प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

एउटै घरमा २४ वटा शव फेला, मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको

२०८३-०५-१६

  • A
  • A-
  • A+
Share

नुवाकोट, भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रहरूमा खोजी तथा उद्दार कार्यको लागि नेपाल प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । प्रहरीले ड्रोनको क्यामेरामा १ वटा शव देख्यो ।

ड्रोनको क्यामेरामा कैद भएको विवरणको आधारमा प्रहरीको उद्दार तथा खोज टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्‍यो । उक्त शव फेला परेको स्थान विदुर नगरपालिका-१० बेत्रावती स्थित बच्चुराम अवस्थीको घर भएको खुल्न आयो । घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शव सम्म पुग्न निकै नै कठिन देखियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरी लगायतको सामाग्री एकजुट गर्‍यो । दलदले हिलो माथि उक्त सामाग्रीहरू प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घर सम्म पुग्न सफल भयो ।  

उक्त घरमा प्रवेश गरे पछि फेला परेको शव नजिक थप शव हुनसक्ने आशंकामा खोजी गर्ने क्रममा अन्य २३ वटा शव समेत फेला पर्‍यो । फेला परेका शव मध्ये १ बालिका, ११ वटा पुरूष र १२ वटा महिलाको शव रहेको छ । शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ । दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाई भइरहेको छ । 

उक्त क्षेत्रमा नेपाल प्रहरीले स्थानीय तह, एवम् अन्य सुरक्षा निकायको समन्वयमा निरन्तर रूपमा खटिई उद्दार तथा खोज कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार १ यस २७ जनाको शव फेला
२०८३-०५-१७

काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार ०५:०० बजे सम्म १ हजार १ सय २७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १७ जना, नवलपरासी पश्‍चिम १ सय ९० जना र भारतमा ९ जना गरी १ हजार १ सय २७ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये १ हजार १ सय १३ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । साथै पहिचान नभएको ९ सय ११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय ४१ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ४ हजार ८ सय ५८ जनाको खोजी कार्य भइरहेको छ ।प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।   

विपद्को समयमा देखा पर्न सक्ने सुरक्षा चुनौती प्रति नेपाल प्रहरी थप संवेदनशील
२०८३-०५-१४

काठमाडौं, रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागि परेको छ। सुरक्षाकर्मीहरु विपदको समयमा खोज तथा उद्दारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताकासाथ लागि परेको हो । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना शुक्रबार पक्राउ  परे । धादिङ गल्छी गाउँपालिका-४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा सेफ फेला पारी सेफ भित्र रहेको नगद निकाली चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ९२ लाख ६८ हजार ५ सय ५ रूपैयाँ समेत प्रहरीले बरामद गर्‍यो ।यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाममा भ्रम सृजना गर्ने रामेछाप गोकुलगंगा गाउँपालिका-२ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की पक्राउ परे । उनले बाढी प्रभावितहरूको उद्दार तथा राहत संकलनको लागि नेपाल सरकारद्वारा जारी गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ लाख २० हजार रूपैयाँ रकम सहयोग गरेको भनी च्याट जिपिटिको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालहरूमा पोष्ट गरेका थिए । यस्तै बाढीले बगाई ल्याएको शवबाट कानको मुन्द्रा चोरी गर्ने चितवन भरतपुर महानगरपालिका-१ लीला चोक बस्ने २५ वर्षीय मदन गुरूङ समेत २ जनालाई भदौ ११ गते प्रहरीले पक्राउ गर्‍यो । प्रहरीले यस्ता कार्य हुन नदिन र भएका आपराधिक क्रियाकलापलाई कानूनी दायरामा ल्याउन सूचना संकलन, सामाजिक सञ्जालको अनुगमन, निगरानी, प्रहरी परिचालनलाई प्रभावकारी बनाएको छ ।  नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट, विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्याम लगायतका आपराधिक गतिविधि रोकथाम र संलग्नलाई कानुनी दायरमा ल्याउन नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा नागरिकको जीउ धनको सुरक्षाका साथै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ । साथै विपद्को नाममा हुन सक्ने साइबर स्क्याम बारे आम नागरिकलाई समेत नेपाल प्रहरीले सचेत गराउँदै आइरहेको छ ।’ बाढी प्रभावित क्षेत्रहरूमा हुन सक्ने जोखिमका कारण एवम् थप जन धनको क्षति न्यूनीकरण गर्न आम नागरिकहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । त्यस्तो समयको मौका छोपी आपराधिक मनसाय भएका व्यक्तिहरूले चोरी, लुटपाट गर्न सक्ने कार्यलाई मध्यनजर गरी नेपाल प्रहरीले गस्ती एवम् निगरानी कार्यलाई अझ तीव्र एवम् प्रभावकारी बनाएको छ । विपदको समयमा सडक तथा पुल अवरूद्ध हुँदा उद्दार एवम् राहत वितरणमा कठिनाई भइरहेको हुँदा अवरोध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको छ । घाइतेको उद्दार एवम् विस्थापितहरूलाई राहत वितरण कार्यमा कुनै पनि त्रुटि नहुने गरी कार्य गर्न नेपाल प्रहरी सचेत छ । यस्ता आपराधिक गतिविधि भइरहेको वा हुनसक्ने सुचना तथा बाढी प्रभावित स्थलमा भेटिएका वहुमुल्य सामानहरु सुरक्षित राखी यथाशिघ्र नजिकको प्रहरी कार्यालय तथा १०० मा जानकारी गराउनु हुन समेत नेपाल प्रहरी अनुरोध गर्दछ ।  

