प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रशासन विभाग - कल्याण महाशाखा

१. कोष परिचय :

१.१ पृष्ठभूमि :

प्रहरी संगठनका वहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु र अमर/सहिद प्रहरी परिवारका सदस्यहरुको लागि विभिन्न कल्याणकारी योजना तर्जुमा तथा कार्यान्वयन गरी आर्थिक सहयोग पुर्‍याई प्रहरी सेवा प्रति आकर्षण तथा आस्था अभिबृद्धि गर्ने उद्देश्यले प्रहरी कर्मचारीहरुको आयश्रोतबाट कोष सञ्चालन गर्न २०३९/११/१२ गते जिल्ला प्रशासन कार्यालय, काठमाण्डौमा “प्रहरी कल्याण केन्द्र” नामक संस्था दर्ताको पहिलो प्रयास गरिएको र पछि २०४९ सालदेखि शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघका मिशनहरुमा नेपाल प्रहरीको सहभागिता सँगसँगै कोष बृद्धि हुँदै गएपछि “प्रहरी कल्याण कोष विधान, २०५२” बनाई संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंमा “प्रहरी कल्याण कोष” नामक संस्था २०५२/०४/१८ मा दर्ता गरी कोष विधान सम्मत र व्यवस्थित रुपले सञ्चालन शुरु गरिएको हो । यसरी १८ वर्षसम्म गैरसरकारी संस्थाको रुपमा सञ्चालनमा रहेको प्रहरी कल्याण कोषको व्यवस्था प्रहरी नियमावली, २०७१ को नियम १९४ मा समावेश भई हाल सोही नियमावली अन्तर्गत २०७१/०१/०८ गतेदेखि कल्याण कोष संचालन कार्यविधि बनाई प्रहरी कल्याण कोष सञ्चालनमा रहेको छ ।

१.२ कोषको उदेश्य:
प्रहरी संगठनका वहालवाला र सेवानिबृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु र अमर/सहिद प्रहरी परिवारका सदस्यहरुको लागि स्वास्थ्य, शिक्षा, आर्थिक र सामाजिक तथा वृत्ति विकास क्षेत्र लगायत अन्य विविध कल्याणकारी क्षेत्रहरुमा समयानुकूल सेवा प्रदान गर्ने उद्देश्यले कोषको स्थापना भई सञ्चालनमा रही आएको छ ।

२. कोषको संचालन सम्बन्धी व्यवस्था :

२.१ संचालक समितिको व्यवस्था: प्रहरी कल्याण कोषको संचालन तथा व्यवस्थापनको जिम्मेवारी देहाय बमोजिमको  संचालक समितिलाई रहने व्यवस्था छ।

१.    प्रहरी अतिरिक्त महानिरीक्षक, प्र.प्र.का. मानवश्रोत एंव प्रशासन विभाग - अध्यक्ष 
२.    मेडिकल डाईरेक्टर, प्र.अ.म.नि. नेपाल प्रहरी अस्पताल - सदस्य
३.    प्रतिनिधि, गृह मन्त्रालय (रा.प. द्वितीय श्रेणीको अधिकृत) - सदस्य
४.    प्रतिनिधि, अर्थ मन्त्रालय (रा.प. द्वितीय  श्रेणीको अधिकृत) - सदस्य
५.    अवकाशप्राप्त र वहालवाला प्रहरी अधिकृत मध्येबाट संरक्षकले मनोनित गरेका २ जना - सदस्य
६.    अवकाशप्राप्त र वहालवाला प्रहरी हवल्दार र प्रहरी जवान मध्येबाट संरक्षकले मनोनित गरेका २ जना - सदस्य
७.    प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा प्रमुख - सदस्य सचिव

२.२ लेखा परीक्षण : प्रहरी  नियमावली २०७१ मा भएको व्यवस्था बमोजिम कोषको आन्तरिक लेखापरीक्षण संचालक समितिबाट गठित बोर्ड वा तोकेको निकाय र अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट हुने गरेको छ । नेपाल सरकारले चाहेमा जुनसुकै वखत पनि कल्याण कोषको हिसाब किताब जाँच्न वा जँचाउन सक्ने व्यवस्था रहेको छ ।

२.३ बार्षिक प्रतिवेदन : कल्याण कोषको आयव्यय सहितको वार्षिक प्रतिवेदन गृहमन्त्रालयमा पठाउने र प्रहरी वेवसाईट तथा संचार माध्यमबाट सरोकारवाला सबैको जानकारीका लागि सार्वजनिक गर्ने गरिन्छ ।

३. कोषको आयव्यय विवरण :

३.१ कोषका आयश्रोतहरु :

कल्याणकारी कार्यक्रम संचालनका लागि आयश्रोतहरु तपशिल बमोजिम हुनेछन्:-
(क) UNPOL र FPU मिशनमा सहभागी प्रहरी कर्मचारीबाट हुने योगदान रकम ।
(ख) FPU मिसन बन्दोबस्ती वापत  UN बाट प्राप्त हुने शोधभर्ना  (Reimbursement) रकम ।
(ग) विशेष आर्थिक कल्याणकारी ऋण सहुलियत कार्यक्रमबाट आर्जन हुने व्याज वापतको रकम ।
(घ) किस्ताबन्दी सहुलियत (सामान) ऋण कार्यक्रमबाट आर्जन हुने व्याज वापतको रकम ।
(ङ) प्रहरी पेट्रोल पम्पहरुबाट हुने वार्षिक आम्दानी ।
(च) चौतारा सि.पा., भृकुटीमण्डम काठमाडौं, भरतपुर चितवन, पुतलिबजार स्‍याङ्जा, बुटवल र बेलहिया रुपन्देही साथै नेपालगंज बाँकेमा रहेका सपिङ कम्प्लेक्सहरु तथा सटर कवलबाट प्राप्त हुने भाडा रकम ।
(छ) सामाखुसीको आवासगृह, भृकुटीमण्डप र नेपालगंज स्थित अतिथि गृहको भाडा रकम ।
(ज) भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लवबाट हुने आम्दानी ।
(झ) नेपालगंज स्थित माछापोखरी तथा रातोमाटे, बा.प्र.स.प्र.ग.मु. हेटौडाको हाताभित्र  NTC को  BTS टावर राखे वापत प्राप्त हुने भाडा रकम ।
(ञ) स्टिकर, परिचयपत्र बिक्री बाट हुने आम्दानी ।
(ट) विभिन्न बैंकहरुमा रहेको कोषको मौज्दात रकमबाट आर्जन हुने व्याज रकम ।
(ठ) फिल्म शुटिङको लागि उपलब्ध गराईने सुविधाहरु वापत प्राप्त हुने गरेको (सहयोग) रकम ।
(ड) अन्य कुनै श्रोतबाट कानून बमोजिम कोषलाई प्राप्त हुन आउने चल-अचल सम्पति ।

