अवैध लागूऔषध सहित छ जना पक्राउ
२०७९-०४-०८
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१५ शान्तिनगर टोलस्थित सृजना खाजा घर एण्ड रेष्टुरेण्टकी संचालक ४७ वर्षीया हरि राना क्षेत्रीलाई ३ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट ७ वटा पुरियामा रहेको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुल छेउबाट करिब ६ ग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित कन्काई नगरपालिका-४ बस्ने ३२ वर्षीय सनम श्रेष्ठ र सोही ठाउँ बस्ने २५ वर्षीय सन्दिप कुमाललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ३ थान मोबाइल समेत बरामद गरेको छ ।
मकवानपुर, भिमफेदी गाउँपालिका-९ खादेगाउँ बस्ने खैबा झाक्री भन्ने ५४ वर्षीय सोनाम सिंह रूम्बाको घरबाट करिब १ सय ३१ किलोग्राम अवैध लागूऔषध गाँजा शनिबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी नामटारबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा ७ वटा बोरामा राखिएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भएपछि घरधनी रूम्बालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० बसपार्कस्थित झारफुक केन्द्रबाट पक्राउ गरेको छ ।
धनकुटा, धनकुटा नगरपालिका-९ थानी चोकबाट करिब ४ किलोग्राम अवैध लागूऔषध गाँजा सहित शहिदभूमि गाउँपालिका-५ बस्ने २१ वर्षीय मनोज परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रदेश १-०२-००१ ज ४०७७ नम्बरको बोलेरोलाई अस्थाई प्रहरी पोष्ट बेलहाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोलेरोको छतमा लुकाई ल्याउँदै गरेको उक्त गाँजा फेला पारी बोलेरो चालक परियारलाई पक्राउ गरेको हो ।
सुनसरी, ईनरुवा नगरपालिका-४ स्थित सडकबाट २ सय ८ किलोग्राम अवैध लागूऔषध गाँजा सहित धनकुटा शहिदभूमि गाउँपालिका-२ बस्ने २० वर्षीय तेज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । को.१ ख २९२६ नम्बरको अदुवा बोकेको मिनिट्रकलाई अस्थाई प्रहरी पोष्ट ईनरूवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ७ वटा बोरामा लुकाई ल्याएको उक्त गाँजा फेला पारी मिनिट्रकका चालक तेजलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।