प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न २४ जना पक्राउ

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरू अन्तर्गत बेटिङ साइटको प्रयोग गरी अनलाइन जुवा खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-५ स्थित घर भाडामा लिई उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट ल्यापटप २१ थान, मोबाइल ३८ थान र राउटर ३ थान समेत प्रहरीले बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३ सय ४० रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको खुल्न आएको छ ।

उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-५ को दफा १२५ (जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिमका कसुरमा समेत आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ । 

सम्बन्धित समाचार
सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ
२०८३-०२-३०

दाङ, लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटलबाट सुन जस्तो देखिने पहेँलो धातु २ सय १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्‍चिम बाँफिकोट गाउँपालिका-६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिप कुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने धादिङ घर भएका ६५ वर्षीय राम कुमार थापा रहेका छन् ।उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ महादेवस्थानबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका राम कुमारलाई किर्तिपुर नगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये प्रदिप कुमारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ भने राम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् । पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढानिलकण्ठ नगरपालिका-९ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट बिहीबार तथा कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।