 ३.२ कोषबाट हुने खर्च विवरण :
(क) शिक्षण शुल्क मिनाहा,
(ख) बहालवाला, पूर्व, अमर र अशक्त अवकाश प्राप्त प्रहरी कर्मचारीहरुका छोरा/छोरीहरुलाई उच्च शिक्षा छात्रवृत्ति,
(ग) बहालवाला र पूर्व प्रहरी कर्मचारीहरुका परिवारहरुलाई किरियाकर्म अनुदान,
(घ) प्रहरी कल्याण कोष जेष्ठ प्रहरी निवृत्तिभण वितरण,
(ङ) दीर्घ सेवा कदर सम्मान,  
(च) नेपाल प्रहरी अस्पताल महाराजगन्जलाई अनुदान,
(छ) पूर्व प्रहरी कर्मचारी तथा अमर प्रहरी परिवारलाई औषधी उपचार (असाध्य रोग) अनुदान,
(ज) औषधी उपचार सापटी (वहालवालाका परिवारको उपचारको लागि) सुविधा,
(झ) सहुलियत ब्याजदरमा ‌ऋण (बिशेष आर्थिक कल्याणकारी कार्यक्रम अन्तर्गत) सुविधा,
(ञ) औषधी उपचार अनुदान /दुर्घटना क्षतिपुर्ति विमा (बिशेष आर्थिक कल्याणकारी योजना अन्तर्गत) सुविधा,
(ट) किस्ताबन्दी सहुलियत ऋण (सवारी साधन तथा विभिन्न सामाग्रीहरु) सुविधा,
(ठ) अमर/सहिद प्रहरीको एक जना छोरीलाई विवाह खर्च अनुदान,
(ड) सहुलियत घर निर्माण कर्जा सापटी सुविधा,
(ढ) भाषा तथा प्रि-स्याट तालिम,
(ण) बन्दाबन्दीका समयमा राहत वितरण कार्यक्रम,
(त) आवास र अतिथि गृह उपभोग सुविधा,
(थ) प्रोत्साहन छात्रवृत्ति, पुरस्कार  तथा आर्थिक सहयोग,
(द) नेपाल पुलिस स्कूलहरु तथा प्रहरी अस्पतालहरुको पुर्वाधार विकासमा सहयोग,
(ध) संचालक समितिबाट निर्णय भई प्रदान हुने अनुदान सहयोग एवं संचालन गरिने अन्य कार्यक्रमहरु ।

४. कोषबाट प्रदान हुने सेवा सुविधाहरु :

४.१ स्वास्थ्य उपचार सेवा तथा उपचार खर्च :

(क) नेपाल प्रहरी अस्पतालबाट उपचार सेवा –

१) बहालवाला प्रहरी कर्मचारीका लागि : वहालवाला प्रहरी आफैं वा आश्रित परिवारलाई अस्पतालमा उपलब्ध OPD परामर्श सेवा तथा Pathology, Radiology, Surgical, Dialysis आदि सुविधाहरुको उपभोग गर्न पाउने व्यवस्था रहनेछ । बहालवाला कुनै प्रहरी कर्मचारीको प्रहरी अस्पतालमा उपचार हुन नसक्ने भनि सम्बन्धित विभागको विशेषज्ञ डाक्टरबाट तोकिएको सरकारी अस्पतालमा थप परीक्षण र उपचारका लागि रेफर गरेको खण्डमा उपचार गर्दा लाग्ने खर्च आर्थिक अवस्थाले भ्याएसम्म तोकिए बमोजिम अस्पताल मार्फत सोधभर्ना हुनेछ तर विदेशमा लगि उपचार गर्नुपर्ने स्थिति भएमा भने तोकिएको मेडिकल बोर्डको सिफारिशमा प्रहरी प्रधान कार्यालयबाट नेपाल सरकारलाई लेखी पठाए पश्चात निकासा भई प्राप्त हुन आएको रकम उपलब्ध गराईनेछ । 

(परिवार भन्नाले पुरुष कर्मचारीको हकमा श्रीमती, आमा, बुवा, छोरा र छोरी, महिला कर्मचारीको हकमा विवाहित भए श्रीमान, सासु, ससुरा, छोरा, छोरी अविवाहित भए बुबा र आमालाई बुझ्नुपर्छ । )

२) निवृत्त प्रहरी कर्मचारी तथा अमर/सहिद प्रहरी परिवारका लागि : अमर/सहिद प्रहरी परिवार र निवृत्त अवकासप्राप्त अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारलाई अस्पतालमा उपलब्ध OPD परामर्श सेवा तथा Pathology, Radiology, Surgical, Dialysis आदि सुविधाहरुको उपभोग गर्न पाउने व्यवस्था रहेको छ । अस्पतालमा उपचार हुन नसक्ने अवस्थामा अन्यत्रबाट भएको उपचार खर्चको सोधभर्ना गरिने छैन ।

