षा बहाल राख्ने कार्यमा सम्पूर्ण सरोकारवाला निकाय र सुरक्षा निकायबीचको आपसी समन्वय र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै यस गोष्ठीले कर्णाली प्रदेशमा शान्ति सुरक्षाको अवस्था अझ सुदृढ बनाउनेमा अहम भूमिका खेल्ने विश्वास लिएको उहाँले बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने अपराधका घटना अनुसन्धानमा शून्य सहनशिलता तथा हिंसा न्यूनीकरणलाई प्राथमिकताका साथ विशेष योजना बनाई प्रभावकारी रूपमा पहल गर्नुहुन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।    सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव ऋषिराम तिवारी र कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्प राज शाहीले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८१-०८-०४

काठमाडौं, गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री लेखकले गोष्ठी परिणाममूखि हुनुपर्नेमा जोड दिँदै चुनौतीका रूपमा रहेका साइबर अपराध, सीमा सुरक्षा, सीमा नाकामा हुने राजस्व चुहावट, लागूऔषध, आत्महत्या, सवारी दुर्घटना र विपद् जस्ता समस्यालाई नियन्त्रण तथा न्यूनीकरण गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरू चुस्त दुरूस्त हुनुपर्ने बताउनुभयो । साथै आसन्न उपनिर्वाचनलाई शान्तिपूर्वक, निष्पक्ष र स्वतन्त्र रूपले सम्पन्न गर्न उहाँले निर्देशन समेत दिनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र प्रमुख सचिव डा. कमल प्रसाद पोखरेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षाको स्थिति थप मजबुत बनाउन, व्यावसायिक तथा सहज प्रहरी सेवा सुनिश्चित गराउन, कानुनको निष्पक्ष कार्यान्वयन गर्न, न्यायको प्रत्याभूति दिलाउन र विकासमैत्री वातावरण सिर्जना गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्थानीय तहको उप-निर्वाचनमा विगतमा सामना गरिएका सुरक्षा चुनौतिहरू तथा जोखिमहरूको बिश्लेषण गरी सुरक्षा योजना निर्माण तथा कार्यान्वयनको निम्ति तयारी अवस्थामा रहन प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।  सो अवसरमा सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रकाश देउजा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव छवि रिजाल र सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री रमेश लेखकबाट ई-चलान (डिजिटल चिट) को शुभारम्भ
२०८१-०७-०४

काठमाडौं, गृहमन्त्री रमेश लेखकले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच Traffic Violation Record System (TVRS), ई-चलान (डिजिटल चिट) को शुभारम्भ गर्नुभएको छ । साथै उहाँले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उहाँले शुभकामना समेत दिनुभयो । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उहाँले बताउनुभयो ।गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै उहाँले त्यसको न्यूनिकरण गर्न सरोकारवाला सबै निकायहरूले आ-आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ स्वागत योग्य रहेको चर्चा सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताउनुभयो । त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताउनुभयो । आज शुभारम्भ भएको ई-चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।   काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले TVRS को विकासक्रम, TVRS र नागरिक एप Integration, ई-चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा ई-चलान सम्बन्धी संक्षिप्त श्रब्यदृश्य प्रदर्शनका साथै ई-चलान सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवम् संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । 

गृहसचिव गोकर्णमणि दुवाडीबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०८१-०५-२६

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । गृहसचिव गोकर्णमणि दुवाडीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसर स्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो । निरीक्षण भ्रमणका क्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुभयो ।  कार्यक्रममा गृहसचिव दुवाडीले नेपाल प्रहरी गृह प्रशासन अन्तर्गतको महत्वपूर्ण अंग भएको चर्चा गर्दै विभिन्न समस्या, सीमितता र चुनौतीहरूको बावजुद पनि नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा तथा अमनचयन कायम, अपराध नियन्त्रण तथा अनुसन्धान एवम् कानून कार्यान्वयनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत पुलिसिङ मात्र नभई सामुदायिक प्रहरी सेवा र अन्य चेतनामूलक कार्यक्रमहरूमा जोड दिई अझ बढी व्यवस्थित, नागरिकमैत्री र जनताले अनुभूति गर्न सक्ने गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गृहसचिव दुवाडीले नेपाल प्रहरी व्यावसायिक संगठन भएको हुँदा यसमा आबद्ध हरेक कर्मचारीहरू इमानदार, व्यावासियक, दक्ष र कुशल हुनुपर्ने बताउनुहुँदै प्रहरी संगठनले गरेको अपेक्षा र प्रहरी कर्मचारीको दक्षता वृद्धिका लागि आवश्यक पर्ने स्रोत साधनको व्यवस्था साथै अन्य मन्त्रालयसँगको समन्वयको लागि गृह मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव दुवाडी समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०/०८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग-१ सम्बन्धी पुस्तक प्रदान गर्नुभयो ।  सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही प्रहरी सेवालाई समय सापेक्ष, जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसायोग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको बताउनुभयो । नेपाल प्रहरीको समयानुकूल आधुनिकीकरण, विकास र स्तरोन्नतिका सन्दर्भमा मन्त्रालयबाट निरन्तर मार्गनिर्देशन प्राप्त भइरहने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहसचिव दुवाडी समक्ष नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र प्रहरी संगठनले मन्त्रालयसँग गरेको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री रमेश लेखक
२०८१-०५-२२

