अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०५-२४
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-११ कालापानीबाट अवैध लागूऔषध गाँजा करिब ८६ किलो ९ सय ग्राम सहित मकवानपुर मनहरी गाउँपालिका-६ सिमपानी बस्ने २३ वर्षीय निशान बहादुर सुनचुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्र.३-०३-००१ क ०००९ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक सुनचुरीलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम ६ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१२ पदमपोखरी बस्ने २७ वर्षीय मदन थापालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३-०३-००१ प ५२५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, गुर्भाकोट नगरपालिका-१४ गुमी जहरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २१ वर्षीय प्रदिप विक, २४ वर्षीय तिलक विक र सोही नगरपालिका-७ बस्ने २० वर्षीय निरज बोहोरा रहेका छन् । प्रहरी चौकी मेहलकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट मेहलकुनातर्फ जाँदै गरेको क.प्र.०२-००१ ज ०६७० नम्बरको भ्यानलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी भ्यानका चालक प्रदिप, सहचालक निरज र भ्यानमा सवार तिलकलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।