प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली नोट सहित दुई जना पक्राउ

२०८१-०८-११

  • A
  • A-
  • A+
Share

सुनसरी, कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नेपाली एक हजार दरका ४ थान नक्कली नोट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ वर्षीय रामनाथ राय र मोरङ सुन्दरहरैंचाका २० वर्षीय सन्देश उराव रहेका छन् । लौकही बजारस्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी एक हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको शंका लागि पसल धनीले तत्काल प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको दुई वटा पसलबाट १/१ थान गरी उक्त एक हजार दरको नक्कली नेपाली नोट बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
कीर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ
२०८२-०२-०१

काठमाडौं, विभिन्न सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-१ घर भएका ४६ वर्षीय अन्जनी बयलकोटी, बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-७ घर भएका २८ वर्षीय निर्मल खड्का र चन्द्रागिरी नगरपालिका-१ दहचोक बस्ने मकवानपुर कैलाश गाउँपालिका-२ छ्याङ्ढुङ् घर भएकी २३ वर्षीया अन्जु खत्री रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई तारकेश्वर नगरपालिका-७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजातहरू तथा उक्त कार्यसँग सम्बन्धित सामाग्री सहित पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा अन्जनीले विगत ८ वर्षदेखि सरकारी तथा गैर सरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरू, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको खुल्न आएको छ । उनले तारकेश्वर नगरपालिका-७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजातहरू इडिट तथा डिजाइन गर्नका लागि दुई जना सहयोगीलाई मासिक तलब दिई कार्यालय संचालन गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

मानव बेचबिखनमा संलग्न तीन जना पक्राउ
२०८२-०१-३०

कास्की, ३१ वैशाख, मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित मनिका रेष्टुरेण्ट संचालन गरी बस्ने मकवानपुर बकैया गाउँपालिका-४ घर भएका ४० वर्षीय पदम लुङ्बा, पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनहुँ व्यास नगरपालिका- ५ साँगे बस्ने २१ वर्षीय सलन गुरूङ रहेका छन् । मनिका रेष्टुरेण्टमा अवैध रूपमा यौनजन्य क्रियाकलापहरू भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले उक्त रेष्टुरेण्टबाट ५ जना महिलाहरूलाई उद्धार समेत गरेको छ । उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगार ठगी सन्बन्धी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८२-०१-३०

काठमाडौं, ३१ वैशाख वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाका तीन जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ लोकन्थली बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका-३ घर भएका ३० वर्षीय राहुल पुन्ज, ललितपुर गोदावरी नगरपालिका-३ बस्ने गुल्मी धुर्कोट गाउँपालिका-१ नयाँगाउँ घर भएका ३९ वर्षीय प्रकाश घर्तीमगर र वीरगंज महानगरपालिका-२४ बस्ने ६८ वर्षीय सिताराम प्रसाद कुर्मी रहेका छन् । वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा संलग्न रही फरार रहेका उनीहरूमध्ये राहुल र प्रकाशलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं तीनकुने र काठमाडौं कलंकीबाट मंगलबार पक्राउ गरेको हो ।  यसैगरी सितारामलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै घर वतनबाट बुधबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