प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा स्याङ्जा बिरूवा गाउँपालिका-६ घर भई काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने २६ वर्षीय सुन्दर केसी र बाग्लुङ निसीखोला गाउँपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने ५१ वर्षीय किरण घर्ती रहेका छन् । 

पक्राउ मध्ये सुन्दरले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ७० हजार रूपैयाँ र किरणले सर्बिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुन्दरलाई काठमाडौं महानगरपालिका-२२ बाट मंगलबार तथा किरणलाई काठमाडौं महानगरपालिका-३ बाट बुधबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको    छ । 

सम्बन्धित समाचार
ठगी सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२४

काठमाडौं, ठगी सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा रौतहट फतुवा हर्साह-९ घर भएका ४२ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौंमा नक्कली भुटानी शरणार्थी सम्बन्धी दर्ता भएको ठगी, लिखत कीर्ते, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसूरको अनुसन्धानको क्रममा ठगी कसूरमा संकलन भएको नगद तथा चेक मार्फतको रकम जम्मा गर्ने, ओसारपसार गर्ने, गैरकानुनी रूपमा ठगी तथा कागजात कीर्ते गरी पीडितहरूबाट असुल गरी प्राप्त भएको रकम लिने गिरोहहरूसँग मिलेमतो गरी ठगी, कीर्ते र संगठित अपराधमा संलग्न रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ
२०८२-०७-२२

काठमाडौं, ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्ग काठमाडौंका तत्कालीन सहसचिव पदमा कार्यरत चितवन भरतपुर महानगरपालिका-१५ बस्ने ६६ वर्षीय लेख बहादुर कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल ट्रष्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित रहेको जग्गा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिने/लिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नम्बर ४६०६ को जग्गा भन्दा बढी अर्को कित्ता नम्बर ४६०५ समेत थप गरी लिजमा दिने/लिने सम्झौता संचालक समितिको निर्णय र आधार विना वदनियत पूर्वक भएको खुल्न आएको छ । साथै नेपाल ट्रष्टको नाममा ‍रहेको जग्गा BOT Model को निमित्त निर्माण अवधि ३ वर्ष समेत ३० वर्षको लागि लिजमा दिने/ लिने सम्झौता गरी नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानी नोक्सानी हुने गरी २०७४ जेठ १४ गते करार सम्झौता गरेको, लिजमा लिने लाभ ग्राहीले सहयोग गर्ने अधिकारी सम्बद्ध रहेको विभिन्न ओहदा र पदमा रहेका व्यक्तिहरूले गैर कानूनी तवरले लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको एवम् उक्त कार्यबाट नेपाल ट्रष्ट मार्फत नेपाल राष्ट्रलाई नै ठूलो हानी नोक्सानी पुर्‍याई विभिन्न पद तथा ओहदामा रहेका व्यक्ति, सरकारी कर्मचारी तथा अन्य व्यक्ति, सहयोगी तथा मतियार समेतले लाभ लिएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८२-०७-२१

काठमाडौं, ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पर्वत साविक बेउलीबास गाविस-३ ठेगाना भएका रेशम बहादुर राना पक्राउ परेका छन् । एनसिबि अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ । रेशम बहादुर राना समेत भएको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतको २०६९ माघ १५ गतेको फैसलाले जन्म कैद (२० वर्ष) सजाय ठहर भई वारदात पश्चात फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ जेठ १९ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

स्लोभिकिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०७-२१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने सर्लाही बागमती नगरपालिका-१ घर भएका ४४ वर्षीया साबित्रा हुमागाईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।हुमागाईले स्लोभाकिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

विभिन्न हतियार सहित एक जना पक्राउ
२०८२-०७-२०

काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु लोकतान्त्रिक चोक डेरा गरी बस्ने कैलाली टीकापुर नगरपालिका-१ घर भएका २३ वर्षीय शिवराज धमलालाई विभिन्न हतियार सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा उक्त स्थानमा खटिएको प्रहरीले शिवराजको कोठा तलासी गर्दा ईन्सास राईफल १ थान, सर्टगन १ थान, ठुलो चाईनिज पेस्तोल १ थान, एसएलआर राईफलको ब्ल्याङ्क राउण्ड २ सय ५ थान, ईन्सास राईफलको म्याग्जिन १६ थान र  ठुलो चाईनिज पेस्तोलको म्याग्जिन २ थान फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।