प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने - गृहमन्त्री रमेश लेखक

२०८२-०४-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री रमेश लेखकले लागूऔषधको उत्पादन, ओसारपसार, भण्डारण एवम् सेवन अत्यन्तै चुनौतिको रूपमा देखा परेको उल्लेख गर्दै यस्ता चुनौतिको सामना गर्न एवम् लागूऔषध विरूद्ध प्रहरी कर्मचारीहरू निर्मम रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा गृहमन्त्री लेखकले उक्त कुरा बताउनुभएको हो । 

निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लेखकले ब्यूरोस्थित विभिन्न शाखाहरूको अनुगमन एवम् अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।

निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले लागूऔषधको कारोबार एवम् सेवनले समाजको साथसाथै युवापुस्तालाई समेत नकारात्मक असर गरिरहेको उल्लेख गर्दै लागूऔषध रोकथाम एवम् न्यूनीकरणको लागि थप सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीले संचालन गरेको लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत अन्य सचेतनामूलक कार्यक्रमहरूले लागूऔषध नियन्त्रण, रोकथाम तथा न्यूनीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।  

गृहमन्त्री लेखकले सीमित स्रोत साधनका बाबजुद ब्यूरोले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै आगामी दिनमा अझ बढि सक्रिय, लगनशील एवम् प्रभावकारी ढंगले कार्यसम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । ब्यूरोको विकास एवम् स्तरोन्नतिको लागि गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।    

कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानुनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । सुरक्षित, स्वस्थ एवम् लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको चर्चा गर्दै आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक थापाले लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै लागूऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले लागूऔषध नियन्त्रण ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, लागूऔषध अपराधको विश्लेषण, ब्यूरोबाट गरिएका प्रहरी कारवाहीहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-३०

धनुषा, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय मधेश  प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ जनकपुरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र गृह सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । जस्तोसुकै आपराधिक गतिविधि नियन्त्रण गर्न सरकार सदैव कटिबद्ध रहेको बताउँदै नागरिकसँगको समन्वय तथा सहकार्यमा अपराध तथा हिंसा नियन्त्रण गरी जनसमुदायमा सुदृढ सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र मधेश प्रदेशका कायम मुकायम प्रमुख सचिव कमल प्रसाद भट्टराईले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।    गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रभावकारी सुरक्षा व्यवस्थापननै सुशासन, समृद्धि र विकासको आधार भएको चर्चा गर्दै प्रदेशमा चुनौतीको रूपमा रहेको खुला सिमाना, लागूऔषध ओसारपसार, सडक दुर्घटना लगायतका अपराध नियन्त्रणको लागि अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सुरक्षा सम्बन्धि बहुआयामिक विषयहरूमा केन्द्रित यस गोष्ठीबाट भएको मार्गनिर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत सुरक्षा व्यवस्था मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । गृह मन्त्रालय शान्ति सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख आनन्द काफ्लेले प्रदशको सुरक्षा अवस्था र सुरक्षा चुनौति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा  गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-२५

ललितपुर, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा शुक्रबार आयोजित कार्यक्रमबीच एकदिवसीय बागमती  प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ ललितपुरको हरिहरभवनमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्नु वर्तमान सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै विगतमा भएका कमि कमजोरीलाई सुधार गरी नागरिकसँग सहकार्य गर्दै सुदृढ सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । गोष्ठीले प्रदेश अन्तर्गतका जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै सुरक्षा निकायहरूको मनोबल बढाउने कार्यमा समेत नेपाल सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । आसन्न निर्वाचनलाई निर्धारित समयमै सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा देखिएका सुरक्षा चुनौतिहरूको सम्बोधनको लागि यस गोष्ठी फलदायी हुने बताउनुभयो । सूचना संकलन तथा विश्लेषणलाई थप प्रभावकारी बनाउँदै समग्र प्रदेशको शान्ति सुरक्षा कायम गर्न आवश्यक सुरक्षा योजना अवलम्बन गरी अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आसन्न निर्वाचनलाई केन्द्रमा राखेर सुरक्षा सतर्कता अपनाउन आवश्यक रहेको बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन दिनुभयो । नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्ण बहादुर शाहीले बागमती प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य तथा गोष्ठीको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । गोष्ठीमा बागमती प्रदेश अन्तर्गत १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-१६

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न प्रदेशस्तरीय गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । सुरक्षा निकायको मनोबल बढाउने कार्यमा नेपाल सरकार सदैव क्रियाशील रहेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्न सुरक्षा केन्द्रित गोष्ठीले उल्लेखनीय भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मेवार निकायहरूले आ-आफ्नो क्षेत्रमा सक्रिय भई जिम्मेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउँदै कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसन ठूलो समस्याको रूपमा रहेकोले यसलाई नियन्त्रण गर्न विशेष अभियानका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले कोशी प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा आसन्न निर्वाचनलाई सम्पन्न गराउन योजनाबद्ध रूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आ-आफ्नो दायित्व बोधबाट मात्र सम्भव हुने चर्चा गर्दै सवारी दुर्घटना न्यूनीकरण, खुल्ला सिमानाको कारण हुने चोरी तस्करी, राजस्व चुहावट, अखाद्य बस्तु विक्रीवितरण, कालोबजारी एवम् गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव नारायण प्रसाद रिसालले कोशी प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौती सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य सहित सुरक्षा गोष्ठीको उद्देश्यका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-०९

