प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजश्व छली गरिएका विद्युतीय उपकरण सहित चिनियाँ नागरिक पक्राउ

२०८२-०३-३२

  • A
  • A-
  • A+
Share

काठमाडौं, राजश्व छली गरिएका अवैध विद्युतीय उपकरण सहित चिनियाँ नागरिक काठमाडौं महानगरपालिका-३२ पुरानो सिनामंगल बस्ने ३८ वर्षीय YU WANG लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं पुरानो सिनामंगल एरियामा चिनियाँ नागरिक समेतका व्यक्तिहरूले अवैध रूपमा विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा लगायत बिल बिजक नभएका राजस्व छली गरिएका सामान तथा पाटपूर्जा ल्याई भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं सिनामंगल पन्चमुखी चोकबाट पक्राउ गरेको हो ।

 साथै प्रहरीले उनको साथबाट बिना बिल बिजक राजस्व छली गरिएका २ करोड १९ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको विभिन्न कम्पनीका ल्यापटपका पाटपुर्जा तथा ब्याट्री, सिसि क्यामेरा, एचडी क्यामेरा लगायतका सामन समेत बरामद गरेको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय हरिहरभवन ललितपुर पठाइएको छ । 

सम्बन्धित समाचार
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-१७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाल्पा रैनादेवी छहरा गाउँपालिका-६ घर भएका ४५ वर्षीय हिमहरी अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।  हिमहरीले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

विद्युतीय कारोबार अन्तर्गत कसुर गरेको अभियोगमा पक्राउ
२०८३-०१-१७

काठमाडौं, e-Government Procurement System मा अनधिकृत पहुँच पुर्‍याई ठेक्काका विवरण हेरफेर गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको अभियोगमा आशिष निर्माण सेवा प्रालिका संचालक काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने चितवन रत्ननगर नगरपालिका-१२ ठेगाना भएका ७० वर्षीय ऋषि केश गौलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ पुरानो वानेश्वरबाट पक्राउ गरेको   हो । प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि केशले सार्वजनिक खरिद अनुगमन कार्यालयको e-GP (e-Government Procurement) प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई ठेक्काहरूको विवरण हेरफेर (ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु भन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन) गरेको खुल्न आएको छ ।  उनी उपर संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ । साथै उक्त मुद्दामा हालसम्म १० जना निर्माण व्यवसायीहरु समेत गरी जम्मा १३ जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१७

काठमाडौं, जबरजस्ती करणी तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दाका फरार प्रतिवादी बाग्लुङ गल्कोट नगरपालिका-९ मल्म घर भई नवलपरासी पुर्व गैंडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने ३१ वर्षीय संजय विकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  २०८० मंसिर ५ गते तनहुँ भिमाद घर भई कास्की पोखरा महानगरपालिका-८ नागढु‌ङ्गा बस्ने ३९ वर्षीया सुकु विकलाई पोखराको होटलमा लगि जबरजस्ती करणी गरी हत्या गरी फरार भएको घटनामा विकलाई प्रहरीले २०८१ साउन १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत कास्कीबाट २०८२ जेठ २६ गते उक्त मुद्दामा जन्म कैदको फैसला भई कारागारमा चलान भएकोमा २०८२ भाद्र २४ गतेको आन्दोलनमा जिल्ला कारागार कास्कीबाट भागी फरार रहेको उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो । साथै २०८२ चैत २२ गते नवलपरासी पूर्व देवचुली नगरपालिका-१६ टाँडीकोट बस्ने ७५ वर्षीय जिवनराम थनेत र ७० वर्षीया गुलाबसिनिया थनेतलाई घरेलु हतियारले प्रहार गरी गम्भीर घाइते बनाई उनीहरूको साथबाट सुनका गरगहना लगायतका धनमाल लुटपाट भएको र घाइते मध्ये जिवनरामको उपचारको क्रममा मृत्यु भएको घटनामा समेत संजयको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८३-०१-१६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने दैलेख नौमुले गाउँपालिका-८ घर भएका २९ वर्षीया ज्वाला कुमारी चन्द, कास्की पोखरा महानगरपालिका-१२ घर भएका ३९ वर्षीया भीम कुमारी गुरूङ र काठमाडौं टोखा नगरपालिका-८ बस्ने गोरखा सिरानचोक गाउँपालिका-६ घर भएका ३७ वर्षीय भगवानराज मल्ल ठकुरी रहेका छन् ।पक्राउ मध्ये ज्वालाले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३४ हजार रूपैयाँ, भीम कुमारीले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र भगवानराजले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालालाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार, भीम कुमारीलाई काठमाडौं महानगरपालिका-२६ बाट र भगवानराजलाई काठमाडौं महानगरपालिका-१२ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-१६

काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ अर्यालगाउँ बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका १८ वर्षीय सागर पाण्डेको २०७३ भदौ ७ गते खुकुरी प्रहार गरी हत्या भएको घटनामा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं महानगरपालिका-१३ बल्खुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।