प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

गृहसचिव रामेश्वर दंगालद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन

२०८२-०६-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहसचिव रामेश्वर दंगालले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । 
गृहसचिव दंगाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्ग, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहसचिव दंगालले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । मुलुकमा देखा पर्ने जस्तोसुकै जटिल परिस्थितीको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 
गृहसचिव दंगालले गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा क्षति भएका प्रहरीका संरचनाहरू तथा विस्थापित भएका प्रहरीहरूलाई पुनर्स्थापित गर्ने कार्यमा आम नागरिक समुदायबाट स्वस्फूर्त रूपमा भएका सहयोगहरू सराहनीय रहेको र यसले नेपाल प्रहरी प्रति जनताको आशा एवम् भरोसा उजागर गरेको उल्लेख गर्दै प्रहरीले समाजमा शान्ति सुरक्षा कायम गर्न अझ व्यावसायिक भई नागरिक सेवामा कटिबद्ध हुनुपर्ने बताउनुभयो । नजिकिँदै गरेको चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गरी प्रहरी परिचालन गर्नुका साथै आसन्न निर्वाचनलाई लक्षित गरी आन्तरिक सुरक्षाका साथै सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी संगठनको समयानुकुल संस्थागत विकास, सुदृढीकरण र प्रविधिमैत्री बनाउँदै लैजाने कार्यमा गृहमन्त्रालय सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन व्यक्त गर्दै प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले देशको संविधान र ऐन कानुनले तोकेको अधिकार क्षेत्र, मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको परिधिभित्र रहँदै नेपाल प्रहरी नागरिक सेवा र सुरक्षामा सदैव निष्ठापूर्वक समर्पित रहँदै आएको बताउनुभयो । गृहसचिवज्यूबाट व्यक्त भएका समयसापेक्ष र व्यावसायिक निर्देशनलाई नेपाल प्रहरीका सकल दर्जाले हृदयंगम गरी कार्यक्षेत्रमा लागु गर्ने उहाँले बताउनुभयो । प्रहरीको क्षमतामा राज्यको प्रभावकारिता प्रतिबिम्बित हुने वास्तविकतालाई मनन गर्दै संगठन र यसमा आबद्ध जनशक्तिको क्षमता, दक्षता एवम् मनोबल अभिवृद्धिसँगै स्रोत साधनको उपलब्धतामा गृहसचिवज्यूबाट निरन्तर पहल हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीका कर्मठ सदस्यहरूले देशले बेहोरेको कठिन परिस्थितिहरूमा विचलित नभई राज्यप्रतिको जिम्मेवारी पूरा गरेको र भविष्यमा पनि अझ समर्पण भावका साथ दायित्व निर्वाह गरिरहने  बताउनुभयो । हालको परिस्थिति र आगामी दिनहरूमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरू र असहज परिस्थितिहरूको सामना गर्न, आम नागरिकलाई शान्ति सुरक्षा, अमन चयनको प्रत्याभूति दिलाउन र आफ्नो निस्वार्थ सेवामार्फत नागरिक भरोसाको केन्द्रबिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । 
प्रहरी महानिरीक्षक खापुङ्गले अपराध अनुसन्धानलाई प्रमाणमूखी र वैज्ञानिक बनाई न्यायिक प्रकृयामा निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्यसम्पादन गर्न नेपाल प्रहरी योजनाबद्ध ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै हाल चुनौतीका रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, मानव बेचबिखन, साइबर एवम् विद्युतीय अपराधहरू, अवैध हातहतियारका ओसारपसार र आर्थिक अपराधमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी कटिबद्ध रहेको बताउनुभयो ।
निरीक्षण भ्रमणको क्रममा गृहसचिव रामेश्वर दंगाल समक्ष प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना एवम् विकासक्रम, प्रहरी जनशक्ति, प्रहरीको इकाईगत सङ्ख्या, नेपाल प्रहरीको भौतिक संरचनाहरू, सख्यात्मक विवरण तथा हालको अवस्था, अस्थायी पोष्टमा कार्यरत र नयाँ स्थापना तथा स्तरवृद्धिको लागि माग भएका इकाईहरू, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी मनोबल, प्रहरी कारबाही तथा परिचालनमा देखिएका चुनौती र समस्याहरू, आगामी कार्यदिशा र अपेक्षा लगायतका विषयमा नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण गर्नुभएको थियो । 
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू तथा मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
Digital Action Dialogue परिसंवाद कार्यक्रम सम्पन्न
२०८३-०३-१९

