प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

दुई जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

२०८१-१२-०८

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका २ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेत रहनुभएको छ । 

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा सांगठनिक हित र विकासलाई केन्द्रमा राखी थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । 

समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक रबिन कार्कीले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि प्राप्त जिमेवारीलाई नयाँ जोश र उर्जाका साथ वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  


सम्बन्धित समाचार
सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्‍वास राखेको मुलुकको महत्वपूर्ण संगठन भएको चर्चा गर्दै  निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरूरी रहेको बताउनुभएको  छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो । यसका लागि नेतृत्व तह मात्र होइन, हर जवान सम्म यो भावनाले युक्त हुनु पर्दछ । तव मात्र राष्ट्र र नागरिकले परिकल्पना गरेको प्रहरी संगठनको स्वरूप हुनेछ ।’ सबै प्रहरी कर्मचारीहरू संगठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रीत हुनुपर्ने बताउँदै सामुहिक भावना, भातृत्व र आपसी एकताले मात्र संगठनको सुदृढीकरण र उन्नतीको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।   देशव्यापी सञ्जाल संरचना भएको नेपाल प्रहरी फौजदारी न्याय प्रणालीको महत्वपूर्ण अङ्ग, नागरिकको शान्ति सुरक्षाको पहरेदार, न्यायको धरोहर, विपद एवम् सुख दु:खमा राज्यको पहिलो प्रतिनिधि, न्यून साधनश्रोतमा पनि उच्च प्रतिफल दिन सक्ने संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले राष्ट्र र आम नागरिकमा नेपाल प्रहरी प्रतिको विश्वास र भरोसामा आँच आउने काम कोहीकसैबाट हुने छैन भन्ने कुरामा पूर्ण विश्‍वस्त रहेको बताउनुभयो । विभिन्न सामाजिक सञ्जालका माध्यमहरूमा केही व्यक्ति तथा समूहहरूले विभिन्न जातजाती, वर्ग, धर्म र संस्कृतिका विरूद्ध गलत सूचना प्रवाह गर्ने, दुष्प्रचार तथा मानहानी गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुन सक्ने सामाजिक विचलन र कानूनी जटिलतालाई सम्बोधन गरी कार्यसम्पदान गर्नुपर्ने र चुनौतिको रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार-पसार, मानव तस्करी, आर्थिक अपराध लगायतका अपराधहरूको अनुसन्धानका लागि थप क्रियाशील हुनु पर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले व्यावसायिक कार्यसम्पादन एवम् उच्च नैतिक आचरणमा आधारित मुल्याङ्कन र सोही आधारमा वृत्ति विकास तथा अवसरको प्राथमिकता आफ्नो नीति रहेको चर्चा गर्दै प्रहरी नियमावलीमा भएको पुरस्कार र सजायको व्यवस्थालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने तथा भ्रष्टाचार, अनियमितता र गैर व्यावसायिक आचरण एवम् व्यवहार विरूद्ध शून्य सहनशीलताको नीतिलाई कठोरतापूर्वक कार्यान्वयन गरिने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले अपनत्व महशुस गर्न सक्ने, सरूवा बढुवा वृत्ति विकासका अवसर संगठन भित्रै खोज्ने र उपलब्ध हुने उल्लेख गर्दै उहाँले योग्यतामा आधारित स्वचालित प्रणाली बनाई प्रहरी कर्मचारीहरूका लागि समान अवसर सुनिश्चित गर्ने, दुर्गम/जोखिमयुक्त ठाउँमा कार्यरत प्रहरी कर्मचारीलाई विशेष सुविधा वा प्राथमिकता प्रदान गर्दै प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा एवम् वृत्ति विकासमा पारदर्शिता तथा अनुमानयोग्य प्रणालीलाई सुदृढ एवं स्वचालित बनाइने बताउनुभयो । प्रहरी कल्याण कोषको व्यवस्थापन एवम् सञ्चालनलाई सुदृढ बनाइ प्रहरी कल्याण कोषका योजना तथा कार्यक्रमलाई आवश्यकता एवम् औचित्यका आधारमा प्रहरी कर्मचारीको हक, हित र कल्याण अभिवृद्धि हुने गरी प्रहरी कल्याण कोषको पारदर्शी, औचित्यपूर्ण एवम् न्यायोचित परिचालन तथा व्यवस्थापन गरिने समेत उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने पिसिसि बैठकको निर्णय
२०८१-१२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकमा प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ । नेपाल प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्दि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को समयानुकुल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशन दिइएको छ ।बैठकमा प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउँदै हक हित र कल्याण अभिवृद्धि हुने गरी नेपाल प्रहरी कल्याण कोषद्वारा संचालित विशेष कल्याणकारी कोष अन्तर्गत सहुलियत कर्जा कार्यक्रमलाई समय सापेक्ष वृद्धि गर्दै लैजानका लागि कर्जा प्राप्त गर्न सेवा अवधि कम्तिमा ७ वर्ष हुनुपर्ने व्यवस्थालाई ५ वर्ष, सहुलियत कर्जा ४ लाख रूपैयाँलाई वृद्धि गरि ५ लाख रूपैयाँ र किस्ता अवधि ५ वर्षलाई ७ वर्ष कायम गरी सो अनुसारको मासिक किस्ता रकम र किस्ता संख्या निर्धारण गरी प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको हो । 