३) सेवा सुविधा पाउने प्रकृया र आवश्यक कागजात :
(क) वहालवालाको पति र पत्नीको लागि परिचय पत्र र निबृत प्रहरी कर्मचारीका लागि पेन्सनपट्टा, नाता प्रमाणित र नागरिकताको आधारमा नेपाल प्रहरी अस्पतालबाट बनाईएको औषधोपचार पुस्तिका (Sick Book ) ।
(ख) वहालवाला प्रहरीका आश्रित छोरा र छोरीको हकमा नाता प्रमाणित, जन्मदर्ता र निवृत प्रहरी तथा अमर/सहिद प्रहरीका हकमा पेन्सन पट्टा, नाता प्रमाणितका आधारमा अस्पतालबाट बनाईएको उपचार पुस्तिका (Sick Book )  ।
(ग) उपचार सुविधा लिनको लागि प्रहरी अस्पतालमा आउँदा हरेक पटक तोकिएको दस्तुर बुझाई Sick Book दर्ता गर्नु पर्दछ तर १० दिनभित्र पुनः उपचार सुविधा लिनु परेमा सोहि शुल्कबाटै सुविधा हासिल हुनेछ ।
(घ) OPD परामर्श सेवा बाहेक Pathology, Radiology, Surgical, Dialysis आदि लगायत तोकिएका अन्य  सेवासुविधाहरुका लागि अस्पतालले तोकेको न्यूनतम शुल्क बुझाएर मात्र सेवा लिन पाईने छ ।
(ङ) २१ बर्ष उमेर नाघेका सन्ततीहरुका लागि प्रहरी अस्पतालको उपचार सेवासुविधा प्राप्त हुने छैन ।
(च) पेन्सन पट्टा नभएका अवकाश प्राप्त प्रहरी कर्मचारी र तिनका आश्रित परिवारलाई अस्पतालको उपचार सेवा  सुविधा प्राप्त हुने छैन ।

(ख) उपचार खर्च अनुदान – वहालवाला प्रहरीका आश्रित श्रीमान् वा श्रीमति, अवकाशप्राप्त प्रहरी आफैं वा श्रीमती र अमर प्रहरीका आश्रित श्रीमान् वा श्रीमतीलाई गभीर प्रकृतिका ज्यान जोखिममा पार्ने मृगौला,क्यान्सर र मुटुरोगबाट पिडित भई शल्यक्रियाद्वारा उपचार गर्नु पर्ने भएमा नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डबाट सिफारिस भएको कुनै एक जनालाई एक पटकका लागि प्रहरी कल्याण कोषबाट रू. १ लाख अनुदान सहयोग प्रदान गर्ने व्यवस्था छ ।
सुविधा प्राप्तिको प्रकृया : प्रहरी अस्पतालका सम्बन्धित चिकित्सकलाई जचाई माथि उल्लेखित भएका कुनै रोगको शल्यक्रियाद्वारा उपचार गर्नु पर्ने देखिएमा सोहि अस्पतालका मेडिकल डाईरेक्टरज्यूलाई सम्बोधन गरी मेडिकल बोर्डको सिफारिशका लागि अनुरोध गर्ने र बोर्डको निर्णयसहित प्रहरी अस्पतालबाट उपचार अनुदान उपलब्ध गराई दिन प्रहरी कल्याण महाशाखामा लिखित सिफारिस पत्र पठाउने ।
(ग) अस्पताल अक्षय कोषबाट हुने उपचार अनुदान – कल्याणकारी कार्यका लागि नेपाल प्रहरी अस्पतालमा रहेको अक्षय कोषबाट आवश्यकता अनुसार विशेष परिस्थितिमा सो कोषको संचालक समितिको निर्णय भए बमोजिम उपचारका लागि विशेष आर्थिक सहयोग उपलब्ध हुने व्यवस्था रहेको छ ।

४.२ आर्थिक सहायता तथा सहुलियत ऋण सम्बन्धी व्यवस्था :

(क) आर्थिक सहयोग -‍ प्रकोपमा परि क्षति भएमा, दूर्घटनामा परी वा दीर्घरोग लागि औषधी उपचार गर्नु पर्ने अवस्थामा पुष्ट्याँई हुने आवश्यक प्रमाण कागजातका आधारमा पिडित वहालवालालाई रु १०,०००।– र अमर प्रहरी परिवार तथा अवकाशप्राप्त प्रहरी कर्मचारीलाई रु. ५०००।– सम्म आर्थिक सहायता दिने व्यवस्था रहेको छ । यो सुविधा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा रहेको जिल्ला कल्याणकारी कोषबाट समेत उपलब्ध हुने व्यवस्था रहेको छ ।

पेश गर्नु पर्ने आवश्यक कागजात :

  • वहालवाला प्रहरी कर्मचारिको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र र अमर प्रहरी परिवार तथा पुर्व कर्मचारिको हकमा सम्बन्धित व्यक्तिको निवेदन ।
  • औषधि उपचारको बापत आर्थिक सहयोगको लागि सम्बन्धित चिकित्सकले चेकजाँच गरेको प्रमाण ।
  •  प्रकोप बापत पाउने आर्थिक सहयोगको लागि नजिकको प्रहरी कार्यालयले गरेको घटनास्थल प्रकृति मुचुल्का र सिफारिस   पत्र ।
  •  अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारिको हकमा पेन्सन पट्टा र नागरिकता प्रमाणपत्रको प्रतिलिपि थप  आवश्यक पर्ने ।


(ख) दिर्घ सेवा कदर सम्मान - नेपाल प्रहरीबाट अनिवार्य (उमेरको हद, सेवा अवधि, पदावधिका आधारमा) अवकाश हुने प्रहरी कर्मचारीहरुलाई सेवा निवृत्त भई विदाई भएर जाने क्रममा लामो समय प्रहरी सेवामा समर्पित भएवापत कदर स्वरुप प्रशंसा पत्र सहित रु.१० हजार नगद प्रदान गरिने व्यवस्था छ ।

आवश्यक कागजातहरु

  • रकम माग भएको कार्यरत कार्यालयको पत्र ।
  • निवृत्त हुने प्रहरी कर्मचारीको कम्प्युटर कोड सहितको तिनपुस्ते अभिलेख ।

(ग) कल्याणकारी सहुलियत ऋण (उपचार) सापटी
बहालवाला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीहरुका परिवार (आमा, बुवा, श्रीमान्, श्रीमति, छोरा तथा छोरी) लाई असाध्य रोग लागि औषधी उपचार गर्नुपरेमा नेपाल प्रहरी अस्पतालको सिफारिसमा दुई वर्षको लागि कल्याण महाशाखाको लेखाशाखा मार्फत रु. १ लाख ५० हजारसम्म निर्ब्याजी रुपमा ऋण उपलब्ध गराईनेछ ।