काठमाडौं, समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘अपराध अनुसन्धानमा डिजिटल प्रविधिको प्रयोग’ लाई प्रभावकारिता प्रदान गर्ने उद्देश्यले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित Digital Action Dialogue,2026 परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस संवाद नेपालमा सुरक्षित, विश्वसनीय र उत्तरदायी डिजिटल वातावरण निर्माण गर्ने दिशामा कोसेढुङ्गो सावित हुनेछ र कार्यक्रमबाट ठोस व्यावहारिक तथा कार्यान्वयन योग्य निष्कर्षहरूले नेपालको साइबर सेक्युरिटी इकोसिस्टम तथा नेपाल प्रहरीको डिजिटल इन्भेस्टिगेसन क्षमतालाई अझ प्रभावकारी, उत्तरदायी  र प्रमाणमुखी बनाउनलाई महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नागरिकको विश्वास नै प्रहरी संगठनको सबैभन्दा ठूलो पूँजी रहेको चर्चा गर्दै डिजिटल युगमा नागरिकको विश्वास कायम राख्न प्रविधिमैत्री, पारदर्शी, जवाफदेही र नागरिकमैत्री सेवा प्रवाहलाई प्रहरीले निरन्तर परिष्कृत गर्दै लगिरहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कार्कीले साइबर अपराध विरूद्धको लडाई कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव नहुने, बैंकिङ तथा भुक्तानी प्रणालीको तथ्याङ्क समयमै प्राप्त नहुँदा शंकास्पद कारोबार तत्काल रोक्का हुन नसक्दा र भरपर्दो एवम् छरितो सूचनाको आदान प्रदानको अभावमा अपेक्षित परिणाम हासिल गर्न नसकिने उल्लेख गर्दै वित्तीय संस्था तथा भुक्तानी सेवासँग समयमै तथ्याङ्क आदान प्रदान, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकसँग समन्वय एवम् नियामक निकायहरूसँग हुने नीतिगत समन्वयको सुदृढ खाका निर्माण नै आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । साइबर सुरक्षा विज्ञ, अनुसन्धानकर्ता र प्राज्ञिक क्षेत्रसँगको सहकार्यले विश्वव्यापी असल अभ्यास र थ्रेट इन्टेलिजेन्समा पहुँच दिलाउने समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कार्कीले सार्वजनिक-निजी साझेदारी नै सुरक्षित डिजिटल नेपालको आधारशिला भएको चर्चा गर्दै आजको छलफल समस्याको वर्णनमा सीमित नभई व्यावसायिक, व्यावहारिक, समाधान, अनुसन्धानको आधुनिकीकरण, क्षमताको अभिवृद्धि, कानुनी तथा नीतिगत सुधारका सम्भावित दिशाहरू र सार्वजनिक-निजी सहकार्यलाई थप सुदृढ बनाउने बताउनुभयो । छलफलका निष्कर्षहरूले चुनौतीहरूको पहिचान गर्नुका साथसाथै अल्पकालीन, मध्यकालीन एवम् दीर्घकालीन प्राथमिकता सहितको कार्ययोजना, सरोकारवालाहरूको प्रतिबद्धता र संस्थागत समन्वय संयन्त्रको स्पष्ट मार्गचित्र प्रस्तुत गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै यस दस्तावेज औपचारिकतामा मात्र सीमित नभई हामी सबैले अपनत्व गर्ने, कार्यान्वयन गर्ने साझा प्रतिबद्धताको दस्तावेज हुनेछ र नेपाल प्रहरी आफ्नो तर्फबाट आवश्यक संरचनागत, प्रविधिगत र व्यवस्थापकीय सुधारका लागि सदैव तत्पर एवम् प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले धन्यवाद सहित समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै परिसंवादको उद्देश्य बारे जानकारी दिनुभएको थियो ।   कार्यक्रममा राष्ट्रिय साइबर सुरक्षा केन्द्रका निर्देशक राज कुमार महर्जनले National Cyber policy, Opportunities and Limitations सम्बन्धी, Cryptogen Nepal प्रालिका Chief Technology Officer निर्मल दाहालले Private Sector Perspectives Towards Emerging Cyber Threats सम्बन्धी, साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक उमेश प्रसाद साहले साइबर अपराधको वर्तमान अवस्था, देखिएको चुनौतीहरू तथा नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव उपरीक्षक जित नारायण यादवले Strengthening Enterprise Cyber Resillence सम्बन्धी आ-आफनो प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा अनलाइन ठगी बढ्नुको कारण अनुसन्धानमा प्रहरीले भोगेका चुनौतीहरू, अनुसन्धान सहज गर्न आवश्यक अप्रेश्‍नल डेटा लगायत कानुनी र नीतिगत उपाय तथा समाधानका सम्बन्ध लगायतका विषयमा वृहत्त छलफल समेत भएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, केन्द्रीय प्रहरी प्रवक्ता लगायत प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल सरकारका विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधिहरू, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, भुक्तानी सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, डाटा सेन्टर सेवा प्रदायकका प्रतिनिधिहरू, साइबर सुरक्षा विज्ञहरू, विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू एवम् मातहत मुद्दा चल्ने प्रहरी इकाईहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  बढ्दो साइबर अपराध, अनलाइन ठगी, प्रविधिको दुरूपयोगबाट भइरहेको विभिन्न आपराधिक क्रियाकलापहरूको पहिचान र रोकथामको लागि नेपाल प्रहरी लगायत अन्य सरोकारवाला निकायहरूको समेत साथ र सहयोग आवश्यकता रहेको सन्दर्भमा समुदाय-प्रहरी साझेदारी अवधारणालाई आत्मसात् गर्दै कानुन कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू, अनलाइन सेवा प्रदायकहरू, बैंकिङ तथा वित्तीय संस्था लगायत अनलाइन पेमेन्ट सेवा प्रदायकहरू, सञ्चार सेवा प्रदायकहरू बिच राम्रो समन्वय र प्रगाढ सम्बन्ध बनाउनु र व्यावहारिक समाधानहरू पहिचान गर्नुका साथै प्रविधिजन्य अपराध नियन्त्रण तथा अनुसन्धानको लागि क्षमता अभिवृद्धि गर्नु यस कार्यक्रमको उद्देश्य रहेको छ । 

आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न
२०८३-०३-१०

काठमाडौं, “लागूऔषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवस 26 June 2026” को अवसरमा आसरा सुधार केन्द्र रानीबारीमा आयोजित आन्तरिक खेलकुद प्रतियोगिता समापन कार्यक्रम सम्पन्न भएको छ ।आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती नबिना खत्री कार्कीले केन्द्रमा बुधबार आयोजित कार्यक्रममा खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबल, क्यारिम बोर्ड, बुसे, क्रिकेट, संगीत, नृत्य, लेख रचना, टेबल टेनिस र चेसतर्फ विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा केन्द्रकी अध्यक्ष कार्कीले केन्द्रमा उपचाररत सदस्यहरू बीच आपसी भाइचारा तथा सदभाव कायम गरी मनोबल उच्च राख्न स्वस्थ प्रतिस्पर्धा गराई संचालन गरिएको आन्तरिक खेलकुद प्रतियोगितामा आफ्नो प्रतिभा देखाई विजयी भएका उपचाररत सदस्य खेलाडीहरूलाई बधाई दिनुभयो । केन्द्रकी अध्यक्ष कार्कीले ‘लागूऔषधको चुनौती चिनौं: सामाजिक समाधानको बाटो खोजौं’ भन्ने राष्ट्रिय नारालाई नारामा मात्र सीमित नराखी व्यवहारमा लागू गर्नुपर्ने आवश्कता रहेको बताउनुभयो । साथै यस केन्द्रमा उपचाररत सदस्यहरूले केन्द्रको बसाईको क्रममा प्राप्त गरेका असल शिक्षा र ज्ञानलाई आत्मसात गरी आफ्नो श्रीवृद्धिमा खर्चिनु पर्नेमा उहाँले जोड दिनुभयो ।केन्द्रकी सचिव श्रीमती रोजी तुलाधर अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रमा उपचाररत सदस्यहरूद्वारा गीत संगीत, नृत्य एवम् कविता वाचन लगायत विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, केन्द्रका पदाधिकारीहरू, परामर्शदाताहरू, प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान
२०८३-०३-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम १७ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । तालिम समापनको अवसरमा सोही महाशाखामा मंगलबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवालले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिलवालले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २८  गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८३-०३-०४

काठमाडौं, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३९ औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा बिहीबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले विपद् उद्दारकर्मीको रूपमा खटिँदा संवेदनशील, साहसी र अग्रसर भई आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उल्लेख गर्नुभयो ।कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै वैशाख ३ गतेदेखि संचालित ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान शुभारम्भ
२०८३-०२-१०

मोरङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा आइतबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान (Mega Campaign Against  Narcotics-Mega CAN ) २०८३ कार्यक्रम शुभारम्भ भएको छ । मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गर्नुभएको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरूद्धको सचेतनामुलक प्लेकार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी र्‍याली जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सहसचिव एवम् लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे, एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध विरूद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरूवात गरेको यस महाअभियान लागूऔषध विरूद्ध सक्रिय हुँदै देशव्यापीरूपमा अघि बढ्न सफल हुने बताउनुभयो । समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागूऔषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उहाँले बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागूऔषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा कोशी अस्पतालकी डा.अजिता पौडेलले लागूऔषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गर्नुभएको थियो । कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागूऔषध विरूद्ध सचेतनामुलक सांगीतिक प्रस्तुतिहरूका साथै लागूऔषध दुर्व्यसन र प्रभाव सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेशका प्रमुख सचिव, जिल्लास्थित नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरू, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका  न्यायाधीशहरू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरू, बैंक, वित्तीय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज, बुद्दिजिवी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

१० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान
२०८३-०१-३०

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका १० जना नगर प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । तालिम समापनको अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले प्रशिक्षार्थी तथा प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले तालिमबाट प्राप्त व्यावसायिक ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।