प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दिपक थापाबाट मौलो पूजा सम्पन्न

२०८१-१२-२३

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले चैते दशैंका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक थापाले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । 

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । 


सम्बन्धित समाचार
नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न
२०८१-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित ‘नेपाल प्रहरी अस्पताल स-शुल्क फार्मेसी’को उद्‍घाटन गर्नुका साथै उक्त फार्मेसीको अवलोकन समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८१’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आईसियु भेन्टिलेटर एण्ड प्यासेन्ट मोनिटर मेसिन हस्तान्तरण गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजेस्टिक सहायता गर्नुहुने Key Concept Nepal प्रा.लि काठमाडौंका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी वर्षभरिको  कार्यसम्पदान र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्‍याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारजनले प्राप्त गर्ने सेवा सुविधा र गुणस्तरको आधारमा प्रहरी कर्मचारीको मनोबल, उत्प्रेरणा र हौसलामा समेत अभिवृद्धि भई कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र समग्र संगठनलाई केन्द्रबिन्दुमा राखि स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय एवम् सेवाग्राहीमैत्री बनाउँदै नेपाल प्रहरी अस्पताललाई “Center For Health Excellence” को रूपमा विकास गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीहरूलाई आव्हान गर्नुभयो । अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल अस्पतालका फिजियोथेरापी विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. कुशल रानाभाटलाई हस्तान्तरण  गर्नुभयो । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण
२०८१-१२-२५

काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको   छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८१-१२-१७

काठमाडौं, नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रशिक्षण प्रदायक इकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको बताउनुभयो । साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्‍लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उहाँले व्यक्त गर्नुभयो ।  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, प्रहरी जवान तथा प्रहरी हवल्दारहरूको तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
२०८१-१२-१२

नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले सम्बोधनको क्रममा नेपाल प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने यस तालिम पुरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको चर्चा गर्दै तालिमले प्रहरी कारवाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतिपूर्ण गतिविधिहरूमा आवश्यक पर्ने विशेष रणनीति, ज्ञान, सीप तथा कलाहरूको सापेक्ष प्रयोग गरी कार्यसम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको बताउनुभयो । शारीरिक र मानसिक तन्दरूस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक र साहसको पनि धेरै आवश्यक पर्ने यस तालिमबाट आर्जन गरेको प्रहरी कार्यका ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी जम्मा १ सय ५ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

दुई जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-१२-०८

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका २ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेत रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा सांगठनिक हित र विकासलाई केन्द्रमा राखी थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक रबिन कार्कीले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि प्राप्त जिमेवारीलाई नयाँ जोश र उर्जाका साथ वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।