आवश्यक कागजातहरु

  • कार्यरत कार्यालयको सिफारीस पत्र ।
  • कल्याण कोष कार्यविधिको अनुसूचि ८ बमोजिमको प्रहरी कर्मचारीको निवेदन ।
  • कर्मचारी परिचयपत्रको प्रमाणित प्रतिलिपि ।
  • कम्प्युटर कोड सहितको तीनपुस्ते अभिलेख ।
  • विरामी र कर्मचारी बीचको नाता प्रमाणित प्रमाणपत्र (श्रीमान् श्रीमतिको हकमा विवाह दर्ता  प्रमाणपत्र) ।
  • विरामीको उपचार सम्बन्धमा नेपाल प्रहरी अस्पतालले गरेको सिफारिस ।
  • सहुलियत ऋण प्राप्त गर्नका लागि उपलब्ध गराईएको खाता सम्बन्धमा सम्बन्धित बैंकले खातावालालाई दिएको खातावालाको नाम, ठेगाना, खाताको किसिम, खाता नम्बर र बैंकको विवरण समेत खुल्ने प्रमाण कागजातको प्रमाणित प्रतिलिपि अथवा खाता सम्बन्धमा प्रमाण स्वरुप बैंकले लेखिदिएको पत्रको सक्कल प्रति ।

(घ) किरियाकर्म खर्च अनुदान - वहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीको मृत्यू भएमा निजको नजिकको हकवालालाई रू. २५,०००।– किरियाकर्म खर्च अनुदान दिईने व्यवस्था रहेको छ । यो सुविधा बमोजिमको रकम सम्बन्धित जिल्ला प्रहरी कार्यालय मार्फत आवश्यक कागजात पेश गरी लिन सकिने र सो रकमको सोधभर्ना सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा रहेको जिल्ला कल्याणकारी कोषबाट हुने व्यवस्था रहेको छ ।

पेश गर्नु पर्ने आवश्यक कागजात :

  • हकवालाको निवेदन,
  • बहालवाला कर्मचारीको हकमा सम्बन्धित प्रहरी कार्यालयबाट मृत्यु खालि गरिएको पत्र,
  • मृत्यु दर्ताको प्रमाणपत्र,
  • हकवालासंग नाता प्रमाणित कागज,
  • हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन,
  • पेन्सनवाला कर्मचारी भए पेन्सन पट्टाको प्रतिलिपि,
  • हकवाला पत्नि नभएको अवस्था भए निजको मृत्यू दर्ता गरेको पत्र,
  • विवाह दर्ताको प्रमाणित प्रतिलिपि वा पति/पत्नी हुन् भनि सम्बन्धित जिल्ला प्रशासन वा स्थानीय तहको सिफारिस पत्र,
  • श्रीमतीको संख्या कति जना हो भनि खुलाईएको सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा स्थानीय तहको पत्र ,

(ङ) क्षतिपूर्ति राहत अनुदान - वहालवाला प्रहरीहरुका लागि संचालित विशेष आर्थिक कल्याणकारी कार्यक्रम योजना अन्तर्गत वहालवाला प्रहरी कर्मचारीको जुनसुकै कारणबाट मृत्यु भएमा राहतस्वरुप रु. ३ लाख नगद अनुदान दिने व्यवस्था रहेको छ । यो सुविधाको भुक्तानी प्र.प्र.का. कल्याण महाशाखाबाट गरिने व्यवस्था रहेको छ ।

पेश गर्नुपर्ने आवश्यक कागजात :

  • हकवालाको निवेदन,
  • मृत्यु खालीको पत्रको प्रतिलिपि,
  • मृत्युदर्ता प्रमाणको प्रतिलिपि
  • मृतक तथा हकवालाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • विवाह दर्ताको प्रमाणित प्रतिलिपि वा पति/पत्नी हुन् भनि सम्बन्धित जिल्ला प्रशासन वा स्थानीय तहको पत्र,
  • हकवालासंगको नाता प्रमाणित कागजको प्रतिलिपि,
  • एक मात्र वा कति जना श्रीमती छन् सो खुलेको सम्बन्धित जिल्ला प्रशासन वा स्थानीय तहको पत्र,
  • दुर्घटनाको हकमा संभव भए शव परीक्षण प्रतिवेदनको प्रतिलिपि,
  • सम्बन्धित प्रहरी कार्यालयको सिफारिस पत्र,
  • घटनासँग सम्बन्धित अन्य कागजातहरु

(च) विवाह अनुदान:
कर्तव्य पालनाको शिलशिलामा विरगती प्राप्त अमर प्रहरीको सन्ततीहरु मध्ये एक जना छोरीको शुभ विवाहमा संस्थागत अभिभावकत्व बहन गर्दै विवाह खर्च सहयोगको रुपमा प्रहरी कल्याण कोषको तर्फबाट अनुदान स्वरुप  एकमुष्ट रु.३० हजार उपलब्ध गराउने व्यवस्था रहेको छ ।

आवश्यक कागजातहरु:

  • नेपाल सरकारबाट अमर प्रहरी घोषणा भएको खुल्ने कागजात ।
  • अमर प्रहरी र प्रहरी परिवारको सम्बन्धित स्थानिय निकायबाट जारी गरेको नाता प्रमाणित प्रतिलिपी ।
  • मृत्युदर्ता प्रमाणपत्रपत्रको प्रमाणित प्रतिलिपी ।
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी ।


(छ) औषधी उपचार अनुदान (वहालवाला प्रहरी कर्मचारीहरुलाई विशेष आर्थिक कल्याणकारी योजना अन्तर्गत):
वहालवाला प्रहरी कर्मचारीहरुलाई मुटु, मृगौला, क्यान्सर जस्ता असाध्य रोग लागेको अवस्थामा औषधी उपचारमा सहयोग पुर्‍याउन नेपाल प्रहरी अस्पताल मेडिकल बोर्डको सिफारिसमा नेपाल सरकारले उपलब्ध गराउने सुविधाका अतिरिक्त रु.१ लाखसम्म औषधी उपचार राहत अनुदान उपलब्ध गराईने छ ।

आवश्यक कागजातहरु:

  • प्रहरी कर्मचारीको निवेदन, परिचय पत्रको फोटोकपि, नागरिकताको प्रमाणपत्रको फोटोकपि
  • नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकबाट जाँच भएको प्रमाण ।
  • नेपाल प्रहरी अस्पतालको मेडिकल बोर्डको निर्णयपत्र ।
  • उपचार खर्च अनुदान उपलब्ध गराई दिन प्रहरी प्रधान कार्यालय कल्याण महाशाखालाई लेखिएको नेपाल प्रहरी अस्पतालको सिफारिस पत्र ।

(ज) सहुलियत ऋण – “विशेष आर्थिक कल्याणकारी कार्यक्रम योजना”  अन्तर्गत नेपाल प्रहरीका वहालवाला कर्मचारीहरुलाई घरायसी समस्या सुल्झाउन नोकरी अवधी ७ वर्ष पुरा भई २ वर्ष वाँकी रहेको सबै प्रहरी कर्मचारीले online आवेदन दर्ता गरे मुताविक दर्ता क्रमानुसार तोकिएको सुहुलियत व्याजदरमा निम्नानुसार नगद ऋण प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

सि.नं. बिबरण ऋण रकम किस्ता संख्या किस्ता रकम
बार्षिक ब्याजदर
१. प्र.ना.म.नि. र सो भन्दा माथि रु.४,००,०००।- ६० रु. ७९२०।- ७%
२. प्र.नि. देखि प्र.व.उ. सम्म रु.३,००,०००।- ६० रु. ५९४०।- ७%
३. प्र.का.स. देखि प्र.ना.नि. रु.२,००,०००।- ६० रु. ३९६०।- ७%

आबेदन नेपाल प्रहरीको ईन्ट्रानेट मा http://192.168.10.64:9001/LoanRequest/faces/main.jsf बाट सम्बन्धित कार्यरत इकाईको लेखाशाखा मार्फत गर्न सकिने ।

आवश्यक कागजातहरु:

(क) कार्यरत कार्यालयको सिफारीस पत्र सहित सम्बन्धित प्रहरी कर्मचारी कार्यरत रहेको कार्यालय/तालुक कार्यालय (बजेट संचालन हुने) बाट कल्याण कोष कार्यविधिको अनुसुची-  १३ बमोजिमको सहुलियत ऋणको अनलाईन आवेदन फारम भर्ने ।
(ख) अनुसुचि-१३ बमोजिमको अनलाईन आवेदन स्वीकृत भए पश्चात् अनुसुचि-१४ बमोजिमको  सहुलियत ऋण सापटी तमसुक भरी सक्कलै प्रति प्रहरी कल्याण महाशाखा, विशेष आर्थिक कल्याणकारी योजना शाखामा पठाउने ।

(झ) सहुलियत घर निर्माण कर्जा (Home Loan) – नेपाल प्रहरी सेवामा बहालमा रहेका तल्लो दर्जाका प्रहरी कर्मचारीहरुलाई घर निर्माणको लागि निम्नानुसार सहुलियत ब्याजदरमा घर निर्माण कर्जा उपलब्ध गरिने व्यवस्था रहेको छ:-

सि.नं. बिबरण घर निर्माण कर्जा रकम ब्याजदर किस्ता संख्या
किस्ता रकम
१. जुनियर प्रहरी अधिकृत रु.७,००,०००।- ६% १२० रु. ७,७७१।-
२. जवान/ हवल्दार रु.६,००,०००।- ६% १२० रु. ६,६६१।-
३. प्रहरी कार्यालय सहयोगी रु.५,००,०००।- ६% १२० रु. ५,५५१।-

आबेदन नेपाल प्रहरीको ईन्ट्रानेट मा http://192.168.10.64:9001/homeloan/faces/main.jsf बाट सम्बन्धित कार्यरत इकाईको लेखाशाखा मार्फत गर्न सकिने ।

आवश्यक मापदण्ड:

(१) सेवा अवधि कम्तीमा १० वर्ष पुरा भएको र ५ वर्ष सेवा अवधि बाँकी रहेको वहालवाला प्रहरी कर्मचारी हुनु पर्दछ ।
(२) प्रहरी कल्याण कोषबाट कुनै पनि प्रकारका ऋण सुविधाहरु लिए बापत किस्ता तिर्न बाँकी नभएको हुनु पर्दछ ।
(३) यो कर्जा सुविधाबाट आवास निर्माण गरिने जग्गाको स्वामित्व प्रहरी कर्मचारी आफ्नै नाममा वा श्रीमतीको नाममा रहेको हुनुपर्ने र कर्जा आवेदन साथ जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि अनिवार्य पेश गर्नु पर्नेछ  ।
(४) आवास निर्माण गरिने जग्गा प्रहरी कर्मचारी आफ्नो नाममा नभई श्रीमान् वा श्रीमतीको नाममा भएको अवस्थामा जग्गा दर्ता रहेको व्यक्तिबाट प्रहरी कल्याण कोषबाट लिइने कर्जाको मञ्जुरीनामा पेश गरेको हुनुपर्ने छ ।  
(५) आवास निर्माण सम्बन्धमा स्थानीय तहबाट घर निर्माणको लागि स्वीकृत नक्सा हुनुपर्ने छ ।
(६) कल्याण कोष कार्यविधिको अनुसूची १५ बमोजिमको सहुलियत घर निर्माण कर्जा फाराम भरी लेखा संचालन गर्ने कार्यालयमा बुझाउने ।
(७) माथी उल्लेखित कागजातहरुका आधारमा लेखा संचालन गर्ने कार्यालयले तोकिए बमोजिमको अनलाईन आवेदन भरी  पठाउने ।

४.३ शिक्षा सम्बन्धी व्यवस्था :

(क) शैक्षिक बृति – प्रहरी विद्यालयहरुमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत प्रहरी हवल्दार देखि प्रहरी कार्यालय सहयोगिसम्मका वहालवाला, अवकासप्राप्त तथा अमर प्रहरीका सन्ततिहरुलाई मासिक रु. ३००।– का दरले शैक्षिक बृत्ति उपलब्ध गराईने व्यवस्था रहेको छ । तर अमर प्रहरीका सन्ततिहरुलाई प्रहरी बिद्यालयका अतिरिक्त जुनसुकै विद्यालयमा अध्ययनरत रहेमा पनि शैक्षिक बृत्ति वापतको सुविधा लिन पाउने व्यवस्था रहेको छ ।
   
