अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २६ जना पक्राउ
२०८३-०२-१६
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१७ कालधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बालाजु जरङ्खु बस्ने रामेछाप घर भएका २३ वर्षीय प्रशान्त मगर र काठमाडौं कालधारा बस्ने नुवाकोट घर भएका २३ वर्षीय अनिल लामा रहेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले बा.३२ प ५६२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट नियन्त्रित लागूऔषध डाइजेपाम २१ एम्पुल, फेनारगन २० एम्पुल, बुप्रेनोर्फिन २१ एम्पुल र नगद २० हजार रूपैयाँ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने २९ वर्षीय बिशाल लामा र सोही नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय दावा लामा रहेका छन् । प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बझाङ, केदारस्युँ गाउँपालिका-९ झोता बजारस्थित अनिल होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित जयपृथ्वी नगरपालिका-१० बस्ने २२ वर्षीय प्रकाश श्रेष्ठ समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट झोताबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ४० मिलिग्राम सहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चिङ्गाड गाउँपालिका-३ मटेला बस्ने १९ वर्षीय आयुस जिसी, दैलेख भैरवी गाउँपालिका-२ बस्ने २३ वर्षीय सन्तोष थापा र दैलेख डुङ्गेश्वर गाउँपालिका-८ डाँडा पराजुल बस्ने २९ वर्षीय चन्द्र बहादुर आले रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सल्यान, बागचौर नगरपालिका-२ खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-७ कोटबारा बस्ने ३७ वर्षीय शोभाराम वलीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरीले दाङदेखि सल्यान पातिहाल्नातर्फ जाँदै गरेको भे.१ ज १७४२ नम्बरको गाडी जाँच गर्दा उक्त पदार्थ फेला पारी चालक शोभारामलाई पक्राउ गरेको हो ।
मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ७ सय १० रूपैयाँ सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय आशिष तामाङ र २८ वर्षीय राजकुमार राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-१ सिसौली टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र डाइक्लोमाइन ३ सय ६० ट्याब्लेट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राई, सोही नगरपालिका-१ बस्ने २५ वर्षीय बिकल राई र सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सुदेश राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले रोमनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ, उर्लाबारी नगरपालिका-७ बरगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने सुनवर्षी नगरपालिका-८ घर भएका ४२ वर्षीय मोहमद नसिम मिँयालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको कोठा समेत तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम २ सय २० मिलिग्राम र डिजिटल तराजु १ थान फेला पारी बरामद गरेको छ । रूपन्देही, रोहिणी गाउँपालिका-४ सुइलिहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३१ एम्पुल, फेनारगन २८ एम्पुल र बुप्रेनोर्फिन ३१ एम्पुल सहित नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ अमहवा बस्ने २२ वर्षीय अरमान फकिरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले लु.२० प ३०२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर, मध्यपुर थिमि नगरपालिका-५ कमेरोटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर कमेरोटार बस्ने बारा घर भएका १९ वर्षीय रोहित जैसवाल र सोही ठाउँ बस्ने बारा घर भएका २१ वर्षीय दिपक यादव रहेका छन् । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-८ थपुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ८० मिलिग्राम सहित ४ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने ३२ वर्षीय बिजय यादव, २८ वर्षीय संजय यादव, सोही नगरपालिका-८ थपुवा गाउँ बस्ने २१ वर्षीय संगम थारू र सोही नगरपालिका-११ भाडा पुरूवा बस्ने २० वर्षीय सन्तोष थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ६३२० नम्बर र भे.१४ प ४१२० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-८ चौबिसकोठीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने ३८ वर्षीय सुरेन्द्र बस्नेतलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, ईश्वरपुर नगरपालिका-८ रामपुरबाट अवैध लागूऔषध गाँजा करिब ५५ किलो सहित लालबन्दी नगरपालिका-११ हिरापुरटोल बस्ने २७ वर्षीय थमबङ्ग लामालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले बा.प्र.-०२-०६२ प ७०७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ ।
रूकुम पश्चिम, आठविसकोट नगरपालिका-१४ छेपारेबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १० किलो १ सय ६० ग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बस्ने ३६ वर्षीय राम बहादुर सार्कीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले जाजरकोट कालीमाटीबाट नेपालगंजतर्फ जाँदै गरेको लु.२ ख ५१९५ नम्बरको गाडी तलासी गर्दा उक्त पदार्थ फेला पारी चालक राम बहादुरलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।