प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहमन्त्री रमेश लेखकबाट अनलाइन ट्राफिक सचेतना कक्षा शुभारम्भ

२०८२-०३-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोह बिच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गर्नुभएको छ । 

सो अवसरमा गृहमन्त्री लेखकले ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री रूपमा संचालन गर्न योगदान पुर्‍याएका Trileaf Technology प्रालि र ज्ञानबजार प्रालिलाई प्रशंसापत्र प्रदान गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीले आफ्नो कार्य एवम् क्षेत्राधिकार भित्र नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभयो । ट्राफिक नियम उल्लङ्घन गर्दा भौतिक रूपले ट्राफिक कार्यालयमा पुगि सचेतना कार्यक्रम लिनुपर्ने अवस्था रहेकोमा प्रविधिको प्रयोग गरी नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था भएको र यो नेपाल प्रहरीमा प्रविधिको प्रयोगमा नयाँ आयम थप भएको समेत उहाँले उल्लेख गर्नुभयो । 

गृहमन्त्री लेखकले नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । शान्ति सुव्यवस्था, अपराध अनुसन्धान एवम् रोकथाम लगायतका कार्यमा सीमित साधन स्रोतमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै नेपाल प्रहरी एक पछि अर्को प्रविधिमा प्रवेश गरी राखेको र प्रहरीलाई निरन्तर प्रविधियुक्त बनाई राख्न नेपाल सरकार सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले आजको दिनमा नागरिकको सेवा र सुरक्षाको विविध क्षेत्रमा प्रविधिको प्रयोग नजर अन्दाज गर्न नसकिने र नेपाल प्रहरीले सामाजको गतिलाई हृदयगमन गर्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव संगठनको प्रमुख प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताउनुभयो । नेपाल प्रहरीले दिने सेवाहरू प्रविधिमैत्री बनाउँदै लैजाने चरणको अर्को अध्याय स्वरूप नै यो अनलाइन ट्राफिक सचेतना कक्षाको शुरू गरिएको उहाँले बताउनुभयो । आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने उहाँले बताउनुभयो ।  

प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीले पछिल्लो समयमा अनुशरण गरेका प्रविधिहरूले सडक दुर्घटना रोकथाम र न्यूनीकरणमा प्रभावकारीता ल्याउनुका साथै कार्यक्षमतामा अभिवृद्धि र सेवा प्रवाहमा सुधार भएको बताउनुभयो । अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्‍याप्त सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अनलाइन माध्यमबाट हुने यस किसिमका कक्षाहरूमा सेवा प्रयोग कर्ताबाट हुन सक्ने लापर्वाहीलाई नकार्न नसकिने हुँदा त्यसतर्फ पनि पर्‍याप्त सजगता अपनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।  

नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा ज्ञान बजार प्रालिका कार्यकारी निर्देशक ऋतिक बाबु श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।    

कार्यक्रममा प्रतिनिधि सभा सदस्य अन्जनी श्रेष्ठ, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, गृहमन्त्रालयका सहसचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थितिका साथै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
गृहमन्त्री रमेश लेखकद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०४-२३

काठमाडौं, गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी कार्यालय एवम् मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।कार्यक्रममा गृहमन्त्री लेखकले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको चर्चा गर्दै नागरिकलाई सरल एवम् सुलभ ढंगले प्रहरी सेवा प्रवाह गर्न र नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झट रहित बनाउनुपर्नेमा जोड दिँदै शिष्ट आचरण एवम् व्यवहारका साथ सेवाग्राहीको समस्या एवम् गुनासोलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । गृहमन्त्री लेखकले प्रहरीले निर्वाह गरेको काम कारवाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने उल्लेख गर्दै मानव अधिकारको संरक्षण एवम् सम्वर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवम् ज्येष्ठ नागरिक विरूद्ध हुने गतिविधि प्रति थप संवेदनशील हुनुपर्ने बताउनुभयो । लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध, सवारी दुर्घटना चुनौतिको रूपमा देखा परेकोले यस्ता चुनौतिको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति सुरक्षा कायम गर्न, कानूनको पालना, अपराध नियन्त्रण एवम् अनुसन्धान लगायतका कार्यहरूमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नागरिक सँग प्रत्यक्ष सम्बन्ध राखि नागरिकका समस्यालाई सम्बोधन तथा समाधान गरी सुरक्षाको प्रत्याभूति दिलाउन अझ बढि क्रियाशील भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो । आफ्नो व्यवहार र आचरणलाई शिष्ट बनाई व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर नागरिकलाई केन्द्रमा राखेर उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो । प्रहरीलाई आवश्यक स्रोतसाधन, सुविधा सहितको पूर्वाधारहरू र प्रविधियुक्त बनाउनेतर्फ गृहमन्त्रालय सदैव क्रियाशील रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवम् अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथसाथै विपद् व्यवस्थापनमा समेत काठमाडौं उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोतसाधान एवम् प्रविधिका बाबजूद पनि प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताउनुभयो । सूचना संकलनलाई अझ प्रभावकारी बनाउँदै शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको समेत उहाँले बताउनुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको  थियो । कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