पेश गर्नु पर्ने आवश्यक कागजात :

  • हकवालाको निवेदन
  • नाता प्रमाणित पत्रको प्रतिलिपि (वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि )
  • सम्बन्धित बिद्यालयमा अध्ययन गरिरहेको प्रमाणित पत्र
  • पास भएको मार्कशिटको प्रतिलिपि
  • निवेदकको नागरिकताको प्रतिलिपि
  • निबृत प्रहरी कर्मचारी भए पेन्सनपट्टाको प्रतिलिपि
  • अमर प्रहरी का सन्ततिको हकमा मृत्यू खालिको पत्रको प्रतिलिपि

(ख) जेहन्दार छात्रबृत्ति –  नेपाल प्रहरी विद्यालयहरुमा अध्ययनरत वहालवाला जु.प्र.अ. देखि जवानसम्मका सन्ततिहरु मध्ये सर्वोत्कृट अंक प्राप्त गर्ने जेहन्दार सन्ततिहरुलाई निम्न कोटामा मासिक रू. ५००।–दरले छात्रबृत्ति दिईने व्यवस्था रहेको छ । सम्बन्धित प्रहरी विद्यालयबाट जेहन्दार कोटामा छनौट गरी सिफारिश गरिएका सन्ततिलाई कल्याण महाशाखाबाट छात्रबृत्ति रकम उपलब्ध गराउने ब्यबस्था रहेको छ ।
जु.प्र.अ. का सन्तति                            -  २ जना
प्र.ह.देखि प्र.का.स. सम्मका सन्तति     -  ४ जना
                        
(ग) उच्चशिक्षा छात्रबृत्ति – हरेक वर्षको SEE परीक्षामा उच्च अंक हासिल गर्ने वहालवाला, अवकाश प्राप्त, अमर/सहिद र अशक्त प्रहरीका सन्ततीहरुलाई निम्नानुसारको कोटामा ११/१२ कक्षा अध्ययन को लागी अध्ययन कार्य जारी रहेसम्म लगातार २ वर्षसम्म छात्रवृत्ति रकम दिईनेछ ।
साथै हरेक वर्षको १२ कक्षा पश्चात परीक्षा (११/१२ संयुक्त) मा उच्च अंक हासिल गर्ने वहालवाला, अवकाश प्राप्त, अमर/सहिद र अशक्त प्रहरीका सन्ततीहरुलाई निम्नानुसारको कोटामा उच्च शिक्षा अध्ययन को लागी अध्ययन कार्य जारी रहेसम्म लगातार बढीमा ४ वर्षसम्म छात्रवृत्ति रकम दिईनेछ । छनौटमा परेको कुनै सन्तती कुनै कक्षामा अनुत्तिर्ण भएमा यो सुविधाबाट वञ्चित  गरिनेछ ।

वहालवालको हकमा (मासिक रू १५००।-) :
     प्र.ना.उ./प्र.नि. सन्तति                  -     २ जना
     जु.प्र.अ.का सन्तति                      -      ४ जना
     प्र.ह./प्र.ज./का.स.क. सन्तति        -      १० जना
                
अवकाशप्राप्त प्रहरीको हकमा ( मासिक रू १५००।-) :
     प्र.नि. सन्तति                                -     २ जना
     जु.प्र.अ.का सन्तति                        -     ४ जना
     प्र.ह./प्र.ज./का.स.क. सन्तति          -     ४ जना

अमर प्रहरी र अवकासप्रापत अशक्त प्रहरीको हकमा ( मासिक रू. १५००।-)  –  १०/१० जना

पेश गर्नु पर्ने आवश्यक कागजात :

  • SEE परीक्षामा प्राप्त गरेको लव्धांक पत्र तथा चारीत्रिक प्रमाणपत्रको प्रतिलिपि,
  • छनौटमा परेकाहरुको हकमा कलेजमा भर्ना गरेको सक्कलै बिल,
  •  वहालवाला कर्मचारीको हकमा कार्यरत प्रहरी कार्यालयको सिफारिस पत्र,
  •  अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीको हकमा पेन्सन पट्टा र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,

(घ) उच्चशिक्षा प्रोत्साहन छात्रबृत्ति - शिक्षा मन्त्रालयको छात्रबृत्ति परीक्षामा छनौट भई MBBS, Engineering, Nursing , Computer Science आदिमा उच्च शिक्षामा अध्ययनरत वहालवाला, अवकाशप्राप्त र अमर प्रहरीका सन्ततिलाई निम्नानुसार प्रोत्साहनस्वरुप छात्रबृत्तिको ब्यबस्था गरिएको छ ।

वहालवाला तथा अवकास प्राप्त प्रहरीका हकमा :   

     प्र.ह./प्र.ज./का.स.क.का सन्तति लाई         - रु.१ लाख  
     जु.प्र.अ.का सन्ततिलाई                            - रु.७५ हजार
     सि.प्र.अ.का सन्ततिलाइ                           - रु. ५० हजार

अमर प्रहरी परिवार तथा अवकासप्राप्त अशक्त प्रहरीका हकमा :
     जुनसुकै दर्जाका भए पनि          -रु. १ लाख   

पेश गर्नु पर्ने आवश्यक कागजात :

  • शिक्षा मन्त्रालयको छात्रबृत्तिमा छनौट भएको प्रमाण पत्र,
  • अध्ययनरत क्याम्पसको सिफारिस पत्र,
  • वहालवाला कर्मचारीको छोरा/छोरीको हकमा कार्यरत प्रहरी कार्यालयको सिफारिस पत्र,
  • अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीको हकमा पेन्सन पट्टा र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
  • नाता प्रमाणित पत्रको प्रतिलिपि ।

(ङ)  अशक्त प्रहरीहरुको सन्ततीहरुलाई छात्रवृत्ति:
कर्तव्य पालनाको सिलशिलामा अशक्त भएका प्रहरी कर्मचारीको एक जना सन्ततीलाई कक्षा ६ देखि स्नातक तहसम्मको अध्ययनका लागि वार्षिक रु. ३ हजार ६ सयका दरले छात्रवृति उपलब्ध गराईने छ ।

