अवैध लागूऔषध सहित आठ जना पक्राउ
२०८३-०२-१९
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा, सिरहा नगरपालिका-५ रमौल घर भएका २४ वर्षीय मोहम्मद आसिम सिद्दिकी र २२ वर्षीय मोहम्मद अरमान आलम रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सिराहाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.६४ प ६८७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २८ वर्षीय बिशाल आले मगरलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १६ ग्राम ४ सय मिलिग्राम सहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय आकाश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सिटिमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-२० बरबोटेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने ३३ वर्षीय बिनोद राई र २७ वर्षीय बिशाल राई रहेका छन् । अस्थायी प्रहरी विट जोरसखुवाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-०४३ प ७०७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ६० मिलिग्राम सहित बेल्डाडी गाउँपालिका-३ खैरीघाट बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको 56छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।