गृहमन्त्री रमेश लेखकद्वारा केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण तथा निर्देशन
२०८२-०४-१८

काठमाडौं, गृहमन्त्री रमेश लेखकले आइतबार केन्द्रीय अनुसन्धान ब्यूरोको निरीक्षण भम्रण गर्नुका साथै उक्त ब्यूरोमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले सीमित स्रोतसाधनको बाबजूद केन्द्रीय अनुसन्धान ब्यूरोले निर्वाह गरेको महत्वपूर्ण कार्यहरू प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा ब्यूरोलाई थप प्रभावशाली, क्रियाशील एवम् प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । नयाँ प्रहरी युनिटहरूको माग दिनानुदिन बढिरहेको र यसले प्रहरी प्रति जनताको धारणा सकारात्मक रहेको चर्चा गर्दै जनताको धारणा कायम राख्न सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिक भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । बस्तुनिष्ठ एवम् प्रमाणमुखी अनुसन्धानमा केन्द्रीत रहेर पूर्ण इमानदारिता एवम् लगनशीलताका साथ कार्य गर्न उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनुभयो । गृहमन्त्री लेखकले उपलब्ध सीमित प्रविधि र कानूनी जटिलताका कारण घेरै अपराधहरूको अनुसन्धानमा बाधा पुगेको उल्लेख गर्दै देखिएका कानूनी जटिलता समाधान गर्न र केन्द्रीय अनुसन्धान ब्यूरोको विकास एवम् ब्यूरोलाई स्रोतसाधन सम्पन्न बनाउन मन्त्रालय सदैव कटिबद्ध रहेको बताउनुभयो । पुराना मुद्दाहरूको अनुसन्धानमा समेत थप सक्रिय हुन उहाँले उपस्थित प्रहरी अधिकृतहरूलाई आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै जटिल र गहन प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मेवारी बोकेको ब्यूरोले सीमित स्रोतसाधनका बाबजूद पनि प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्दै आइरहेको बताउनुभयो । ब्यूरोलाई भौतिक पूर्वाधारको साथसाथै आधुनिक प्रविधियुक्त बनाउँदै लैजानुपर्नेमा जोड दिँदै अपराध अनुसन्धानमा देखिएका जटिलताहरूको सामना गर्दै थप प्रभावकारी एवम् प्रमाणमुखी अनुसन्धानमा ब्यूरो सदैव प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, ब्यूरोबाट गरिएका कार्यहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङ, प्रहरी नायव महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने - गृहमन्त्री रमेश लेखक
२०८२-०४-१६

काठमाडौं, गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागूऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्दै लागूऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीले संचालन गरेको लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागूऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।  गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । ब्यूरोको विकास एवम् स्तरोन्नतिको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।    कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानुनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । सुरक्षित, स्वस्थ एवम् लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको चर्चा गर्दै आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लागूऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले लागूऔषध नियन्त्रण ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, लागूऔषध अपराधको विश्लेषण, ब्यूरोबाट गरिएका प्रहरी कारवाहीहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

११ बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकीलहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ सम्पन्न
२०८२-०२-३१

