गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
२०८२-०९-०९
- A
- A-
- A+
काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री अर्यालले देशमा शान्ति सुव्यवस्था कायम गर्ने र विधिको शासनको पालना गर्दै सुदृढ सेवा प्रवाह गर्नुनै वर्तमान सरकारको मुख्य कार्यभार रहेको बताउनुभयो । साथै स्वतन्त्र र निष्पक्ष वातावरणमा आसन्न निर्वाचन सम्पन्न गराउन आवश्यक सुरक्षा योजना एवम् रणनीति अवलम्बन गरी देखा परेका सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्दै सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ गर्दै कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेल र कर्णाली प्रदशका प्रमुख सचिव बिरेन्द्र कुमार यादवले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रदेशको वर्तमान सुरक्षा अवस्था, प्रमुख समस्या तथा चुनौतीहरूको पहिचान गरी त्यसको सम्बोधनको लागि उपयुक्त रणनीति तर्जुमा गर्न यो सुरक्षा गोष्ठी महत्वपूर्ण एवम् उपलब्धिमूलक हुने उल्लेख गर्नुभयो । प्रभावकारी कानुन कार्यान्वयन सुशासन एवम् समृद्धिको आधार भएको चर्चा गर्दै कानुन विपरितका क्रियाकलापहरूलाई कानुनी दायरामा ल्याउन सबैको प्रयत्न आवश्यक रहेको र यस गोष्ठीबाट प्राप्त भएका निर्देशन तथा पृष्ठपोषणले सुरक्षा निकाय एवम् अन्य सरोकारवाला निकायबीच सामूहिक भावना तथा ऐक्यबद्धताका साथ अगाडि बढ्न सहयोग पुर्याउने बताउनुभयो ।
प्रहरी महानिरीक्षक कार्कीले सुरक्षा सम्बन्धी बहुआयामिक विषयहरूमा केन्द्रित यस महत्वपूर्ण छलफलबाट प्राप्त भएको मार्गनिर्देशनको उच्च प्रयोग गर्दै प्रदेश अन्तर्गतको सुरक्षा व्यवस्थापन थप मजबुत पार्न तथा आसन्न निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन समेत उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
नेपाली सेनाका रथी गणेश कुमार श्रेष्ठ, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की र गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव आनन्द काफ्लेलेले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कर्णाली प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती, अपराध नियन्त्रण र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव रामेश्वर दंगालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कर्णाली प्रदेश अन्तर्गत १० वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।