आवश्यक कागजातहरु:

  • निवेदन ।
  • नाता प्रमाणित पत्रको प्रतिलिपि (वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि) ।
  • सम्बन्धित विद्यालयमा अध्ययन गरिरहेको प्रमाणित पत्र ।
  • पास भएको लब्धाङ्क पत्रको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रमाणित प्रतिलिपि ।
  • मेडिकल बोर्डबाट प्रमाणित अशक्तताको प्रमाणपत्रको प्रतिलिपी ।
  • अशक्त अवकासको कागजातको प्रतिलिपी ।

४.४ अशक्त प्रहरीका लागि राहत सामान वितरण :
सशस्त्र मुठभेड, आतंककारी विरुद्धको कार्वाही, सवारी दुर्घटनामा घाईते भई वा अन्य कुनै रोग आदिबाट अशक्त भएका वहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीहरुका लागि आवश्यकता अनुसार ४ पांग्रे स्कुटर, कृत्रिम  अंगहरू  ( हातगोडा, पंजा तथा औंलाहरु आदि ) र श्रवणयन्त्रहरु नि:शुल्क उपलब्ध गराउने व्यवस्था रहेको छ ।
वितरण प्रकृया : आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयबाट गठित राहत सामाग्री सिफारिस बोर्डले नेपाल भर छरिएर रहेका अशक्त प्रहरी कर्मचारीहरुको विवरण प्रहरी ईकाईहरु मार्फत संकलन गरी अशक्तताको अवस्थाको आधारमा सिफारिस गरिएकाहरुलाई कोषबाट स्कूटर,कृत्रिम अंगहरु, श्रवण यन्त्र तथा उपकरणहरु बितरण गरिन्छ ।

४.५ बहालवाला प्रहरी कर्मचारीहरुलाई सहुलियत किस्तावन्दी (सामान खरिद) सुविधा : प्रहरी कल्याण कोषबाट प्रदान हुने किस्ताबन्दी सहुलियत ऋण प्राप्त गर्नको लागि देहाय अनुसारको मापदण्ड आवश्यक हुनेछ ।

(क) चारपाङ्ग्रे हलुका सवारी साधन लिने ब्यक्ति कर्मचारी प्रहरी अधिकृत दर्जाको हुनुपर्ने छ ।
(ख) हलुका सवारी साधन (कार/जीप) लिन इच्छुक प्रहरी अधिकृतहरुको लागि सेवा अवधि ७ वर्ष पुरा भई जुनियर प्रहरी अधिकृतको हकमा ७ वर्ष, प्रहरी निरीक्षक देखि उपरीक्षक सम्म ५ वर्ष र सो भन्दा माथिको दर्जाको हकमा १ वर्ष सेवा अवधी बाँकी भएको हुनुपर्दछ ।
(ग) सवारी साधन (मोटरसाईकल / स्कुटर मात्र) र घरायसी प्रयोजनका तोकिएका सामानहरु किस्ताबन्दी सहुलियत ऋणबाट खरिद गर्न ईच्छुक प्रहरी कर्मचारीको सेवा अवधि सामान्यतया ५ (पाँच) बर्ष पुरा भएको र १ (एक) बर्ष बाँकि रहेको हुनु पर्दछ ।
(घ) किस्ताबन्दी सहुलियत (सामान) ऋण कार्यक्रमबाट प्रवाह हुने २ लाख ऋण सिमा भित्र रही एक भन्दा बढी तोकिएका सामाग्री एकमुष्ट खरिद गर्न सकिने छ तर एउटै प्रकृतिको सामान एक भन्दा बढी खरिद गर्न पाईने छैन ।
(ङ) सहुलियत ऋणबाट खरिद हुने सवारी साधनको ऋण चुक्ता नहुँदासम्म प्रहरी कल्याण कोषको नाममा दर्ता कायम रहने छ ।
(च) सवारी साधन (कार/जिप वा मोटरसाईकल/स्कुटर) खरिद गर्न सहुलियत ऋण लिन चाहने सम्बन्धित प्रहरी कर्मचारीको वा एकाघरको (श्रीमान्/श्रीमती, दाजु/भाई, दिदि/बहिनी, बाबु/आमा, छोरा/छोरी ) नातेदारको सवारी चालक अनुमति पत्र र नाता खुल्ने कागजातको प्रमाणित प्रतिलिपी  पेश गर्नु पर्ने छ ।

क्र.

सं. 
विवरण  प्रदान गरिने सहुलियत ऋण रकम  (रु.)  ब्याज दर  किस्ता संख्या  मासिक किस्ता रकम (रु)  अवधि (बर्ष)  कै 
हलुका सवारी साधन
चारपाङ्ग्रे (कार/जिप) १५,००,०००।- ६% १२० १६,६५३।- १०  
मोटरसाईकल / स्कुटर २,००,०००।- ६% ७२ ३,३१५।-  
घरायसी प्रयोजनको सामान
 १ वासिङ मेसिन     १,००,०००।– ५% ३६ २,९९८।-  ३  
 २ कम्प्यूटर १,००,०००।– ५% ३६ २,९९८।-  
 ३ ट्रेड मिल १,००,०००।– ५% ३६ २,९९८।-  
 ४ टेलिभिजन ५०,०००।– ५% ३६ १,४९९।-  
 ५ फ्रिज ( Refrigerator ) ५०,०००।– ५% ३६ १,४९९।-  

आबेदन नेपाल प्रहरीको ईन्ट्रानेट मा http://192.168.10.64:9001/LoanInstallment/faces/main.jsf बाट सम्बन्धित कार्यरत इकाईको लेखाशाखा मार्फत गर्न सकिने ।

आवश्यक कागजातहरु:

(क) कार्यरत कार्यालयको सिफारीस पत्र सहित सम्बन्धित प्रहरी कर्मचारी कार्यरत रहेको कार्यालय/तालुक कार्यालय (बजेट संचालन हुने) बाट कल्याण कोष कार्यविधिको अनुसुची- १० बमोजिमको किस्ताबन्दी अनलाईन आवेदन फारम भर्ने ।
(ख) अनुसुचि-१० बमोजिमको अनलाईन आवेदन स्वीकृत भए पश्चात् अनुसुचि-११ बमोजिमको  किस्ताबन्दी तमसुक भरी सक्कलै प्रति प्रहरी कल्याण महाशाखा, किस्ताबन्दी शाखामा पठाउने ।