प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
२०८१-१२-०५

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।  सुशोभन समारोहमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको कामना गर्दै प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र सम्वृद्ध नेपालको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । तीन दशक लामो व्यावसायिक जीवनमा प्रहरी महानिरीक्षक थापाले प्रदर्शन गर्नुभएको कर्तव्यपरायणता, व्यासवसायिक दक्षता, कार्यकुशलताको उच्च मुल्याङ्कन गर्दै नेपाल सरकारले विश्वास गरेर थप जिम्मेवारी प्रदान गरेकोमा यसलाई निष्ठापूर्वक, इमानदारीताका साथ पुरा गर्नु हुनेछ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहसचिव दुवाडीले शान्ति सुरक्षा र सुव्यवस्था भन्ने विषय देखिने विषय मात्र नभई अनुभूति गर्ने विषय भएको चर्चा गर्दै आम नागरिकले अनुभूति गर्ने किसिमको शान्ति, सुरक्षा, सुव्यवस्था र अमन चयन मुलुकमा कायम गर्नु सबैको कर्तव्य भएको र आम नागरिकले सरकारप्रति गरेका अपेक्षाहरू पुरा गर्न सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । समाजमा नयाँ-नयाँ अपराधका क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै लागूऔषध, साइबर अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू गम्भीर सुरक्षा चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई कुशलतापूर्वक न्यूनीकरण गरेर मुलुकको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीका सकल दर्जाको साख वृद्धि गर्दै निष्ठा, इमानदारीता, कर्तव्यपरायणता एवम् जवाफदेहीता पूर्वक जिम्मेवार भई कार्यसम्पादन गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।  गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक थापाको कार्यकालमा अपराधका क्रियाकलापहरू उल्लेख्य रूपमा नियन्त्रण, अपराध अनुसन्धान तथा अभियोजनमा निष्पक्षता र व्यावसायिकता, सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण, दबाब र प्रभाव मुक्त प्रहरी प्रशासन, संविधान प्रदत्त हक अधिकार तथा मानव अधिकारको पूर्ण प्रत्याभूति, कानूनको पूर्ण पालान तथा पीडितमैत्री वातावरणको सिर्जना गरी उच्च स्तरको कार्यसम्पादन गर्दै नागरिकको मनमुटु र ढुकढुकीको रूपमा नेपाल प्रहरी बस्न सफल हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको बताउनुभयो । साथै नागरिकले अफ्ठ्यारो परेर नेपाल प्रहरी सम्झदा तत्काल सहायता, आड र भरोसा दिन सक्ने किसिमको चुस्त, दुरूस्त, सशक्त र जिम्मेवार नेपाल प्रहरी बनोस् भन्ने शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावना नराखी निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  नेपालको संविधानको मर्म अनुरूप संघीय स्वरुपमार्फत कानून कार्यान्वयन, विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रूपमा संस्थागत गर्ने मेरो लक्ष्यबाट म किंचित पनि डगमगिने छैन ।’ अपराधको रोकथाम र अनुसन्धान, कुनै पनि बहाना र बिकल्प बिना शान्ति सुरक्षाको उपलब्धता, अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय र सहकार्य मार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशीलतामा गुनासो आउने अवसर नदिने समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आफ्नो दायित्व निर्वाह गर्न आम नागरिक, संचारकर्मी, विभिन्न पेशाकर्मीहरू, समाजसेवी, सरोकारवाला निकायहरू तथा नेपाल सरकारका सबै अंगहरूबाट सुझाव, सहयोग र सहकार्यको अपेक्षा लिएको उहाँले बताउनुभयो । नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूलाई सामूहिक प्रयासका साथ निस्तेज गरिने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापाले मंगलबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक दिपक थापाको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक दिपक थापा नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको   हो ।भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा पिता रामशरण थापा र माता साबित्री थापाको कोखबाट वि.सं. २०२८ मंसिर ८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दिपक थापाका श्रीमती रूपा थापा, २ छोरी र १ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक थापाले वि.सं. २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक थापा २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७२ साउन ८ गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक थापाले इन्टरनेश्‍नल ट्रेनिङ कोर्ष अन बिग डाटा पोलिसिङ अफ चाइना एसियन एण्ड द नेवरिङ कन्ट्रिज, प्रोग्राम अन काउण्टरिङ ट्रान्सनेश्‍नल अर्गनाईज्ड क्राइम, गभर्नेन्स एण्ड एन्टिकरप्सन ट्रेनिङ, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, बेसिक सेक्युरिटी ईन द फिल्ड-२,ओरियन्टेसन प्रोग्राम अन एन्टि मोनि लाउण्डरिङ टु नेपाल पुलिस अफिसियल्स, अपराध अनुसन्धान, व्यवस्थापन र विकास लगायत विभिन्न २५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दुर्गम सेवा पदक, दैवीप्रकोप पीडितोद्दार पदक, प्रहरी सेवा पदक, परदेश सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा काठमाडौं, मकवानपुर, रूपन्देही, मोरङ, सुनसरी, खोटाङ, रौतहट, काभ्रेपलाञ्चोक, कञ्चनपुर र डोटी जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड गर्नुका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय तथा नेपाल प्रहरी प्रधान कार्यालय बजेट शाखामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले महानगरीय अपराध महाशाखा हनुमानढोका काठमाडौं, २ नम्बर प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा, जनकपुर, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन महाशाखा एवम् तालिम महाशाखामा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको अनुभव गर्नुभएका थापा २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाको कमाण्ड समेत गर्नुभएको   थियो । 