विनाशकारी बाढीमा उद्दार तथा खोज कार्यको लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी परिचालित
२०८३-०५-१४

काठमाडौं, भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा विभिन्न टोली परिचालन गरिएको  छ ।  प्रहरी नायव महानिरीक्षक सुदर्शन कोईरालाको कमाण्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’ मार्फत विपद् व्यवस्थापन, उद्दार, खोजी, राहत वितरण, शव संकलन एवम् व्यवस्थापन लगायत सम्रग कार्यको प्रभावकारी समन्वय भइरहेको छ । यसैगरी प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको कमाण्डमा रहेको शिक्षण अस्पताल महाराजगंजको कमाण्ड पोष्ट मार्फत विभिन्न अस्पतालहरूसँग समन्वयमा घाइतेको उद्दार, उपचार र शव व्यवस्थापन कार्य भइरहेको  छ । बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली समेत प्रभावित जिल्लाहरूमा परिचालन गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुरूप विपद् व्यवस्थापनको लागि प्रहरी कर्मचारीहरूलाई परिचालन गरिदै आएको  छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘ विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको प्रमुख दायित्व हो । सोही अनुरूप नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्दार एवम् खोज कार्यमा कुनै पनि त्रुटि एवम् कमि कमजोरी हुन नदिन उपलब्ध साधन स्रोतका उच्चतम् प्रयोग गरी नागरिकको जीउ धनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ । बाढी प्रभावित क्षेत्रहरूमा उद्दार एवम् खोजको लागि स्थानीय तह एवम् अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रहरीले कार्य गरिरहेको छ ।’  बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्दार पश्चात मेडिकल सहायताका लागि नेपाल प्रहरी अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा उद्दार एवम् खोजीको लागि ड्रोन एवम् कुकुर सहितको Search and Rescue टोली छुट्टाछुटै स्थानमा परिचालन गरिएको छ । कानुनी सहायता तथा घटनास्थल सम्बन्धी मुचुल्का टोली परिचालन गरिएको छ । काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा २२ वटा होल्डिङ सेन्टरहरूको व्यवस्था गरी प्रभावित क्षेत्रका घाइतेहरूको उद्दार तथा राहत वितरणलाई व्यवस्थित गरेको छ । शव संकलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ । शव व्यवस्थापनमा शवको फोटो, भिडियो सहितको अभिलेखिकरण गरी DNA, Fingerprint को नमुना समेत संकलनको लागि थप फरेन्सिक विशेषज्ञहरूसँगको समन्वयमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८३) बमोजिम स्थानीय तहसँग आवश्यक समन्वय गरी कार्य गरिरहेको छ । साथै फेला परेका शवहरूको सनाखतको लागि शवहरूको तस्विर ट्याग सहित नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा राखिएको छ ।

स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई विशेष ध्यानमा राखी शव व्यवस्थापन गर्दै नेपाल प्रहरीले
२०८३-०५-१३

