अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०४-२९
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-३ बस्ने २५ वर्षीय आशिष पुरी र सोही नगरपालिका-७ बागमारा बस्ने ३८ वर्षीय दिनेश सुनारलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम र नगद २७ हजार रूपैयाँ सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२ बाग्लुङ बसपार्कबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, नोर्फिन ४ एम्पुल र फेनारगन ४ एम्पुल सहित सोही महानगरपालिका-२५ हेम्जा बस्ने धनकुटा घर भएका २३ वर्षीय मनोज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी पोखरा महानगरपलिका-३२ खुदीखोलाबाट नियन्त्रित लागूऔषध नोर्फिन २० एम्पुल, डाईजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नगद २१ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२२ पुम्दीभुम्दी बस्ने २१ वर्षीय शौरभ परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यलाय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ टरिगै बस्ने सरद पाण्डे र उनकै श्रीमती भिमा भण्डारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १२ ट्याब्लेट सहित काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ३२ वर्षीय अजय डंगोललाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-३ प्रगतिटोलस्थित मासु पसल संचालन गरी बस्ने ३२ वर्षीय साजन श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र प्रोमेथाजाइन ३ सय २५ ट्याब्लेट सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-५ नयाँबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ११ मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ गरामनी बस्ने २१ वर्षीय अजय रेग्मीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ जेपी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-७ बस्ने गौरीगंगा नगरपालिका-८ घर भएका २० वर्षीय अबिनाश चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-१७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अस्रफ मियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।