प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२०८१-१२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  

नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।  

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । 

उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो । 

सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभुत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जमा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) राष्ट्रिय वाणिज्य बैंकको नियम अनुसार २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । नियमअनुसार विदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बिमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बिमा गराउनु पर्नेछ । उक्त बिमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बिमा गर्न सकिने छ । 

यसैगरी सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई तीन पाङ्ग्रे अटो रिक्सा खरिद तथा सञ्चालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्व: पूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयमले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने र सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५,००,००० (पाँच लाख मात्र)  मध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने छ । साथै कर्जा ५ वर्षको वा बढिमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ । नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहिद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । साथै घर कर्जा, एसएमइ तथा कृषी कर्जाको लागि कर्जा सुरक्षा बापत घर/जग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण (अवकाश) प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागु हुनेछ ।   

उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार
आकस्मिक सहुलियत अल्पकालीन कर्जा प्रवाह गर्ने नीति निर्माण समितिको बैठकको निर्णय
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ प्रवाह गर्ने निर्णय गरिएको छ । नेपाल प्रहरीमा कार्यरत प्रहरी कार्यालय सहयोगी देखि प्रहरी वरिष्ठ नायव निरीक्षक सम्मका प्रहरी कर्मचारी र तीनका आश्रित परिवारहरूलाई आकस्मिक अवस्था (स्वास्थ्य, शिक्षा, घरायसी समस्या लगायत) मा तत्कालको आवश्यकता पूर्ति गर्नका लागि किस्ताबन्दी कर्जा कार्यक्रम अन्तर्गत १ वर्षभित्र चुक्ता गर्ने गरी ५ % ब्याजदरमा आकस्मिक सहुलियत अल्पकालीन कर्जा रकम २ लाख रूपैयाँ सम्म उपलब्ध गराउने निर्णय गरिएको हो । साथै उक्त रकम उपलब्ध गराउन प्रहरी कल्याण कोषबाट चालु आ.व. २०८२/०८३ मा अधिकतम रू. १० करोड सम्मको कोष खडा गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाबाट आवश्यक मापदण्ड बनाई कर्जा प्रवाह गर्ने निर्णय गरिएको हो ।  

जनअपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक - प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८२-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले संगठनको नेतृत्वको जिम्मेवारी सम्हाल्दै गर्दा प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताउँदै यसकै जगमा अझ जनविश्वास आर्जन गर्न जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भय रहित समाज निर्माण गर्न हामी सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कार्कीले विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको उल्लेख गर्दै विभिन्न आयामका सुरक्षा चुनौतिहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको र यो विषम परिस्थिति र संकट पश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू रहेको तथ्य प्रति आफू पूर्णरूपमा जानकार र सजग रहेको बताउनुभयो । असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको उच्च प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरी एकपटक पुन: पुष्टि गरेको उहाँले बताउनुभयो । असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको हुने बताउँदै प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ । साधन स्रोतको अभावको देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन । भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ । मान्छेको वास्तविक परिचय पनि त्यही निर हुन्छ ।’  नवीनतम् प्रविधिको रूपमा साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुर्व्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्ति विरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आआफ्नो आचरण र व्यावसायिकतालाई व्यक्तिगत पुँजीको रूपमा मात्र ग्रहण नगरेर सांगठनिक आस्था र सम्मानको साधनको रूपमा ग्रहण गर्नुहुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरू विरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी विधिवत रूपमा स्थापना भएको करिब सात दशक लामो कालखण्डमा आइपरेका विभिन्न किसिमका उतार चढाव, आरोह अवरोह पार गर्दै संगठनलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउनु हुने अग्रज प्रहरी महानिरिक्षकहरू लगायत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रति उच्च सम्मानका साथ हार्दिक आभार व्यक्त गर्नुभयो । साथै संगठनलाई समयानुकुल विकासको अर्को चरणमा पुर्‍याउने अभिभारा सबैको साझा दायित्वको रूपमा रहेको उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित
२०८२-०७-२७

