छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित आठ जना पक्राउ
२०७९-१२-०४
- A
- A-
- A+
चितवन, राप्ती नगरपालिका-२ राईटोलबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित सोही ठाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
रुपन्देही, देवदह नगरपालिका-८ बंगाली डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका ४६ वर्षीय राज कुमार कुँवरलाई अवैध लागूऔषध गाँजा ४ केजी ५ सय ग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनको डेरा कोठाबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै देवदह नगरपालिका-७ हिलटोल बस्ने २४ वर्षीय विशाल दर्जीलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने ३२ वर्षीय प्रविण खनाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बिर्ता र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकरचार्य गेटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १४ मिलिग्राम, नियन्त्रित लागूऔषध नुर्फिन २ एम्पुल, डाइजेपाम २ एम्पुल, फेनारगन २ एम्पुल र नाइट्राभेट १५ ट्याब्लेटसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१ मुसहर्नीमाई टोल बस्ने २८ वर्षीय बिशाल आले मगर र तनहुँ व्यास नगरपालिका-१२ देउराली बस्ने ३५ वर्षीय लाल बहादुर गुरुङ रहेका छन् । वडा प्रहरी कार्यालय बिर्ताबाट र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट संयुक्त रूपमा खटिएको प्रहरीले ना.४४ प ४३११ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकला सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-७ हल्दुखालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय रोहित महरलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन करिब १ ग्राम ७० मिलिग्रामसहित बर्दिया मधुवन गाउँपालिका-६ बस्ने २१ वर्षीय अर्जुन खत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बर्दियादेखि काठमाडौंतर्फ आउँदै गरेको भे.१ ख ३५३१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।