वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०५-१३
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-७ घर भई काठमाडौं माकलबारी बस्ने ४२ वर्षीय शशी लामा, कास्की माछापुच्छ्रे गाउँपालिका-६ घर भई काठमाडौं रानीबारी बस्ने ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली कमलामाई नगरपालिका-७ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने २५ वर्षीय गणेश बहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउमध्ये शशीले १ जना पीडितबाट ३ लाख ६५ हजार रूपैयाँ, रोशनीले १ जना पीडितबाट १ लाख २ हजार रूपैयाँ र गणेशले १ जना पीडितबाट २ लाख १० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शशीलाई काठमाडौं सितापाइलाबाट, रोशनीलाई काठमाडौं सरकारी धाराबाट र गणेशलाई ललितपुर झम्सीखेलबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।