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले देशमा शान्ति सुव्यवस्था कायम गर्ने र विधिको शासनको पालना गर्दै सुदृढ सेवा प्रवाह गर्नुनै वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताउनुभयो । साथै स्वतन्त्र र निष्पक्ष वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा योजना एवम् रणनीति अवलम्बन गरी देखा परेका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ गर्दै कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र कर्णाली प्रदशका प्रमुख सचिव बिरेन्द्र कुमार यादवले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था, प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी त्यसको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न यो सुरक्षा गोष्ठी महत्वपूर्ण एवम् उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । प्रभावकारी कानुन कार्यान्वयन सुशासन एवम् समृद्धिको आधार भएको चर्चा गर्दै कानुन विपरितका क्रियाकलापहरूलाई कानुनी दायरामा ल्याउन सबैको प्रयत्न आवश्यक रहेको र यस गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणले सुरक्षा निकाय एवम् अन्य सरोकारवाला निकायबीच सामूहिक भावना तथा ऐक्यबद्धताका साथ अगाडि बढ्न सहयोग पुर्‍याउने बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सम्बन्धी बहुआयामिक विषयहरूमा केन्द्रित यस महत्वपूर्ण छलफलबाट प्राप्त भएको मार्गनिर्देशनको उच्च प्रयोग गर्दै प्रदेश अन्तर्गतको सुरक्षा व्यवस्थापन थप मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेलेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-२८

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सोमबार आयोजित कार्यक्रमबीच एक दिवसीय गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कास्कीको पोखरामा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले सुशासन र भ्रष्टाचार निर्मूल गर्ने एवम् तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनतालाई नयाँ नेतृत्व प्रदान गर्नु वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उक्त पूर्वनिर्धारित कार्य पुरा गर्न आवश्यक सुरक्षा व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो । स्वच्छ निर्वाचननै लोकतन्त्रको प्रमुख मर्म रहेकोले यसका लागि आवश्यक छलफलको लागि सरकार सदैव तयार रहेको बताउँदै गृहमन्त्री अर्यालले सुरक्षा चुनौतीलाई मध्यनजर गरी जेनजी आन्दोलनमा लुटिएका हतियारहरू फिर्ता गर्न र कारागारबाट भागेका कैदीबन्दीहरूलाई फिर्ता गर्न मन्त्रालयले विशेष अपरेशन चलाइरहेको बताउनुभयो ।सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेरिएको राजनीतिक परिस्थिति र थपिएको सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सुरक्षाकर्मीहरूको मनोबल उच्च बनाउँदै प्रभावकारी सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले न्यून साधनस्रोतका वावजुद उच्च मनोबलका साथ कार्यसम्पादन गर्दै आइरहेको बताउनुभयो । समाजमा देखापरेका सुरक्षा चुनौतीहरूको सामना गर्न प्रहरी सदैव तयार रहेको बताउँदै गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गरी प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन र आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वयका साथ कार्यसम्पदान गर्ने उहाँले बताउनुभयो । नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव गोविन्द रिजाल, गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरे लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा गण्डकी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा गण्डकी प्रदेश अन्तर्गत ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०८-१५

काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रमबीच एक दिवसीय सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ कैलालीको धनगढीमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।उक्त अवसरमा गृहमन्त्री अर्यालले जनताहरूलाई सुरक्षाको अनुभूति दिन, प्रभावकारी सेवा प्रवाह र सुशासन स्थापित गर्न यो गोष्ठी सफल हुने विश्वास व्यक्त गर्नुभयो । विधिको शासन र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गर्दै आसन्न निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै देखिएका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्न सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउनुपर्ने उहाँले बताउनुभयो । सीमित स्रोत र साधनको बाबजुद सुरक्षा निकायहरूले निर्वाह गरेका कार्यहरू प्रशंसनीय रहेको चर्चा गर्दै सुरक्षा निकायहरूलाई अझ व्यावसायिक र साधन स्रोत सम्पन्न बनाउन आफ्नो साथ र सहयोग निरन्तर रहि रहने समेत उहाँले बताउनुभयो । सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की र सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बैकुण्ठ प्रसाद अर्यालले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभयो ।गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था र अपराध सम्बन्धी प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी ती चुनौतीहरूको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न गोष्ठी उपलब्धीमूलक भएको बताउनुभयो । गोष्ठीबाट प्राप्त भएको निर्देशन तथा पृष्ठपोषणको उच्चतम सदुपयोग गर्दै प्रदेश अन्तर्गत प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न तथा आसन्न निर्वाचन सुरक्षामा प्रदेशस्तरीय निकायहरूबीच प्रभावकारी सहकार्य तथा समन्वय गरी कार्यसम्पदान गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।  नेपाली सेनाका रथी प्रदीप जंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव काली प्रसाद पराजुलीले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सुदूरपश्चिम प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो । गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।