काठमाडौं, विभिन्न जिल्लाहरूबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव एवम् शरिरका अंगहरूको उचित व्यवस्थापन गर्दै स्वास्थ्यमा हुन सक्ने सङ्क्रमण तथा जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले प्रभवाकारी शव व्यवस्थापनको कार्यलाई अगाडि बढाएको छ । संकलित शवहरूको संख्या बढ्दै गइरहेको र शवहरू सड्न सुरू भइसकेको कारण सङ्क्रमण तथा महामारी फैलिन सक्ने जोखिम औँल्याएका हुँदा सोही जोखिमलाई ध्यानमा राख्दै शवहरू थप बिग्रन नदिन र दुर्गन्ध नियन्त्रण गर्न प्रहरीले शव व्यवस्थापन प्रक्रियालाई तीव्र पारेको छ ।    चितवनमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पहिचान नभएका शवहरूको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइसकेको छ । अन्य जिल्लामा समेत सोही अनुरूप शव व्यवस्थापनको कार्यलाई अवलम्बन गरिएको छ । हालसम्म रसुवामा १३ जना, नुवाकोटमा ४१ जना, धादिङमा ४९ जना, चितवनमा २ सय ४८ जना, गोरखामा ५४ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ५८ जना र नवलपरासी पश्चिममा ७५ जनाको गरी जम्मा ६ सय ६९ जनाको शव फेला परेको छ । बेवारिसे तथा पहिचान नखुलेका शव व्यवस्थापनका लागि अवलम्बन गरिएको प्रक्रिया : १. विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा तथा सुरक्षा निकायबाट खोजतलास एवं उद्धार कार्य सञ्चालन गरी नदी किनार, खोल्सा तथा अन्य स्थानबाट फेला परेका शव तथा शवका अवशेषहरू आवश्यक सावधानीपूर्वक संकलन गरिएको ।२. शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानूनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा Dead Body Bag मा राखी अस्पतालको शव गृहमा सुरक्षित राखिएको ।३. Forensic Doctor को उपस्थितिमा शवलाई आवश्यकता अनुसार सफा गरी पहिचान खुल्न सक्ने गरी अगाडि, पछाडि, दायाँ, बायाँ तथा पहिचान जन्य अंग/चिन्हहरू देखिने विभिन्न कोणबाट फोटो खिची सुरक्षित राखिएको तथा आवश्यक Postmortem परीक्षण गरिएको ।४. Postmortem पश्‍चात शवहरूलाई शव पहिचानका लागि सुरक्षित रूपमा राखिएको तथा सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचान सम्बन्धी विवरणहरू प्रदर्शन गरिएको ।५. फोटो वा अन्य माध्यमबाट शव पहिचान भएको जानकारी प्राप्त भई नागरिकहरू Help Desk मा सम्पर्कमा आएमा उपलब्ध शवका थप फोटो, हुलिया, कपडा तथा घटनास्थल लासजाँच मुचुल्कामा उल्लेखित विवरणका आधारमा आवश्यक सनाखत तथा कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई शव बुझाउने गरिएको ।६. पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचानजन्य चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा भविष्यमा आवश्यक परेमा पहिचान गर्न सकिने गरी DNA नमूना संकलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको । ७. पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम जमिनमुनि व्यवस्थापन गर्नुपर्ने शवहरूको सम्बन्धमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार गरिएको ।८. निर्धारित स्थानमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा प्रत्येक शवको संकेत/कोड नम्बर जमिनमुनि तथा माथि राखी, शव व्यवस्थापन गरिएको स्थानको GPS Location, फोटो अभिलेख, नक्सा सहितको विस्तृत विवरण तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको ।९. जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, DNA नमूना, संकेत नम्बर, हुलिया, सनाखत सम्बन्धी विवरण, Postmortem Report, लासजाँच मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिने जसबाट भविष्यमा कुनै परिवार/आफन्तले आफ्नो सदस्यको रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानूनी प्रमाणका आधारमा पहिचान गर्न सहयोग पुग्नेछ ।१०. बेवारिसे तथा पहिचान नखुलेका शवहरूको विवरण नेपाल प्रहरीको अफिसियल बेवसाइट www.nepalpolice.gov.np को पहिचान नखुलेको शवहरूको विवरण आइकनबाट हेर्न सकिनेछ ।

बाढी प्रभावित क्षेत्रमा उद्दार तथा खोजीमा समन्वयको लागि थप प्रहरी टोली परिचालन
२०८३-०५-११

