अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८३-०१-०५
- A
- A-
- A+
बाँके, नेपालगंज उपमहानगरपालिका-११ कहारन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीया रोशनी राईलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-९ चामुन्डाबाट अवैध लागूऔषध पोलेन ८० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय चेत बहादुर विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही नगरपालिका-९ चामुन्डाबाट पोलेन ५ सय १८ ग्राम र नगद १३ हजार १ सय ३० रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका-१२ जगडाँडा घर भएका ३० वर्षीय सुरेन्द्र गोलेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१० गुर्सिङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७० ट्याब्लेट र स्पास्मो ५ ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१० ज्वागल बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय रमेश चालिसे र काठमाडौं कपन बस्ने काभ्रे घर भएका २२ वर्षीय योगेश लामा रहेका छन् । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-२ क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय ४० मिलिग्राम सहित सोही गाउँपालिका-४ बैवाह बस्ने १९ वर्षीय बासुदेब महरालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय स्याङ आङदेम्बेलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-७ चन्द्रडागी बस्ने ३२ वर्षीय गंगा बहादुर मगरलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय २० मिलिग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, रत्ननगर नगरपालिका-१३ पञ्चरत्न टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४ ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय रबिन लामिछाने मगर र २६ वर्षीय अमृत लामिछाने मगर रहेका छन् । प्रहरी चौकी पञ्चकन्याबाट खटिएको प्रहरीले रबिनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल बलुवा बजार-६ बस्ने २२ वर्षीय सुबोध कुमार, सुपौल बलुवा बजार-२ बस्ने २२ वर्षीय रोहित कुमार र सुपौल बजार-१ बस्ने ४० वर्षीय मोहमद जमशेर रहेका छन् । इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।