प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

२०८२-०७-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्‍वर दंगालले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

सुशोभन समारोहमा गृहसचिव रामेश्‍वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

गृहसचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  

  कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्यपरायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताउनुभयो । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्दछु ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो ।


प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी : 

प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

गुल्मी जिल्लाको साविक घमिर-५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । 

अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड गर्नुभएका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत गर्नुभएको थियो ।

सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०१-११

सुर्खेत, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको शैक्षिक तथा प्रशासनिक भवन एवम् कर्णाली प्रदेश प्रहरी कार्यालय परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास भवनको शुक्रबार आयोजित कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै प्रदेश प्रहरी कार्यालय तथा नेपाल पुलिस स्कुल परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरू, शिक्षक र विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यलाई समयमै सम्पन्न गर्न योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई धन्यबाद व्यक्त गर्नुभयो । आफ्नो घरपरिवार छोडी नागरिकको जीउधनको सुरक्षार्थ अहोरात्र खटिने प्रहरी कर्मचारीका सन्ततिहरू तथा सो क्षेत्रमा बसोबास गर्ने महानुभावहरूका सन्ततिहरूलाई सहज, सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले यस विद्यालयको निर्माण गरिएको उहाँले बताउनुभयो ।     प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित विद्यालय भवन केबल भौतिक संरचना मात्र नभई स-साना बालबालिकाहरूले सुनौलो भविष्य नियाल्ने ढोकाको साथै आदर्श चरित्र निर्माण, सकारात्मक सोच र असल जीवनको मार्ग निर्देशन गर्ने थलो समेत भएको बताउनुभयो । प्रहरी कर्मचारीका सन्ततिहरूले विद्यालयबाट प्राप्त गर्ने सहज तथा गुणस्तरीय शिक्षाको माध्यमबाट प्रहरी कर्मचारीहरूको उत्प्रेरणा तथा समग्र कार्यक्षमतामा समेत बढोत्तरी हुने उल्लेख गर्दै निकट भविष्यमा विद्यालयको निरन्तर उन्नति तथा प्रगतिको लागि सरोकारवाला सबै पक्षहरूबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय र अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक जयराज सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक राजिव बहादुर बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य सुनिल देवकोटाले विद्यालयको शैक्षिक गतिविधि सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो भने प्राविधिक प्रहरी नायव उपरीक्षक शम्भु प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट साँस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।नेपाल पुलिस स्कुल वीरेन्द्रनगर सुर्खेतको आन्तरिक स्रोतबाट कुल ११ करोड २४ लाख ८४ हजार ५ सय ८८ रूपैयाँ ४८ पैसाको लागतमा नेपाल पुलिस स्कुलको भवन तथा नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड ४४ लाख ८३ हजार ६ सय ८९ रूपैयाँ १३ पैसाको लागतमा सिनियर प्रहरी अधिकृत निवास भवनको निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न विद्यालयका प्राचार्य तथा प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवन उद्‌घाटन
२०८३-०१-१०

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको पुन:निर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त भवनको अवलोकन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई कदरपत्र एवम् प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सभ्य र सुरक्षित समाज निर्माणमा प्रहरीको आवश्यकता महसुस गरेर पुन:निर्माण कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था एवम् महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्दै  पुन:निर्मित भवनबाट प्रवाह हुने सेवाहरू अझ नागरिकमैत्री एवम् व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी र नागरिकबीचको सुसम्बन्धले मात्र सुरक्षित समाज निर्माणको लक्ष्य हासिल गर्न सकिने चर्चा गर्दै पुन:निर्माण मार्फत नागरिकको तहबाट प्राप्त मायाले प्रहरीलाई थप हौसला प्राप्त भएको र यसको निरन्तरताको समेत अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूले सेवा प्रदान गर्ने शैलीमा सकारात्मक परिवर्तन गर्दै बोली वचन र व्यवहारलाई सम्मानजनक बनाउनुपर्ने बताउँदै प्रहरी पेशा होइन प्रहरी सेवा हो भन्ने भावका साथ नागरिकको कानुन सम्मत अपेक्षा पूरा गर्न पुन:निर्मित भवनबाट थप प्रेरणा मिल्ने र नागरिक केन्द्रीत सेवा प्रवाहमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गर्नुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेम राज तिवारीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने पुन:निर्माण समितिका अध्यक्ष राकेश सिंहले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू, स्थानीय समाजसेवीहरू लागयतको उपस्थिति रहेको थियो । 