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बिहीबार आयोजित विशेष समारोहबीच गृहसचिव रामेश्‍वर दंगालले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो । सुशोभन समारोहमा गृहसचिव रामेश्‍वर दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त गरी प्रहरी महानिरीक्षक कार्कीलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कार्कीको कार्यकालमा समग्र मुलुकमा शान्ति सुरक्षा कायम गर्ने लगायत नेपाल प्रहरीको अन्य जिम्मेवारीहरूमा सफलता मिल्ने विश्वास व्यक्त गर्दै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।गृहसचिव दंगालले हालको परिस्थितिमा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भएका विभिन्न खालका विकृति विसंगतिहरूलाई अन्त्य गरेर पूर्णरूपमा सुशासन कायम गर्ने दायित्व सरकारले लिएको उल्लेख गर्दै यस दायित्व निर्वाह गर्नका लागि नेपाल प्रहरीको अहम भूमिका रहेको र यस भूमिका निर्वाह गर्न नेपाल प्रहरी सफल समेत हुने अपेक्षा रहेको बताउनुभयो । नेपाल प्रहरीको प्राथमिकताहरू, कार्ययोजना, नीतिगत परिवर्तन, नेपाल प्रहरीमा गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले करिब अठ्ठाइस वर्षको अनुभव, कर्तव्यपरायणता, देश र नागरिकको सुरक्षाका खातिर सम्पादन गरेका कार्यको मूल्याङ्कन तथा संगठनप्रतिको निष्ठा र इमान्दारिताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । साथै प्राप्त यस विशिष्ट जिम्मेवारीलाई पेशागत अनुशासन, पारदर्शीता र जवाफदेहिताका साथ वहन गर्दै नागरिक सेवाभावको पूर्ण प्रत्याभूति हुने गरी प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कार्कीले देशमा सुशासन कायम गर्ने तथा निकट भविष्यमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने नेपाल सरकारको अभिभारा, विभिन्न आयामका सुरक्षा चुनौतिहरूको विद्यमानता र संकट पश्चात उठ्दै गरेका प्रहरीका भौतिक संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारीबाट असाधारण अपेक्षाहरू रहेको तथ्य प्रति पूर्ण रूपमा जानकार र सचेत रहेको बताउनुभयो । असाधारण परिस्थितिमा प्राप्त यस जिम्मेवारीलाई नेपाल सरकार गृह मन्त्रालय, अन्य सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी निकायहरू एवम् समुदायसँग प्रभावकारी समन्वय, सहकार्य सहित संगठनको सुदृढिकरण र सामूहिकता प्रदर्शन गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाउँदै नेपाल सरकार र आम जनसमुदायको अपेक्षा अनुरूप कार्यसम्पादन गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्दछु । कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले बिहीबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक दान बहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । गुल्मी जिल्लाको साविक घमिर-५ हाल मालिका गाउँपालिका वडा नम्बर ७ मा पिता कृष्ण बहादुर कार्की र माता चन्द्रकला कार्कीको कोखबाट वि.सं. २०२९ साउन १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीका श्रीमती नविना कार्की र २ छोरीहरू हुनुहुन्छ । प्रहरी महानिरीक्षक कार्कीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कार्की २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक कार्कीले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन, सार्वजनिक विरोधहरूमा कानुन कार्यान्वयन संस्थाहरूको भूमिका र उत्तरदायित्व, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, ह्युमन राइट्स इन ल इन्फोर्समेन्ट ट्रेनिङ कोर्ष, कोल्याप्स्ड स्ट्रक्चर सर्च एण्ड रेस्क्यू कोर्ष, प्रशिक्षक प्रशिक्षण तालिम, मेडिकल फस्ट ररेस्पोण्डर कोर्ष, अपराध अनुसन्धान लगायत विभिन्न २२ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक कार्की प्रवल जनसेवा श्री, संयुक्त राष्ट्र संघ पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कार्कीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा सशस्त्र प्रहरी गण नेपालगंज, जिल्ला प्रहरी कार्यालय रूकुम, जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, अञ्चल प्रहरी कार्यालय महाकाली, पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखरा, इलाका प्रहरी कार्यालय बुटवल, महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, जिल्ला प्रहरी कार्यालय सप्तरी, लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, प्रहरी प्रधान कार्यालय लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौंमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको कमाण्ड गर्नुभएका कार्की २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड समेत गर्नुभएको थियो ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८२-०७-२६

