प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्‌घाटन

२०८३-०२-१९

  • A
  • A-
  • A+
Share

मोरङ, नेपाल राष्ट्र बैंक तथा नेपाल प्रहरी प्रधान कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य, आम विनाशका हातहतियार निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धी अनुशिक्षण तालिम समुद्‍घाटन भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलको प्रमुख आतिथ्यता तथा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमबीच उक्त तालिमको समुद्‍घाटन भएको हो । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर बिश्वनाथ पौडेलले वित्तीय प्रणालीको पारदर्शीता, सुशासन तथा आर्थिक स्थायित्व कायम गर्न सम्पत्ति शुद्धीकरण, आतंकवादी गतिविधिमा वित्तीय लगानी तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय अपराध नियन्त्रण अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । यस्ता अपराधको अनुसन्धान तथा निगरानीमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, सूचना आदानप्रदान र दक्ष जनशक्ति उत्पादन गरी वित्तीय अपराधका नयाँ प्रवृत्ति र चुनौतीहरूलाई नियन्त्रण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले वित्तीय अपराधको स्वरूप दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गर्दै यस्ता अपराधको सफल अनुसन्धानका लागि प्राविधिक ज्ञान, अनुसन्धान सीप र अन्तर निकाय समन्वय अपरिहार्य रहेको   बताउनुभयो । प्रहरीले हुण्डी कारोबार, संगठित अपराध, मानव बेचबिखन तथा लागूऔषध ओसारपसार, आपराधिक लाभ, ठगी जस्ता अपराधहरूको सफल अनुसन्धान गर्न प्रमाण संकलन, वित्तीय विश्लेषण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय तथा सहकार्य गर्दै आइरहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण तथा आतंककारी वित्तीय लगानीसँग सम्बन्धित अपराध नियन्त्रण राष्ट्रिय सुरक्षा र आर्थिक सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले नेपाल प्रहरीले यस क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै आएको उल्लेख गर्नुभयो । साथै तालिमले सहभागी प्रहरी अधिकृतहरूको सैद्धान्तिक र व्यवहारिक ज्ञानमा अभिवृद्धि भई भविष्यमा यस्ता अपराधको प्रभावकारी नियन्त्रण तथा अनुसन्धानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरू प्रसाद पौडेलले तालिमको महत्व सम्बन्धी जानकारी दिनुभएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले स्वागत मन्तव्य तथा नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकुन्द मरासिनीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र फुयाल, नेपाल राष्ट्र बैंकका निर्देशक शरण कुमार अधिकारी लगायतका पदाधिकारीहरू,  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, उदयपुरका प्रमुखहरू, प्रहरी अधिकृतहरू लगायत प्रशिक्षार्थीहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी वित्तीय लगानी तथा आम विनाशका हातहतियार निर्माण वा विस्तारसँग सम्बन्धित वित्तीय अपराधको अनुसन्धान, कानुनी व्यवस्था, जोखिम पहिचान तथा अनुसन्धान प्रविधिका विषयमा प्रशिक्षण प्रदान गरिने छ । वित्तीय अपराधको बदलिँदो स्वरूपलाई मध्यनजर गर्दै अनुसन्धान अधिकृतहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले अपराधको प्रभावकारी अनुसन्धान तथा नियन्त्रणमा सहयोग पुग्ने छ । ५ कार्य दिन अवधिको उक्त तालिममा कोशी प्रदेश अन्तर्गत रहेका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने प्रहरी इकाईका अनुसन्धान शाखामा कार्यरत २४ जना जुनियर प्रहरी अधिकृतहरूको सहभागीता रहेको छ ।


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले इलाका प्रहरी कार्यालय सबैलाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू प्रतिको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार सिर्जना गरेको बताउनुभयो । नयाँ भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतिक भएको उल्लेख गर्दै यसको संरक्षण गर्नु प्रहरी र नागरिक दुबैको दायित्व रहेको उहाँले बताउनुभयो । नागरिकको समस्या सम्बोधन गर्न थप क्रियाशील भई सम्पूर्ण प्रहरी कर्मचारीहरूले बोलीबचन र कार्यशैलीमा सकारात्मक परिवर्तन गरी प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । UNOPS को सहयोगमा कुल ३ करोड ३ लाख ५४ हजार ६ सय १ रूपैयाँ ७८ पैसाको लागतमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेल, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीबाट नवनिर्मित भवन उद्‌घाटन
२०८३-०४-०९

धनुषा, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनहरूको शनिबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित भवनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक प्रतिको हाम्रो दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले निर्वाह गर्न महत्वपूर्ण आधार प्रदान गरेको उल्लेख गर्दै आगामी दिनमा यस केन्द्रले सहज, सुरक्षित र सम्मानजनक पहुँच स्थापित गरी पीडितमैत्री, पीडित केन्द्रीत, व्यवसायिक एवम् प्रविधिमैत्री सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरू अत्यन्त संवेदनशील तथा जोखिममा रहेको वर्ग भएको उल्लेख गर्दै उनीहरू विरूद्ध हुने अपराधको न्यूनीकरण गर्दै न्यायको पहुँचको सुनिश्चितता गर्नु सबै सरोकारवाला निकायको दायित्व भएको उहाँले बताउनुभयो । साथै उहाँले भौतिक पुर्वाधार विकासमा UNOPS ले निर्वाह गरेको सहयोगी भूमिकाको प्रशंसा गर्नुका साथै नवनिर्मित भवनले सेवाग्राही र प्रहरीको सम्बन्धलाई अझ मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNOPS का Operation Coordinator एवम् अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने UNOPS का Senior Engineer शिशिर उपाध्यायले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको   थियो । UNOPS को सहयोगमा कुल ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रूपैयाँ १६ पैसाको लागतमा उक्त भवनहरूको निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । 

