गृहमन्त्री ओमप्रकश अर्यालद्वारा केन्द्रीय निर्वाचन सेलको निरीक्षण
२०८२-११-२०
- A
- A-
- A+
काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय निर्वाचन सेल र कमाण्ड सेन्टरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री अर्यालले केन्द्रीय निर्वाचन सेलबाट सबै जिल्लास्थित निर्वाचन सेलबाट भइरहेको कामकारबाही एवम् गतिविधि बारेमा जानकारी समेत लिनुभयो । साथै उहाँले प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नेपाल प्रहरीले प्रयोग गरेको विभिन्न प्रणाली सम्बन्धी जानकारी समेत लिनुभयो ।
सो अवसरमा गृहमन्त्री अर्यालले निर्वाचन सेलबाट भइरहेको कामकारबाहीको प्रशंसा गर्दै आसन्न निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गराउन थप सक्रिय भई कार्य गर्न निर्देशन दिनुभयो । साथै निर्वाचनको समयमा हुन सक्ने चुनौतीको सामना गर्न समेत अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी प्रभावकारी रूपमा कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा नेपाली सेनाका रथी प्रदिपजंग केसी, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक वरिष्ठ प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।
प्रतिनिधि सभा निर्वाचन, २०८२ लाई लक्षित गर्दै निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित, छिटो र प्रविधिमैत्री बनाउन नेपाल प्रहरीले Election Management Information System (EMIS) प्रणाली प्रयोगमा ल्याएको छ । उक्त प्रणालीमार्फत प्रदेश, जिल्ला र स्थानीय तह सम्म निर्वाचन प्रहरी, नेपाल प्रहरीको जनशक्ति visualization गर्न सकिन्छ । निर्वाचनसँग सम्बन्धित क्रियाकलापलाई Online Computerized Election Management System मार्फत छिटो छरितो ढंगबाट सम्पन्न गर्ने तथा आवश्यकता अनुसारको रिपोर्ट तयार गर्नु यस प्रणालीको मुख्य उद्देश्य रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘निर्वाचन सुरक्षा तथा व्यवस्थापनलाई थप व्यवस्थित एवम् छिटो बनाउन नेपाल प्रहरीले आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिरहेको छ । प्रविधिमैत्री सुरक्षा व्यवस्थापन अन्तर्गत EMIS प्रणालीको प्रयोगबाट देशभरका सबै मतदानस्थलको सुरक्षा व्यवस्थापन बारेमा नेपाल प्रहरी प्रधान कार्यालयस्थित कमाण्ड सेन्टरबाट नै निगरानी गर्न सकिने र आवश्यकता अनुसार कमाण्ड सेन्टरबाट नै आवश्यक निर्देशन दिन सकिनेछ । यसले निर्वाचनको समयमा मतदानस्थलको सुरक्षालाई थप मजबुत बनाउन सहयोग गरेको छ ।’
यसैगरी देशभर एआई फिचर सहित जडान भएका ७ सय ८६ वटा सिसिटिभिबाट निर्वाचन सुरक्षा व्यवस्थापन सम्बन्धी गतिविधिहरू कमाण्ड सेन्टरबाटै नै प्रत्यक्ष निगरानी हुनेछ । ७ वटा सीमा नाकाका २२ वटा, काठमाडौंभित्र मुख्य चेकप्वाइन्ट, चोक गरी ७ सय वटा तथा काठमाडौं बाहिर विराटनगर र वीरगंजमा ६४ वटा सिसिटिभि जडान गरिएको छ । सिसिटिभि क्यामेरामा एआई फिचर सहितको Face recognition, Automatic Number plate recognition, Behavior Analysis, Smart AI Feature लगायतको विशेषता रहेको छ । प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘प्रविधिमैत्री सुरक्षा योजना, सूचना संकलन प्रणालीको सुदृढीकरण र आकस्मिक परिस्थितिको द्रुत प्रतिकारको लागि सुरक्षा तयारीलाई प्राथमिकतामा राखिएको छ । देशभरका मतदानस्थल वरिपरि जडान गरिएका सिसिटिभि क्यामेराको कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी गरी मतदानस्थलको गतिविधि अवलोकन गर्नुका साथै मतदानस्थललाई सुरक्षित राख्न समेत आवश्यक सुरक्षा रणनीति तर्जुमा गरिएको छ ।’ यस्तै नेपाल प्रहरीले निर्वाचन सुरक्षा लक्षित Real Time Video Surveillance Camera सहितको रेडियो सेट संवेदनशील मतदानस्थलहरूमा वितरण गरेको छ । यसबाट पनि मतदानस्थलको गतिविधहरू सिधै कमाण्ड सेन्टरबाट प्रत्यक्ष निगरानी हुनेछ । सबै मतदानस्थलहरूमा संचार सम्पर्क हुने गरी संचार साधनको उचित व्यवस्थापन गरिएको छ । साथै कमाण्ड सेन्टरबाट नै प्रत्यक्ष निगरानी हुने गरी आवश्यकता अनुसार मतदानस्थल वरिपरि सुरक्षा व्यवस्थापनको अनुगमन गर्नको लागि ड्रोनको प्रयोग समेत गरिने छ ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलले सामाजिक सञ्जालमा गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ । सेल मार्फत काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयमा परिचालित साइबर प्रहरीबाट यस्ता गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन कार्य भइरहेको छ ।