काठमाडौं, गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभएको छ । इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्‍घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ को विमोचन गर्नुभयो । सो अवसरमा उहाँले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीद्वारा लिखित ‘नेपाल प्रहरी’ गीत सार्वजनिक समेत गर्नुभयो । गृहमन्त्री लेखकले दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने ग्लोबल कलेज अफ म्यानेजमेन्टका रूचि खरेल, द्वितीय हुने जेभियर एकेडेमीका प्रत्युश महर्जन र तृतीय हुने विश्वनिकेतन माविका निर्मल विक तथा उक्त प्रतियोगिताका मुल्याङकन कर्ताहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै इन्टरपोलको १००औं बार्षिकोत्सवको अवसरमा इन्टरपोल महासचिवालयद्वारा सन् २०२३ मा आयोजित Global Video Contest प्रतियोगितामा नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet” विषयक भिडियो सर्वोत्कृष्ट घोषित भएको हुँदा उक्त भिडियो निर्माण गर्नुहुने प्रहरी निरीक्षकद्वय नारायण थापा र उमेश गुरूङ श्रेष्ठलाई समेत उहाँले सम्मानपत्र प्रदान गर्नुभयो । गृहमन्त्री लेखकले अपराधिक क्रियाकलापहरूलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुने बताउनुहुँदै यस्ता अपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनुपर्ने बताउनुभयो । समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानून कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रंशसनीय रहेको उल्लेख गर्नुहुँदै यस कार्यक्रमले कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय स्तरमा समन्वय र सहयोगको संयुक्त प्रतिबद्धता प्रतिबिम्बित गरेको बताउनुभयो । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय स्तरमा गरेको समन्वय र सहयोग उल्लेखनीय रहेको चर्चा गर्दै अपराधको चुनौतिहरूलाई सम्बोधन गर्न आगामी दिनमा सुरक्षा निकायलाई थप मजबुद बनाउँदै लैजानेमा गृहमन्त्रालय क्रियाशील रहेको बताउनुभयो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानून कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठित अपराध, साइबर अपराध, आतंकवाद, आर्थिक अपराध लगायतका अपराध विरुद्ध लड्न एवम् त्यसता अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताउनुभयो । कानून कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतिलाई प्रभावकारी रूपमा सामना गर्न सकिने उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त तथा कार्यक्रम सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको उक्त समारोहमा अन्तर्राष्ट्रिय समन्वयमा प्रहरीको भूमिका र महत्वका बारेमा तयार पारिएको डकुमेन्ट्री भिडियोसमेत प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष एवम् पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायतको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-२०

कैलाली, गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेश तथा क्वाटर गार्डको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुको साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा गृहमन्त्री लेखकले नेपाल प्रहरीले सीमित स्रोत साधनका वावजूद पनि उल्लेखनीय कार्य गर्दै आइरहेको चर्चा गर्दै नवर्निमित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । शान्ति सुव्यवस्था कायम गर्नु एवम् अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रण प्रहरीको प्रमुख कर्तव्य रहेको उल्लेख गर्दै नागरिकका समस्यालाई प्राथमिकतामा राखेर उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीको कामकारवाही जनमुखी, पारदर्शी, पक्षपात रहित र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै समयसापेक्ष परिवर्तित समाजको गति र आम नागरिकको चाहनालाई आत्मसाथ गर्दै नेपाल प्रहरीबाट प्रवाहित सेवा पनि थप परिष्कृत, उत्तरदायी र सेवामुखी बनाउन नेपाल प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ र सहज कार्यमैत्री वातावरण निर्माण हुने अपेक्षा रहेको बताउँदै व्यवस्थित र सुविधा सम्पन्न भौतिक संरचनाबाट प्रवाहित सेवा थप गुणस्तरीय, नागरिकमैत्री एवम् प्रभावकारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. चिरन्जिवी महत्तोले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको बिनियोजित बजेटबाट कुल १३ करोड ४० लाख ८ हजार २ सय ३२ रूपैयाँ लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवर र मायामेट्रो हस्पिटल प्रालि धनगढी कैलालीका निर्देशक डा. मोहन साउँदबीच सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत रहेका बहालवाला प्रहरी कर्मचारी, अवकाश प्राप्त प्रहरी कर्मचारी र आश्रित परिवार तथा वीरगती प्राप्त प्रहरीका आश्रित परिवारको औषधि उपचारमा २५% छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सभामुख भिम बहादुर भण्डारी, विपद व्यवस्थापन प्राधिकरणका सिईओ अनिल पोख्रेल, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव डा. हरी प्रसाद लम्साल, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लगायत पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीविहरू, अमर प्रहरी परिवार, समाज सेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।यसैगरी गृहमन्त्री रमेश लेखकले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको हाताभित्र नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्प धनगढीको भवन तथा पूर्वाधारहरूको समेत बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको अवलोकन समेत गर्नुभयो । नेपाल प्रहरी कल्याण कोषको कुल ५ करोड ८७ लाख ७८ हजार ४ सय ४५ रूपैयाँ लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।