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-१२-०४

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी संगठनको सक्रिय भूमिकाबाट बिदाइ हुँदै सामाजिक जीवनमा प्रवेश गर्न लागेको यस क्षणमा बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापा प्रति हार्दिक आभार प्रकट गर्नुभयो । बिदाइ समारोह संगठनको संस्कृति र परम्पराको निरन्तरता मात्र नभई हामी बीचको आपसी आत्मीयता, भातृत्वभाव र एकता अभिवृद्धि गराउने अवसरको रूपमा लिएको उल्लेख गर्दै व्यावसायिक रूपमा बिदाइ भएता पनि संगठनको हित र श्रीवृद्धिको लागि सदैव समर्पित रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दैनवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै व्यावसायिक, दूरदर्शी, निष्ठावान र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापालाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विभिन्न आरोह अवरोहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदानले नेपाल प्रहरीको गरीमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको चर्चा गर्दै सेवा निवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती रूपा थापाले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न
२०८१-१२-०२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले सहभागी टिमका व्यवस्थापकहरूलाई मायाको चिनो समेत प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढि हुने चर्चा गर्दै यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पुर्‍याएको बताउनुभयो । खेलाडीहरूबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेलकौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्व:अनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको बिजेता एवम् उपबिजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको खेलकुदका विभिन्न विधामा प्राप्त गरेको ख्याती र नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगितामा सहभागिता जनाई हासिल गरेका सफलता सराहनीय रहेको चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानको कारण नेपाल प्रहरी संगठन र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले आगामी दिनहरूमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन मार्फत संगठन र राष्ट्रका श्रीवृद्धिका अवसरहरू सिर्जना गरिरहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै खेलकुदको क्षेत्रमा अझ धेरै सफलता मिलोस् भन्ने शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलका लागि संगठन सदैव सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले निर्णायकहरू, प्रायोजकहरू तथा सहभागी टिमलाई प्रशंसापत्र एवम् मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले उत्कृष्ट बलरलाई, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले उत्कृष्ट ब्याट्सम्यानलाई र प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो ।   कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डम्मरपालले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आज भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले पराजित गरेको थियो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सकेको थियो ।  प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रूपैयाँ र द्वितीय हुने टिमले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।   फागुन २७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१-११-२८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित  Open-source Intelligence Investigation (OSINT) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।  समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यौन शोषण र दुर्व्यवहार गम्भीर चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै यस प्रशिक्षणले यौन अपराधहरूको अनुसन्धान र न्यूनीकरणमा सहयोग पुग्नुका साथै प्रशिक्षणबाट सिकेका सीपहरूले त्यस्ता अपराधहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी Aid Sector हरूमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने उद्देश्यका साथ इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गत कानून कार्यान्वयन गर्ने निकायका अधिकृतहरूलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । फागुन २६ गतेदेखि संचालित उक्त प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट २२ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो भने प्रशिक्षकको रूपमा INTERPOL Project SOTERIA बाट ३ जना पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।