काठमाडौं, अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरूको शुक्रबारदेखि काठमाडौंमा सुरू भएको दुई दिवसीय तेस्रो राष्ट्रिय सम्मेलन, २०८२ शनिबार ११ बुँदे घोषणापत्र जारी गरी समाप्त भएको छ ।सम्मेलन समापनका अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले सम्मेलनले फौजदारी न्यायको विषयमा सहभागीहरूबीच सार्थक र साझा निष्कर्षमा पुग्न सहयोग गर्नुका साथै आगामी दिनहरूका लागि महत्वपूर्ण प्रतिबद्धता सहित मार्गनिर्देशन गर्न सफल भएको बताउनुभयो । समय र प्रविधिको विकाससँगै नयाँ-नयाँ चुनौति र फरक शैलीका अपराधहरू वृद्धि भइरहेको सन्दर्भमा त्यसलाई सामना गर्न नयाँ पद्दतिको अवलम्बन गरी बयानमूखी अनुसन्धान भन्दा वैज्ञानिक अनुसन्धान तथा अभियोजनमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । गृहमन्त्री लेखकले प्रहरीको अनुसन्धान क्षेत्रको व्यापकता बढ्दै गएको तथा सीमित स्रोत र साधनबीच निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरी सेवालाई वर्गीकृत र विशिष्टिकृत गरी विशेष खालका तालिम, ज्ञान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका उदाहरणहरूको अवलम्बन गरी विज्ञ अनुसन्धानकर्ता तयार गर्नुपर्ने जरूरी रहेको बताउनुभयो ।   समारोहमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले कार्यसम्पादनका क्रममा आइपरेका समस्याहरूलाई सम्बोधन गर्न र भावी कार्यदिशा कोर्न तथा फौजदारी न्याय प्रणालीलाई प्रभावकारी बनाउन सम्मेलन सफल भएको विचार व्यक्त गर्नुभयो । सो अवसरमा महान्यायाधिवक्ता रमेश बडालले फौजदारी न्याय प्रणालीको क्षेत्रमा भइरहेका अभ्यासहरूलाई समायानुकुल परिवर्तन गर्न सम्मेलन प्रभावकारी भएको बताउनुभयो । विधिविज्ञान प्रयोगशालाबाट हुने परीक्षणमा सुधार, विकास र विस्तार गर्नुपर्ने जोड दिँदै उहाँले थप लगानी आवश्यक रहेको बताउनुभयो । समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै अपराध अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग, नयाँ कानूनी व्यवस्था र अभ्यासका बारेमा अनुसन्धानकर्ता, अभियोजनकर्ता र सम्बन्धित विज्ञ तथा विशेषज्ञहरूबीच गहन अन्तर्क्रिया, ज्ञान र अनुभव आदानप्रदानका विषयमा सम्मेलन प्रभावकारी भएको बताउनुभयो । सम्मेलनमा भएका गहन छलफल र विषयगत मन्थन पश्चात पारित घोषणापत्रले आगामी दिनमा अनुसन्धानकर्ता र अभियोजनकर्ताको लागि थप पेशागत मार्ग प्रशस्त हुनुका साथै फौजदारी न्याय प्रणाली अझ सुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गर्दै समस्याहरूको पहिचान गर्न, सुधारका क्षेत्रहरू पहिल्याउन, एकआपसमा समन्वय र सहकार्यको संस्कृतीको निर्माण हुनुका साथै   अनुसन्धान र अभियोजनमा देखिएका समस्या र चुनौतिहरू सम्बोधन गर्न सम्मेलन कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।   नेपाल बार एशोसियसनका महासचिव केदार प्रसाद कोइरालाले सम्मेलनको महत्व र प्रभावकारिताबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल र प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले सम्मेलनमा पारित घोषणापत्रको बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा सम्मेलनमा भएका छलफलका विषयको महत्व र प्रभावकारिताबारे सहभागी अभियोजनकर्ता सरकारी वकीलकोतर्फबाट उपन्यायाधिवक्ता मुना पौडेल र अनुसन्धानकर्ता प्रहरीकोतर्फबाट प्रहरी नायव उपरीक्षक हिमा थोकरले मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान’, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन भएको उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकीलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन शुभारम्भ
२०८२-०२-३०

