वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०१-१७
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने तेह्रथुम घर भएका ४० वर्षीय सुरज पंधाक लिम्बु, सोलुखुम्बु घर भएका ४६ वर्षीय कमल बहादुर पुलामी मगर, काठमाडौं महानगरपालिका-१२ बस्ने काभ्रे घर भएका ३९ वर्षीय बिनोद थापा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका बस्ने सोलुखम्बु घर भएका २९ वर्षीय सागर शेर्पा, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ५६ वर्षीय सूर्य प्रसाद कोइराला, काठमाडौं महानगरपालिका-३२ बस्ने काभ्रे घर भएका २६ वर्षीय प्रल्हाद खत्री र ३३ वर्षीय सरोज गौतम रहेका छन् ।
पक्राउ मध्ये सुरज र कमल बहादुरले जापान पठाइदिन्छु भन्दै ११ जना पीडितहरूबाट १ करोड २ लाख रूपैयाँ, बिनोदले कोरिया पठाइदिन्छु भन्दै २६ जना पीडितहरूबाट १ करोड ५० लाख रूपैयाँ, सागरले फ्रान्स पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २८ लाख रूपैयाँ, सूर्य प्रसादले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, प्रल्हादले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ र सरोजले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरजलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बाट, कमल बहादुरलाई काठमाडौं महानगरपालिका-३१ बाट, सागरलाई काठमाडौं जोरपाटीबाट, प्रल्हाद र सरोजलाई काठमाडौं महानगरपालिका-३२ बाट बुधबार तथा बिनोदलाई काठमाडौं महानगरपलिका-१२ र सूर्य प्रसादलाई काठमाडौं महानगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुरज र कमल बहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने बिनोद, सागर, सूर्य प्रसाद, प्रल्हाद र सरोजलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।