वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।
पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।