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले प्रहरी संगठनको महानिरीक्षकको रूपमा देश र जनताको सुरक्षाको जिम्मेवारी बहन गर्ने अवसर पाउनु आफ्नो जीवनको सर्वश्रेष्ठ सम्मान भएको चर्चा गर्दै आफ्नो छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव कायम गर्न हरसम्भव कोसिस गरेको बताउनुभयो । संगठनलाई भौतिक रूपले सम्पन्न र भावनात्मक हिसाबले अझै एक ढिक्का बनाई राख्न नवनियुक्त प्रहरी महानिरीक्षक र संगठनका हरेक सदस्यहरूले विशेष भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक व्यावसायिक, कर्तव्यनिष्ठ र दुरदर्शी व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खापुङ्गले आफ्नो नेतृत्व कालमा सहयोग पुर्‍याउने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विभिन्न आरोह अवरोहहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग र हाम्रा अग्रजहरूले मौलिक रूपमा थालनी गर्नु भएको सबै अनुकरणीय कार्यहरूलाई नेपाल प्रहरीको आगामी रणनीति र कार्य योजनाहरूमा समेटेर निरन्तर अगाडि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।  सेवा निवृत्त पछि पनि सांगठनिक सुदृढीकरणको लागि रणनीतिक सुझाव र सकारात्मक पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती भावना श्रेष्ठ खापुङ्गलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती नविना कार्कीले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो ।    उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट किरिया पुत्री भवन शिलान्यास
२०८२-०७-१७

काठमाडौं, प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रम अन्तर्गत निर्माण हुने किरिया पुत्री भवनको सोमबार आयोजित एक कार्यक्रम बिच शिलान्यास गर्नुभएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई सहजता प्रदान गर्न भवन निर्माण गर्न लागिएको बताउनुभयो । आगामी दिनमा भवन निर्माणका साथै भवनबाट प्रवाह हुने सेवालाई थप परिष्कृत गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।   कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी कल्याण महाशाखाका प्रहरी नायव उपरीक्षक वुद्धि सागर पुरीले भवन निर्माणको उद्देश्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।    नेपाल प्रहरीका बहालवाला र अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई लक्षित गरी दुखद निधन हुँदा आशौच बार्ने संस्कार (किरिया पुत्री) का लागि काठमाडौं महानगरपालिका-३ स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको नाममा रहेको जग्गामा किरिया पुत्री भवन निर्माण गर्न गत भदौ १९ गते बसेको नीति निर्माण समितिको बैठकले निर्णय गरेको थियो । 

पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०७-१७

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ कात्तिक १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा भूपेन्द्र बहादुर खत्री, सानु राम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अबि नारायण काफ्ले रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो दक्षता, कार्यकुशलता, राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदानको उचित मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै परम्परागत सोचाइ र शैलीलाई समयानुकूल परिवर्तन गरी आ-आफ्नो स्थानबाट व्यावसायिक, इमानदार एवम् कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्न दर्ज्यानी चिन्हबाट सुशोभित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक खापुङ्गले अहिलेको संवेदनशील घडीमा प्रहरी कमाण्डरको भूमिका केवल प्रशासनिक नेतृत्वमा मात्र सीमित नभई नैतिक, रणनीतिक र प्रेरणादायी हुनुपर्ने उल्लेख गर्दै विगतमा भएका घटनाहरूको विश्लेषण गर्दै अझै परिष्कृत रूपमा उच्च मनोबलका साथ जनसेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै आगामी दिनमा देखापर्न सक्ने चुनौतीहरूलाई मनन गरी सूचना संकलन, विश्लेषण, रणनीतिक समन्वय र प्रभावकारी प्रहरी परिचालनलाई प्राथमिकता दिँदै प्रचलित कानुन कार्यान्वयनमा कुनै पनि सम्झौता नगर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीले सांगठनिक अपेक्षा, भरोसा र विश्वासलाई कायम राखी संगठनको गौरव र प्रतिष्ठा बढाउने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।