काठमाडौं, भोटेकोशीमा आएको बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ र चितवन लगायतका विभिन्न जिल्लाहरूमा प्रभावमा परेको अवस्थामा बाढी प्रभावित क्षेत्रमा आवश्यक उद्दार कार्य, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यको लागि प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा थप जनशक्ति परिचालन गरिएको छ ।  घाइतेको उद्दार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थिती सम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधन सहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली परिचालन गरिएको हो ।  जसमध्ये प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापालाई जिल्ला प्रहरी कार्यालय चितवन खटाइएको छ । प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीलाई मुग्लिङमा वेश रहने गरी तनहुँ, गोरखा, चितवन र गोरखा तथा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको कमाण्डमा ४ जनाको टोलीलाई गल्छीमा वेश रही धादिङ तथा नुवाकोटको सीमासम्म परिचालन गरिएको छ । यस्तै प्रहरी वरिष्ठ उपरीक्षक अजय केसीलाई नवलपरासी पूर्व र नवलपरासी पश्‍चिम, प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलको कमाण्डमा ४ जनाको टोलीलाई नुवाकोटमा वेश रहने गरी नुवाकोट जिल्लाभर तथा रसुवाको सीमासम्म परिचालन गरिएको छ । साथै प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा ४ जनाको टोली रसुवा जिल्ला लगायत विभिन्न स्थानमा भएको घटनाको क्रममा क्षतिग्रस्त भएका मुख्य राजमार्ग तथा प्रभावित सडकखण्डमा आवतजावत संचालनको लागि अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग आवश्यक समन्वय गर्न परिचालन गरिएको छ । 

विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्यामबाट सचेत रहन सबैमा आग्रह
२०८३-०५-११

काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट विभिन्न जिल्लाहरूमा ठूलो जनधनको क्षति भई प्रभावितहरूको उद्दार तथा राहत कार्य जारी रहेको छ । यस्तो संवेदनशील समयमा आम नागरिकस्तरबाट हुने सहयोगलाई अपचलन गर्ने तथा दुषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको दुरूपयोग गर्दै स्क्याम गर्न सक्ने  सम्भावनालाई दृष्टिगत गरी सबै आम नागरिकहरूलाई सचेत रहन नेपाल प्रहरी आग्रह गर्दछ ।“प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” वा “प्रधानमन्त्री राहत कोष” को नाम प्रयोग गरी व्यक्तिगत बैंक खाता वा ई-वालेटमा रकम माग्ने, आधिकारिक निकायको लोगो, नाम वा ढाँचा नक्कल गरी बनाइएका फर्जी क्यूआर कोड सामाजिक सञ्जालमा प्रसार गर्ने जस्ता स्क्यामका सम्भावित तरिकाहरू हुन सक्ने हुनाले त्यसप्रति सचेत रहन नेपाल प्रहरी विशेष आग्रह गर्दछ । यस्तै फेसबुक, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम, भाइबर लगायतका प्लेटफर्ममा फरक-फरक “राहत कोष” वा “सहयोग अभियान” का नाममा बनाइएका फर्जी पेज वा समूह सञ्चालन गर्ने, “राहत सहयोग दर्ता” का नाममा फोन कल मार्फत व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने, फिसिङ लिंक पठाई ओटीपी, पासवर्ड चोरी गर्ने, “म सुरक्षित छु, मलाई  पैसा पठाइदिनु” भनेर अपरिचित नम्बरबाट मेसेजहरू पठाई आर्थिक सहयोग माग गर्ने प्रति समेत सचेत रहन जरूरी छ । कुनै पनि सहयोग रकम पठाउनुअघि सम्बन्धित कोषको खाता विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) को आधिकारिक वेवसाइट वा प्रमाणित सामाजिक सञ्जाल पेज बाट मात्र पुष्टि गर्न, अपरिचित व्यक्ति वा पेजबाट आउने क्यूआर कोड, लिंक वा खाता नम्बरमा तत्काल विश्वास नगर्न, कसैले फोन वा म्यासेजमार्फत बैंक खाता नम्बर, कार्ड विवरण, पिन वा ओटीपी माग्यो भने साझा नगर्न एवम् अपरिचित व्यक्तिले सहयोग रकम माग गरेमा, पैसा पठाउनु अघि अनिवार्य रूपमा भिडियो कल गरेर वा प्रत्यक्ष फोन गरेर पुष्टि गर्न नेपाल प्रहरीले आम नागरिकहरूलाई विशेष अनुरोध गर्दछ ।कुनै पनि व्यक्ति वा समूहले विपद् राहतको नाममा स्क्याम गरेको वा गर्न खोजेको शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।