प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८२-०९-२५

  • A
  • A-
  • A+
Share

काठमाडौं, कम्पनीको कागजात दुरूपयोग गरी ईसेवा मार्फत कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका-७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

वाइड स्पेस इन्टरनेश्नल प्रालिका नाममा आन्तरिक राजश्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर लगायतका कागजातहरुको दुरूपयोग गरी ईसेवा मर्चेन्ट वालेट र ईसेवा वालेट खोली गैरकानूनी रुपमा आर्थिक कारोबार गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा ईसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६ हजार ३ सय ७६ रूपैयाँ र ईसेवा वालेटबाट ५६ लाख ३१ हजार ६ सय ३ रूपैयाँ ७६ पैसा बराबरको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट ल्यापटप १ थान, मोबाइल २ थान, विभिन्न कम्पनीका सिमकार्ड २० थान, पेन ड्राईभ १ थान र मेमोरी कार्ड १ थान समेत बरामद गरेको छ । 

उनलाई बैंकिङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।


सम्बन्धित समाचार
सुन जस्तो देखिने पहेँलो धातु सहित २ जना पक्राउ
२०८३-०२-३०

दाङ, लमही नगरपालिका-९ अमिलियास्थित नमस्ते होटलबाट सुन जस्तो देखिने पहेँलो धातु २ सय १४ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सुनपतरी नाका बस्ने ४० वर्षीय रूपलाल गिरी र रूकुम पश्‍चिम बाँफिकोट गाउँपालिका-६ मग्मा बस्ने २२ वर्षीय दिलिप परियार रहेका छन् । इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले उक्त होटलको कोठा तलासी गर्दा उक्त धातु सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-२९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ गठ्ठाघर बस्ने ललितपुर घर भएका ४६ वर्षीय प्रदिप कुमार गौतम र काठमाडौं कीर्तिपुर नगरपालिका-३ बस्ने धादिङ घर भएका ६५ वर्षीय राम कुमार थापा रहेका छन् ।उच्च अदालत ललितपुरबाट २०७९ फागुन १२ गते बैंकिङ कसुर मुद्दामा १२ दिन कैद र ३५ लाख ६० हजार जरिवाना सजाय ठहर भई फरार रहेका प्रदिप कुमारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-३२ महादेवस्थानबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जी जारी भई फरार रहेका राम कुमारलाई किर्तिपुर नगरपालिका-३ बाट प्रहरीले पक्राउ गरेको हो ।पक्राउ मध्ये प्रदिप कुमारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ भने राम कुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने सुर्खेत घर भएका ३४ वर्षीय सुनिल पौडेल, भक्तपुर नगरपालिका-१ बस्ने सिन्धुपाल्चोक घर भएका २२ वर्षीय अनुप भण्डारी, ललितपुर महानगरपालिका-१५ बस्ने जाजरकोट घर भएकी ३४ वर्षीया कबिता सिंह र काठमाडौं चन्द्रागिरी नगरपालिका-११ बस्ने धादिङ घर भएका २५ वर्षीय बिशु राई रहेका छन् । पक्राउ मध्ये सुनिलले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २४ लाख १७ हजार रूपैयाँ, अनुपले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख ५० हजार रूपैयाँ, कबिताले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७२ हजार रूपैयाँ र बिशुले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई बुढानिलकण्ठ नगरपालिका-९ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट बिहीबार तथा कबितालाई ललितपुर महानगरपालिका-१५ बाट र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।