मेट्रो ट्राफिक एफ.एम. को १४ औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०८

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच मेट्रो ट्राफिक एफ.एम. ९५.५ मेगाहर्जको १४औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले सहयोगी संस्था, विज्ञापनदाता र उत्कृष्ट सवारी चालकलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले ट्राफिक जनचेतनामूलक गीतको विमोचन समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफएमले स्थापनाकाल देखिनै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराध विरूद्ध जनचेतना फैलाउन तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । ट्राफिक एफएमको सफल संचालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्नुहुने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने महानुभावहरू प्रति आभार व्यक्त गर्दै आगामी दिनमा एफएमको संस्थागत सम्वृद्धिको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले प्रविधिमैत्री सेवा प्रवाहलाई विशेष प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको चर्चा गर्दै ट्राफिक एफएमले पनि आगामी दिनमा सामाजिक सञ्जालको प्रयोग मार्फत नागरिक समक्ष अझ छिटो, छरितो एवम् भरपर्दो सूचना प्रवाह गर्न थप क्रियाशील हुनुपर्ने बताउनुभयो । एफएमले आगामी दिनमा आफ्नो क्षमता विस्तार गरी सडक सुरक्षा तथा सुरक्षा सचेतनामा समयानुकूल, नवप्रवर्तनात्मक, गुणस्तरीय एवम् विश्वसनीय नागरिक केन्द्रीत कार्यक्रमहरू ल्याई अझ सशक्त एवम् प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै ट्राफिक सचेतनामूलक सामग्रीहरूको प्रभावकारिता अभिवृद्धि एवम् एफएमसँग आधुनिक स्रोतहरूलाई समेट्नको लागि समयानुकूल सामग्री तथा विधिलाई आफ्नो कार्यक्रममा समावेश गर्दै आगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका निमित्त नगरप्रमुख मञ्जली शाक्य बज्राचार्य, वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले आ-आफ्नो शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले स्वागत मन्तव्य एवम् एफ.एम. को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक एफ.एम.को यात्रा तथा उपलब्धी,  एवम् ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारीहरू, वरिष्ठ कलाकारहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक दान बहादुर कार्की स्वदेश फिर्ता
२०८३-०४-०६

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन भएको ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ मा सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो ।उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय संगठित अपराध, साईबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान तथा प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयको अपरिहार्यताका विषयमा वृहत्त छलफल भएको थियो । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको नेतृत्वमा उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत साउन ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक दान बहादुर कार्की संगठित अपराध सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान
२०८३-०४-०३

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्की Federal Bureau Of Investigation (FBI) र Royal Thai Police को आयोजनामा थाइल्याण्डको बैंककमा साउन ४ देखि ५ गतेसम्म संचालन हुने ‘The Regional Summit On Scam Center Compounds and Transnational Organized Crime’ सम्बन्धी क्षेत्रीय शिखर सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीसँग उक्त सम्मेलनमा सहभागी हुन प्रहरी उपरीक्षक धर्मराज भण्डारी समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित बिदाइ गर्नुभयो ।उक्त सम्मेलनमा संगठित अपराध सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न क्षेत्रीय रणनीति, संयुक्त कार्य एवम् समन्वय लगायतका एजेण्डामा वृहत्त छलफल हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक कार्कीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव सम्पन्न
२०८३-०४-०१

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा शुक्रबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रमबीच केन्द्रीय अनुसन्धान ब्यूरोको १६औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।   सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोका पूर्व प्रमुखहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै ब्यूरोमा कार्यरत रहि उल्लेखनीय कार्य गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारीहरू एवम् अपराध अनुसन्धानमा प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा विशिष्ट योगदान पुर्‍याउनु हुने विभिन्न निकायका महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा प्रकाशित ‘CIB Magazine’ को लोकार्पण समेत गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकाल देखि जघन्य प्रकृतिका अपराध, संगठित, आर्थिक एवम् जटिल अपराधहरूको अनुसन्धानका साथै न्यायपूर्ण, सुरक्षित एवम् समृद्ध नेपाल निर्माणमा ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष, विश्वसनीय र उत्कृष्ट अनुसन्धान संस्थाको रूपमा नागरिकको पूर्ण विश्वास हासिल गर्दै राष्ट्रको न्याय प्रणालीलाई थप सुदृढ बनाउने शुभकामना समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले ब्यूरोले अहिले अनुसन्धान अनि मात्र पक्राउ भन्ने अनुसन्धानको न्यूनतम मापदण्डलाई आत्मसात् गर्दै तटस्थ एवम् उच्च व्यावसायिकता प्रदर्शन गरी नागरिकको विश्वास जित्नुपर्ने उल्लेख गर्दै जघन्य, संगठित, अन्तरदेशीय, उच्च जटिल तथा आर्थिक अपराधका बदलिँदा चुनौतीलाई सम्बोधन गर्न थप प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो । अत्याधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी ब्यूरोको क्षमता अभिवृद्धि एवम् अन्तर निकाय र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ गर्दै उत्कृष्ट अनुसन्धान निकायको रूपमा स्थापना गर्न संगठन सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । डिजिटल प्रविधि, अन्तर्राष्ट्रिय अपराधिक सञ्जाल र सीमापार अपराध अनुसन्धानमा खरो रूपमा प्रस्तुत हुँदै ब्यूरोले आफ्नो आदर्श वाक्य विश्वसनियता, निष्पक्षता र साहसलाई अक्षुण्ण रूपमा कायम गरिराख्ने विश्वास लिएको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्वमन्त्री एवम् अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्माले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।  कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, विभिन्न मन्त्रालयका सहसचिवहरू, सहन्यायाधिवक्ताहरू, प्रहरी नायव महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।