प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ सम्पन्न

२०८२-०२-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।

सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्वपूर्ण प्रतिबद्धता सहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो । समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौति र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्दतिको अवलम्बन गरी बयानमूखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबीच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टिकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।   

समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो । 

सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समायानुकुल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो । विधिविज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उहाँले थप लगानी आवश्यक रहेको बताउनुभयो ।

 समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबीच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो । सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेशागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एकआपसमा समन्वय र सहकार्यको संस्कृतीको निर्माण हुनुका साथै   अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतिहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।   

नेपाल बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकीलकोतर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीकोतर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकीलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार
गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
२०८२-०५-०१

काठमाडौं, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाबीच आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा आइतबार आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दिपक थापाले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै आगामी दिनमा चुनौतिको रूपमा देखा परेको लागूऔषध, साइबर अपराध, सवारी दुर्घटना एवम् आत्महत्या न्यूनीकरणमा अझ क्रियाशील भई परिणाममुखी ढंगले कार्य गर्नुपर्ने बताउनुभयो । कार्यसम्पादन सम्झौताको कार्यान्वयन गर्ने क्रममा परम्परागत शैली भन्दा पनि नविनतम् ढंगले नागरिकको समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै उपलब्ध स्रोतसाधन र जनशक्तिको व्यवस्थित परिचालन गरी सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । उक्त अवसरमा गृहसचिव दुवाडीले अहिले प्राप्त गरेको कार्यसम्पादनको प्रगति एवम् नतिजालाई आधार मानेर आगामी दिनमा अझ बढि प्रभावकारिता हासिल गर्न तथा सेवा भावका साथ आम नागरिकले अनुभूति गर्न सक्ने किसिमको सेवा प्रवाह गर्नको लागि उच्च स्तरको कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । नेपाल सरकार गृहमन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृहसचिव दुवाडी र प्रहरी महानिरीक्षक थापाबीच उक्त सम्झौता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०८२-०४-३०

धनुषा, प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको नवनिर्मित प्रशासनिक कार्यालय भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले नवनिर्मित भवनको अवलोकन समेत गर्नुभयो ।  समारोहमा प्रधानमन्त्री ओलीले भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस नवनिर्मित भवन समयमै निर्माण सम्पन्न गर्न योगदान पुर्‍याउने मधेश प्रदेश सरकार लगायत भवन निर्माण कार्यमा योगदान पुर्‍याउने महानुभावहरू प्रशंसाको पात्र भएको चर्चा गर्दै यस नवनिर्मित कार्यालयबाट आउँदा दिनमा सेवाग्राहीलाई प्रहरीले दिने सुविधा अझ छिटो, छरितो एवम् व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।  प्रधानमन्त्री ओलीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धानका साथै जनतालाई प्रारम्भिक सेवा तथा न्याय दिन प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै नेपाल सरकारले लिएको उद्देश्य प्राप्तीका लागि सबै सरोकारवाला निकायहरूले नयाँ तरिका, नयाँ ढंग र संकल्पका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ठूलो दर्जाको व्यक्ति भन्दा पनि जनताको सेवक हुँ भन्ने भावनाका साथ काम गर्न उहाँले उपस्थित सबैमा आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा चुनौतिको रूपमा देखा परेका लागूऔषधको कारोबार, खुल्ला सीमानाको गलत फाइदा उठाउँदै हुने आपराधिक क्रियाकलाप एवम् अराजक गतिविधि नियन्त्रणमा अझ बढि क्रियाशील भई त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरेर कानूनी दायरामा ल्याउन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । राजस्व चुहावट एवम् तस्करी नियन्त्रणमा समेत अझ बढि सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल प्रहरीले आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रणमा निर्वाह गर्दै आइरहेको भूमिकाको चर्चा गर्दै नवनिर्मित भवनले आमनागरिकहरूमा प्रहरी सेवा प्रवाह गर्न थप सहज हुने बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रचलित कानूनको अधिनमा रही शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानका साथै प्रभावकारी सेवा प्रवाह गर्न नेपाल प्रहरी सदैव कटिबद्ध रहेको   बताउनुभयो । नवनिर्मित भवनले प्रहरी कर्मचारीहरूमा थप मनोबल र उत्प्रेरणा वृद्धि हुने बताउँदै सीमा अपराध, चोरी निकासी, लागूऔषधको कारोबार लगायतका अपराध नियन्त्रण तथा वस्तुनिष्ठ अनुसन्धानमा सबै सरोकारवाला पक्षहरूसँग सहकार्य गरी दत्तचित्त भएर कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमा प्रसाद चतुर्वेदीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । मधेश प्रदेश सरकार, गृह संचार तथा कानून मन्त्रालय जनकपुरधामको बजेटबाट कुल २३ करोड ५४ लाख ८८ हजार ९ सय ११ रूपैयाँ ४१ पैसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । समारोहमा मधेश प्रदेशका सभामुख, प्रदेशका मन्त्रीहरू, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरू, मधेश प्रदेशका प्रमुख सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संचारकर्मीहरू एवम् आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।  

गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०४-२३

काठमाडौं, गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृहमन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन
२०८२-०४-१८

काठमाडौं, गृहमन्त्री रमेश लेखकले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गर्नुका साथै उक्त ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोतसाधनको बाबजूद केन्द्रीय अनुसन्धान ब्यूरोले निर्वाह गरेको महत्वपूर्ण कार्यहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा ब्यूरोलाई थप प्रभावशाली, क्रियाशील एवम् प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ प्रहरी युनिटहरूको माग दिनानुदिन बढिरहेको र यसले प्रहरी प्रति जनताको धारणा सकारात्मक रहेको चर्चा गर्दै जनताको धारणा कायम राख्न सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिक भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । बस्तुनिष्ठ एवम् प्रमाणमुखी अनुसन्धानमा केन्द्रीत रहेर पूर्ण इमानदारिता एवम् लगनशीलताका साथ कार्य गर्न उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकले उपलब्ध सीमित प्रविधि र कानूनी जटिलताका कारण घेरै अपराधहरूको अनुसन्धानमा बाधा पुगेको उल्लेख गर्दै देखिएका कानूनी जटिलता समाधान गर्न र केन्द्रीय अनुसन्धान ब्यूरोको विकास एवम् ब्यूरोलाई स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव कटिबद्ध रहेको बताउनुभयो । पुराना मुद्दाहरूको अनुसन्धानमा समेत थप सक्रिय हुन उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै जटिल र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी बोकेको ब्यूरोले सीमित स्रोतसाधनका बाबजूद पनि प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । ब्यूरोलाई भौतिक पूर्वाधारको साथसाथै आधुनिक प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अपराध अनुसन्धानमा देखिएका जटिलताहरूको सामना गर्दै थप प्रभावकारी एवम् प्रमाणमुखी अनुसन्धानमा ब्यूरो सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, ब्यूरोबाट गरिएका कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०४-१६

काठमाडौं, गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागूऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्दै लागूऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीले संचालन गरेको लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागूऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।  गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । ब्यूरोको विकास एवम् स्तरोन्नतिको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानुनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । सुरक्षित, स्वस्थ एवम् लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको चर्चा गर्दै आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लागूऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले लागूऔषध नियन्त्रण ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, लागूऔषध अपराधको विश्लेषण, ब्यूरोबाट गरिएका प्रहरी कारवाहीहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

गृहमन्त्री रमेश लेखकबाट अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ
२०८२-०३-२९

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोह बिच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गर्नुभएको छ ।  सो अवसरमा गृहमन्त्री लेखकले ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री रूपमा संचालन गर्न योगदान पुर्‍याएका Trileaf Technology प्रालि र ज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीले आफ्नो कार्य एवम् क्षेत्राधिकार भित्र नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभयो । ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले ट्राफिक कार्यालयमा पुगि सचेतना कार्यक्रम लिनुपर्ने अवस्था रहेकोमा प्रविधिको प्रयोग गरी नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था भएको र यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थप भएको समेत उहाँले उल्लेख गर्नुभयो । गृहमन्त्री लेखकले नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था, अपराध अनुसन्धान एवम् रोकथाम लगायतका कार्यमा सीमित साधन स्रोतमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै नेपाल प्रहरी एक पछि अर्को प्रविधिमा प्रवेश गरी राखेको र प्रहरीलाई निरन्तर प्रविधियुक्त बनाई राख्न नेपाल सरकार सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने र नेपाल प्रहरीले सामाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउनुभयो । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिवृद्धि र सेवा प्रवाहमा सुधार भएको बताउनुभयो । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्‍याप्त सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोग कर्ताबाट हुन सक्ने लापर्वाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्‍याप्त सजगता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ज्ञान बजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।    कार्यक्रममा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थितिका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।