अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०२-०३
- A
- A-
- A+
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६ सय ६० मिलिग्राम सहित कमल गाउँपालिका-६ त्रिवेणी चोक बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने कमल गाउँपालिका-१ घर भएका ३० वर्षीय सुर्य भन्ने बुद्धि साहुलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले मे.१ ह ५३४६ नम्बरको अटो जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक बुद्धिलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा अटो धनी सोही नगपालिका-९ बस्ने अर्जुनधारा नगरपालिका-११ घर भएका ३२ वर्षीय सन्देश भन्ने टिका बहादुर तामाङको कोठा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १५ ट्याब्लेट फेला पारी टिका बहादुरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
पर्सा, वीरगंज महानगरपालिका-३१ कटगेनवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम ३५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही महानगरपालिका-३२ परासवा टोल बस्ने २० वर्षीय राहुल सिंह समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौली समेतबाट खटिएको प्रहरीले भेडियाहीबाट मिलन चोकतर्फ आउँदै गरेको ना.३९ प २५३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध फेनारगन ६ एम्पुल र नोर्फिन ३ एम्पुल सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २६ वर्षीय निग्मा लामालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-१ मानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने २४ वर्षीय समिर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मुगु छायाँनाथ रारा नगरपालिका-१ घर भएका २९ वर्षीय नरेश शाही र झापा घर भएका ३३ वर्षीय अविषेक केसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-२ हलगडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय कृष्ण राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी बिट हलगडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ३९ हजार ५ सय ट्याब्लेट र नगद १ लाख ८९ हजार ५ सय रूपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने २९ वर्षीय मनिष ठकुरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।