प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ठगी गरेको अभियोगमा लाली गुँरास सहकारी संस्थाका अध्यक्ष समेत ४ जना पक्राउ

२०८१-०३-१६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित लाली गुँरास सहकारी संस्थामा रहेको बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको अभियोगमा संस्थाका अध्यक्ष समेत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष काठमाडौं महानगरपालिका-१३ घर भई सोही महानरपालिका-४ चुनदेवी बस्ने ७६ वर्षीय अमरदास श्रेष्ठ, संस्थाका सचिव एवम् प्रमुख कार्यकारी अधिकृत गोरखा सिरानचोक गाउँपालिका-२ घर भई ललितपुर भैंसेपाटी बस्ने ४६ वर्षीय सुरेन्द्र भण्डारी, संस्थाका कोषाध्यक्ष काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ७५ वर्षीय अमृत कुमार अर्याल र संस्थाका सदस्य ललितपुर महानगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-६ चावहिल बस्ने ६१ वर्षीया कदमबाबा जोशी प्रधान रहेका छन् ।  

उनीहरूले आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न मिल्ने भनि विश्वास दिलाई संचालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुग्ने गरी बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उक्त सहकारीमा २२ हजार बचतकर्तारूको करिब ६ अर्ब ३० करोड निक्षेप रहेको खुल्न आएको छ ।

प्रहरी परिसर ललितपुरमा २०८० चैत १ गते ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भई फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभनवबाट खटिएको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।


सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा क्रोएशिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०४-०७

काठमाडौं, वैदेशिक रोजगारमा क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियगाम ललितपुर महानगरपालिका-२ सानेपा बस्ने रौतहट माधवनारायण नगरपालिका-३ घर भएका २७ वर्षीय चन्दन कुमार जैसवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया पठाइदिन्छु भनी ४ जना पीडितहरूबाट ५ लाख ८४ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएका जैसवाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१२ पचली भैरवबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ
२०८१-०४-०५

कास्की, पोखरा महानगरपालिका-१ जौबारीबाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२२ पुम्दीकोट बस्ने ४० वर्षीय खेम बहादुर परियार र माछापुच्छ्रे गाउँपालिका-६ धिताल बस्ने ४० वर्षीय मन बहादुर तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले हेम्जाबाट पोखरातर्फ आउँदै गरेको ग.१६ प ४०११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा डिक्की भित्र राखेको उक्त नगद फेला पारी स्कुटरमा सवार दुवै जनालाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
२०८१-०४-०५

सोलुखुम्बु, थुलुङ दुधकोशी गाउँपालिका-१ नेले बस्ने आफ्नै भिनाजु ६० वर्षीय सुरेश बस्नेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही गाउँपालिका-२ देविस्थान बस्ने ४५ वर्षीय पूर्ण बहादुर बस्नेतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पूर्ण बहादुरले आफ्नै घरमा पाहुना आएका सुरेशलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, प्रहरी चौकी नेले समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्टहाउस सञ्चालकहरू पक्राउ
२०८१-०४-०४

काठमाडौं, नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्टहाउस सञ्चालकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ ठेगाना भएका ३२ वर्षीय नविन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का रहेका छन् । उक्त गेष्टहाउस बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले गेष्टहाउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ । आर्थिक प्रलोभनमा पारी ललाई फकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रति ब्यक्ति ५ सय रूपैयाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिई प्रति ग्राहक ४/५ हजार रूपैयाँ सम्म लिने गरेको तथा शारीरिक सम्पर्क राखेको कुरा आफन्त लगायत साथीहरूलाई भनिदिने भनि डर त्रासमा पारी बेश्याबृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।