सेवा प्रवाहमा कुनै कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०१-०९

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट बोली वचन एवम् व्यवहारलाई आत्मसात् गरी  नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहमा कुनै पनि कमी कमजोरी नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले सरकारद्वारा लागु गरिएका नीति तथा कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी  आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि सोही अनुरूप आवश्यक सुरक्षा रणनीति अपनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । लागूऔषध उत्पादन, ओसारपसार तथा कारोबारमा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा सेवनकर्ताहरूलाई लक्षित गरी सुधारात्मक कार्यक्रमहरू गर्न प्रहरी थप क्रियाशील हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न उहाँले निर्देशन दिनुभयो । गुण्डागर्दी विरूद्ध थप निर्मम रूपमा प्रस्तुत हुनपर्नेमा जोड दिँदै फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउलाई तदारूकताका साथ दायित्वबोध गरी अझ सक्रिय रूपमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले परिवर्तनलाई आत्मसात् गरी सोही अनुरूप समाजमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरीको सक्रियता तथा प्रभावकारिता अझ वृद्धि गर्न जरूरी रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय स्तर सम्म प्रहरीको छवि वृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा उच्च व्यावसायिकता प्रदर्शन गरी कार्य गर्न सबै प्रहरी कर्मचारीहरू कटिवद्ध हुनुपर्ने बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्राथमिकतामा राखि नागरिक सुनुवाई कार्यक्रमहरू मार्फत उचित सूचनाहरू प्रवाह गरी नागरिकहरूले महसुस गर्न सक्ने गरी प्रहरीले सेवा दिनुपर्ने उहाँले बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तीको लागि सबै प्रहरी कर्मचारीहरू प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, प्रहरी वरिष्ठ उपरीक्षक लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने व्यक्तित्वहरू सम्मानित
२०८२-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जेन-जी आन्दोलन पश्चात प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभार कार्यमा सहयोग पुर्‍याउने Rotary President Action Group का पदाधिकारीहरूलाई सम्मान गर्नुभएको छ ।  प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित विशेष समारोहमा रोटरी क्लबका पदाधिकारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको हो । गत भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा क्षति पुगेका काठमाडौं र ललितपुर जिल्लाका ९ वटा प्रहरी कार्यालय भवनहरूको पुन:संभार कार्यमा Rotary President Action Group को तर्फबाट प्राप्त निस्वार्थ एवम् सह्रानीय सहयोगको कदर स्वरूप उक्त सम्मान गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।   समारोहमा प्रहरी महानिरीक्षक कार्कीले रोटरी क्लबले समाजको विभिन्न क्षेत्रहरूमा गरेको योगदानको प्रशंसा गर्दै क्लबले प्रहरी कार्यालयहरूको मर्मत एवम् पुन:संभारमा पुर्‍याएको योगदानले प्रहरी कर्मचारीहरूलाई अझ जनसेवामा समर्पित भई कार्य गर्न थप प्रेरणा प्राप्त भएको बताउनुभयो । प्रहरी पेशा मात्र नभई स्वार्थ रहित सेवा समेत भएको चर्चा गर्दै नागरिकको दु:ख, पीडा एवम् समस्यालाई धैर्यतापूर्वक सम्बोधन गर्दै सबैलाई विभेद रहित सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरू दत्तचित्त हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन सके मात्र गैर कानुनी क्रियाकलाप गरे ढिलो चाँडो कानुनी दायरामा पुगिन्छ भन्ने सन्देश समाजमा प्रवाह भई समाजलाई अपराधमुक्त बनाउनुका साथै शान्त एवम् समृद्ध समाज निर्माणमा समेत सहयोग पुग्ने बताउनुभयो । नागरिकको साथ र सहयोगबाट नै प्रहरी आफ्नो व्यक्तिगत समस्याहरू बिर्सिएर समाजको लागि समर्पित हुन प्रेरित हुने उल्लेख गर्दै आगामी दिनमा समेत यस किसिमको साथ र सहयोगको निरन्तर अपेक्षा लिएको उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा Rotary President Action Group का संयोजक राजाराम फुयाँलले प्रहरी कार्यालय भवन पुन:संभारमा Rotary President Action Group ले पुर्‍याएको सहयोग सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो भने District Governor Elect Of Rotary District Nepal का विष्णु बहादुर कार्कीले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, Rotary President Action Group का पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो । 

नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-१२-२५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकलाई केन्द्रबिन्दुमा राखेर उनीहरूको समस्या एवम् गुनासोको उचित सम्बोधनका साथै नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको    छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिनुभएको हो ।प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा आउने सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरी दिने प्रभावमा पारी वा प्रलोभन देखाउने जस्ता गतिविधिमा संलग्न बिचौलियाहरूलाई तत्काल कानुनी दायरामा ल्याई बिचौलिया रहित, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूले नागरिक सहजकर्ता व्यवस्था गरी सेवाग्राहीहरूलाई सरल र सहज रूपमा प्रहरी सेवा प्रदान गरी भए गरेका प्रगति विवरणको सूचना सेवाग्राहीलाई एसएमएस मार्फत जानकारी गराउन समेत उहाँले निर्देशन दिनुभयो । शून्य सहनशीलताको नीति अनुरूप प्रचलित कानुनद्वारा निर्देशित विधि र पद्धतिको पालना गर्दै निष्पक्ष, पारदर्शी र गुनासो रहित सेवा प्रवाह गर्न सबै प्रहरी कर्मचारीहरू सदैव कटिबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले पारदर्शी एवम् बस्तुनिष्ठ अपराध अनुसन्धानमा विशेष जोड दिनुपर्ने बताउँदै सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, गुण्डागर्दी, तस्करी नियन्त्रण एवम् प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन खरो रूपमा प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै थप अनुशासित, निष्ठावान एवम् इमानदार हुनुपर्ने उल्लेख गर्दै उत्कृष्ट व्यवहार, बोली एवम् बचनलाई आत्मसात् गरी तोकिएको जिम्मेवारी उत्कृष्ट रूपमा वहन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला निकायसँग समन्वय गरी थप क्रियाशील हुनुपर्ने एवम् सचेतना अभिवृद्धि गर्नुपर्नेमा समेत विशेष ध्यान दिई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले आ-आफ्नो कार्यक्षेत्रमा हुन सक्ने संभावित विपद् जन्य घटनाहरूमा जनधनको क्षति  न्यूनीकरण गर्नको लागि विशेष सतर्कता अपाउनुपर्ने उल्लेख गर्दै विपद्का घटनाहरू सम्बन्धी पूर्वअभ्यासहरूलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने बताउनुभयो । विपद्को समयमा उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी जोखिमका क्षेत्रहरूमा सचेतना फैलाउने र विभिन्न निकायहरूसँग समन्वय गरी उद्दार कार्यमा थप प्रभावकारी रूपमा परिचालित हुन समेत उहाँले सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । साथै भीड नियन्त्रण तथा व्यवस्थापनमा विगतका कमी कमजोरीहरूलाई सुधार गर्दै बल प्रयोगको सिद्दान्तलाई अवलम्बन गरी पूर्वअभ्यासमा जोड दिई प्रहरी कर्मचारीहरू तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोग एवम् प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा समेत आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।   कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८२-१२-१९

दाङ, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय गढवाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले बेलायत सरकारले विभिन्न परियोजनाहरू मार्फत नेपाल प्रहरीको क्षमता विकास, पुर्वाधार विकास, प्रशिक्षण र सुमदायसँग समन्वय र सहकार्य बढाउनको लागि गरेको सहयोगको चर्चा गर्दै नवनिर्मित भवनलाई सफलतापूर्वक समयमै सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको एवम् नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा सुरक्षित गर्न समेत टेवा पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउँदै नवनिर्मित भवनबाट प्रवाह हुने सेवा नागरिकमैत्री हुनुका साथै पीडा र अन्यायमा परेका व्यक्तिहरूको गुनासो सम्बोधन गर्न समेत सक्षम हुने बताउनुभयो । नागरिकको समस्या प्रति थप संवेदनशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी नागरिकको मर्म अनुरूप प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भुपेन्द्र बहादुर खत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा दाङ जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा UNOPS का Senior Advisor एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Infrastructure Manager शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलायत सरकारको सहयोगमा कुल २ करोड ६० लाख ३३ हजार ५ सय ४९ रूपैयाँ ३५ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।  उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।