प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाईनमार्फत ठगी गरेको अभियोगमा नौ जना पक्राउ

२०८०-०८-०७

  • A
  • A-
  • A+
Share

कैलाली, अनलाईनमार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् । 

धनगढी उपमहानरपालिका-५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनार समेतले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थानसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८१-१२-२२

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा गरी बस्ने सिराहा धनगढी नगरपालिका-७ गोलबजार घर भएका २७ वर्षीय राम बिहारी साफीलाई बुधबार प्रहरीले पक्राउ गरेको  छ । प्रेम सम्बन्धमा रहँदाका अन्तरङ्गसँग सम्बन्धित तस्विर/भिडियो सम्बन्ध बिग्रिए पश्चात सामाजिक सञ्जालमा पोष्ट गरिदिने र पीडितका आफन्तलाई पठाइदिने भनि धम्काउने, दुख हैरानी दिएको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ
२०८१-१०-०५

काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । अभिनाशले पीडित युवतीसँग फेसबुकमा साथी बनी प्रेम सम्बन्ध भएको र सम्बन्ध बिग्रिए पश्चात् पीडितको अनुहारमा नग्न महिलाको तस्विर जोडी अपशब्द लेखि गालीगलौज गरी पीडितको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गर्ने तीन जना पक्राउ
२०८१-०८-२२

  काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा ३ जनालाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट चन्द्रपुर नगरपालिका जुडीवेला घर भएका ३९ वर्षीय कृष्ण प्रसाद अधिकारी भन्ने बिहानी बहादुर अधिकारी, चितवन भरतपुर महानगरपालिका-१२ घर भएका ३७ वर्षीय रूपक शर्मा पौडेल र सप्तरी बोदेबरसाइन नगरपालिका-६ फुल्काई घर भएका २४ वर्षीय लक्ष्मण यादव भन्ने जगदिश प्रसाद यादव रहेका छन् । पक्राउ मध्ये कृष्ण प्रसाद भन्ने बिहानी बहादुरले फेसबुकमा साथी बनी कुराकानीको क्रममा आदान प्रदान गरिएका गोप्य तस्विरहरू रेकर्ड गरी राखेर पीडितका आफन्त तथा साथीहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दुःख हैरानी दिएको र रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदान प्रदान गरिएका गोप्य तस्विरहरू पीडकले अश्लिल शब्दहरू लेखी पीडितको सम्पर्क नम्बर सहित ह्वाट्स एप ग्रुपमा सेयर गरी दुःख हैरानी दिएको खुल्न आएको छ । यसैगरी लक्ष्मण यादव भन्ने जगदिश प्रसादले फेसबुक मार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्विर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीहरूका म्यासेन्जरमा पठाई चरित्र हत्या गरी दु:ख हैरानी दिएको घटनामा साइबर ब्यूरोमा मुद्दा दर्ता भई फरार रहेका उनलाई वैदेशिक रोजागरीको क्रममा कतारमा रही नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । कृष्ण प्रसाद भन्ने बिहानी बहादुर र रूपक शर्मा उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदिश प्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौंमा पेश गरिने साइबर ब्यूरोले जनाएको छ ।

सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी पक्राउ
२०८१-०६-१६

काठमाडौं, सामाजिक सञ्जाल मार्फत महिलाको चरित्र हत्या गर्ने फरार प्रतिवादी सुर्खेत गुर्भाकोट नगरपालिका-५ घर भएका २९ वर्षीय खगेन्द्र यरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा साथी बनी कुराकानीका क्रममा म्यासेञ्जर मार्फत गोप्य तस्विर साटासाट भएको र सामाजिक सञ्जालमा फेक आईडी बनाई उक्त आईडी मार्फत आफन्त तथा साथीलाई ती गोप्य तस्विरहरू पठाई चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा साईबर ब्यूरोबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरसँगको समन्वयमा उनलाई वैदेशिक रोजगारीबाट नेपाल फर्कने क्रममा पक्राउ गरेको हो ।  वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा खगेन्द्रले महिलाको चरित्र हत्या गरेको खुल्न आएको र उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा २०७९ वैशाख २३ गते साईबर ब्यूरोमा मुद्दा दर्ता भई फरारको सूचिमा रहेको तथा उनलाई इन्टरपोलद्वारा रेड नोटिस समेत जारी भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२८

काठमाडौं, सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान/श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो । उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२६

काठमाडौं, सामाजिक सञ्जाल फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्‍लिल तस्विरमा अनुहार जोडी अश्‍लिल गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा  प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।