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित विशेष समारोहबीच अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको तेस्रो राष्ट्रिय सम्मेलन २०८२ को शुभारम्भ भएको छ । सो अवसरमा प्रमुख अतिथि ज्यूले सम्मेलन विशेषाङ्कको विमोचन समेत गर्नुभयो ।समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धानको क्षेत्रलाई प्रविधिको प्रयोग सहित प्रभावकारी बनाई अभियोजनलाई प्रमाणका आधारमा अकाट्य ढंगले प्रस्तुत गरी अपराधीलाई कानुन बमोजिम कारवाही र पीडितलाई न्याय दिलाउन तथा सुशासन र सुव्यवस्था प्रभावकारी बनाउन यो सम्मेलन महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले विभिन्न प्रविधिको प्रयोगबाट सिर्जित अपराधहरू चुनौतिको रूपमा देखिएको उल्लेख गर्दै  प्रहरीलाई यस्ता समस्याहरूसँग जुध्न आधुनिक प्रविधि जडित उपकरण उपलब्ध गराउन, स्रोत साधन सम्पन्न गराउन, उचित तालिमको व्यवस्था गरी क्षमतावान बनाउन र समयानुकुल पारिश्रमिकको व्यवस्था गरी प्रहरी सेवालाई निष्पक्ष बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।समारोहमा गृहमन्त्री रमेश लेखकले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीको महत्वपूर्ण आयाम रहेको चर्चा गर्दै व्यवहारिक र कानूनी जटिलताहरूलाई सम्बोधन गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । लोककल्याणकारी राज्यको पूर्वसर्त भनेको न्याय रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले फौजदारी न्यायको केन्द्रमा पीडित रहने हुँदा पीडितलाई न्यायको अनुभूति गराउन थप क्रियाशील भई अगाडि बढ्नुपर्ने बताउनुभयो । अपराधमा विज्ञान तथा प्रविधिको प्रयोग बढिरहेको उल्लेख गर्दै प्रविधिको सहि प्रयोग गरी प्रमाणमुखि अनुसन्धान एवम् अभियोजन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले फौजदारी न्यायप्रणालीको सान्दर्भिकता र प्रभावकारीताका सन्दर्भमा नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबीचको गहन तथा रचनात्मक सहकार्यले मात्र न्यायको प्रत्याभूति र कानुनी शासनको प्रत्याभूति हुने उल्लेख गर्नुभयो । साथै यस सम्मेलनबाट प्राप्त हुने निष्कर्षले आगामी दिनहरूमा अनुसन्धानकर्ता र अभियोजनकर्ताहरूका लागि थप पेशागत दक्षता अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता रमेश बडालले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, नेपाल बार एशोसियसनका अध्यक्ष प्रा.डा विजय मिश्रले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । अनुसन्धानकर्ता र अभियोजनकर्ताहरू एकै स्थानमा जम्मा भई अपराध अनुसन्धान र अभियोजनको विद्यमान अवस्थाको समीक्षा गरी सुधारका लागि साझा दृष्टिकोण विकास गर्न तथा नयाँ कानुनहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयद्वारा संयुक्त रुपमा उक्त सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिताको संशोधन सम्बन्धी प्रस्तावित विधयेक तथा यसको सान्दर्भिकता, सरकारीवादी फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको वर्तमान अवस्था तथा सुधारका क्षेत्रहरू, नेपालमा साइबर अपराध, अनलाइन स्क्यामिङ लगायतका अपराधको प्रवृत्ति तथा देखिएका चुनौतिहरू, सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान, अपराध अनुसन्धानमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग, सरकारीवादी फौजदारी मुद्दामा न्यायिक दृष्टिकोण एवम् सुधारका क्षेत्र लगायतका विविध विषयमा सम्मेलनमा विस्तृत छलफल हुनेछ ।‘प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान, विश्वासिलो अभियोजन पीडितको सम्मान, भन्ने अवधारणा सहित २ दिनसम्म संचालन हुने उक्त सम्मेलनमा सरकारवादी फौजदारी मुद्दाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरू, अभियोजनकर्ता सरकारी वकिलहरू, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरू तथा महान्यायाधिवक्ताको कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयबाट तोकिएका प्रतिनिधिहरूको सहभागिता रहनुका साथै सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, मुद्दा चल्ने इकाईका प्रमुखहरू तथा सरकारी वकीलहरूको भर्चुअल सहभागिता रहेको छ ।

गृहमन्त्री रमेश लेखकद्वारा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षण तथा निर्देशन
२०८२-०२-२१

काठमाडौं, गृहमन्त्री रमेश लेखकले बुधबार नेपाल प्रहरी प्रधान कार्यालय, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले विपद् सम्बन्धी कृत्रिम घटना उद्दार अभ्यास प्रदर्शन एवम् विपद् उद्दार सामाग्री भण्डार, Police Disaster Response Team र विशिष्टिकृत उद्दारकर्ता समूहको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको भूगोल अत्यन्त जोखिमपूर्ण रहेको र हरहमेसा विपद्को सम्भावना रहेको हुँदा नेपाल प्रहरी जुनसुकै बेला पनि तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने, अपराधको नियन्त्रण तथा अनुसन्धानका साथै विपद् व्यवस्थापन पनि प्रहरीको महत्वपूर्ण जिम्मेवारी रहेको चर्चा गर्दै विपद्को समयमा कुनै पनि गुनासो नआउने गरी नागरिकको उद्दारमा अत्यन्त क्रियाशीलताका साथ खटिन उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा निमित्त गृहसचिव जयनारायण आचार्यले नेपाल प्रहरी विपद्को समयमा पहिलो पंक्तिमा रहेर उद्दारमा खटिने उल्लेख गर्दै विपद्‍मा आम नागरिकको उद्दार तथा राहतका लागि स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरेर नागरिकको विश्वास जित्ने गरी उच्च मनोबलका साथ खटिनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक दिपक थापाले विपद्का सम्भावित चुनौतिहरूको सामना गर्न नेपाल प्रहरी चौकी स्तरसम्म अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा तत्काल परिचालन हुन सक्ने अवस्थामा रहेको बताउनुभयो । विपद्का घटनामा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै मनसुन पूर्वतयारी तथा विपद् प्रतिकार्य सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।