नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पाँच जना पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
काठमाडौं, नक्कली सुनको मूर्ति देखाई ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंको विभिन्न स्थानहरूबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं कमलपोखरी बस्ने भारत उडिशा राज्य केन्द्रवडा घर भएका ४० वर्षीय कलाकार दास, ललितपुर धोवीघाट बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-७ घर भएका ६४ वर्षीय क्षेत्र बहादुर शाही, काठमाडौं डल्लु बस्ने धादिङ निलकण्ठ नगरपालिका-२ घर भएका ३८ वर्षीय दिपक थापा, काठमाडौं लाजिम्पाट बस्ने दाङ घर भएका ३५ वर्षीय बसन्त चौधरी र काठमाडौं महानगरपालिका-१५ चौमती बस्ने ५५ वर्षीय रविन महर्जन रहेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका-७ विष्ट गाउँ घर भएका ३१ वर्षीय पुरूषलाई कलाकार दासले नक्कली सुनको मूर्ति देखाई उक्त रकम ठगी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग काँडाघारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नक्कली सुनको बुद्धको मूर्ति १ थान र नगद १४ लाख रूपैयाँ प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।