 ४.६ आवास सुविधा :
बहालवाला सि.प्र.अ., जु.प्र.अ. तथा जवानहरुको लागि प्रहरी कल्याण कोषद्वारा सामाखुसी, काठमाण्डौमा निम्नानुसार आवास सुविधाको व्यवस्था गरिएको छ । आवास सुविधा प्रयोग, रेखदेख, सरसफाई तथा मर्मत संभार आदि कार्यहरुको लागि जारी भएको आवास निर्देशिका (प्रहरी वेवसाईटमा राखिएको छ)  बमोजिम आलोपालो सबैले समानरुपमा उपभोग गर्न पाउने व्यवस्था गरिएको छ।
निम्नः
१) प्र.ना.उ  -  ४ परिवार
२) प्र.नि. - १२ परिवार
३) जु.प्र.अ. -  ६ परिवार
४) प्र.ह./प्र.ज. -  १४ परिवार
(आवास सुबिधा उपभोग गरे बापत आवास भवनहरुको मर्मत संभार प्रयोजनका लागि शुरु तलब स्केलको सि.प्र.अ.ले १०% र जु.प्र.अ. तथा जवानले ८% रकमका दरले प्रत्येक महिना कल्याण महाशाखामा आवास भाडा बुझाउनु पर्ने छ ।)
 
४.७ अतिथि गृहको व्यवस्था :
काठमाण्डौको भृकुटीमण्डपमा र नेपालगंजको धम्बोझीमा वहालवाला तथा अवकाशप्राप्त प्रहरी अधिकृत तथा जवानहरु तथा निजका परिवारहरु र अमर प्रहरी परिवारहरुका लागि काम विशेषमा प्रयोग गर्नुपर्दा तोकिएको  निम्नानुसारको न्यूनतम शुल्कमा केहि दिनका लागि आवास सुविधा उपलब्ध गराउन अतिथि गृह संचालन गरिएका छन् ।
क) काठमाण्डौ भृकुटीमण्डप स्थित अतिथि गृहको शुल्क दर :
सि.नं. विवरण शुल्क
 १.  प्रहरी उपरीक्षक  २००।-
 २.  प्रहरी नायब उपरीक्षक / प्रहरी निरीक्षक  १५०।-
 ३.  प्रहरी नायव निरीक्षक/ प्रहरी सहायक निरीक्षक  १००।-
 ४.  प्रहरी हवलदार / प्रहरी जवान/कार्यालय सहयोगी कर्मचारी  ७५।-
 
ख) नेपालगंज धम्बोजी स्थित अतिथि गृहको शुल्क दर :
सि.नं.
विवरण
शुल्क
 १.
प्रहरी नायब उपरीक्षक र सो भन्दा माथि
 ११०।-
 २.
 प्रहरी निरीक्षक
 ६०।-
 ३.
 प्रहरी नायव निरीक्षक/ प्रहरी सहायक निरीक्षक
 ४०।-
 ४.
 प्रहरी हवलदार / प्रहरी जवान/कार्यालय सहयोगी कर्मचारी
 ३०।-
 
४.८ नेपाल प्रहरी पेट्रोल पम्प :
नेपाल प्रहरीका सवारी साधनहरु तथा प्रहरी कर्मचारीहरुका  र सर्वसाधरणहरुलाई सरल रुपमा ईन्धन उपलब्ध गराई सेवा पुराउने तथा कल्याणकारी कार्यक्रमहरु  संचालनको लागि केहि आय आर्जन गरी टेवा पुर्यारउने उदेश्य सहित निम्न स्थानमा पेट्रोल पम्पहरु संचालन गरिएको छ ।
सि.नं. निम्नः-
 १.   प्रहरी कल्याण कोष,पेट्रोल पम्प,नक्साल, काठमाण्डौ
 २.  प्रहरी कल्याण कोष,पेट्रोल पम्प,सामाखुसी, काठमाण्डौ
 ३.  प्रहरी कल्याण कोष,पेट्रोल पम्प,पथलैया, बारा
 ४.  प्रहरी कल्याण कोष,पेट्रोल पम्प,भरतपुर, चितवन
 ५.  प्रहरी कल्याण कोष,पेट्रोल पम्प,कदमाहा, सप्तरी
४.९ नेपाल पुलिस हेल्थ क्लब :
नेपाल पुलिस हेल्थ क्लबले वहालवाला तथा निबृत प्रहरी कर्मचारीहरुका र तिनका आश्रित परिवारहरुको शारिरीक तन्दुरुस्ती तथा मनोरंजनको लागि २०५९ साल देखि काठमाण्डौं भृकुटीमण्डपमा नेपाल पुलिस क्लव स्थापना भई स्विमिङ, जीम, साउना तथा ज्याकुजि आदि सुबिधाहरु निम्नानुसारको सेवा शुल्क सहित संचालनमा रहेको ।
Category Monthly(RS) Quarterly(RS) BI-annual(RS) Annual(RS) Remarks
 A. All Events Membership          Membership hour
Single  10,000  20,000  30,000  40,000  7am-10am
Couple  15,000  30,000  40,000  60,000  4pm-7pm
 Family        100,000  
 B. Gym Membership          Opening Hours
 Single  5,000  10,000  15,000  20,000  7am-10am
 Couple  9,000  18,000  25,000  35,000  3:30pm-7pm
 Family  15,000  30,000  45,000  60,000  
 C. Gym Membership          Opening Hours
 Single  3,000  6,000  9,000  15,000  6am-10am
 Couple  5,000  10,000  15,000  25,000  3pm-7pm
 Family  9,000  18,000  25,000  35,000  
 D. Sauna Membership          Opening Hours
 Single  5,000  10,000  15,000  20,000  7am-11am
 Couple  9,000  18,000  25,000  35,000  4pm-7pm
 Family  15,000  30,000  45,000  60,000  

 माथिको सेवा शुल्कमा छुटको व्यवस्था
     १. वहालवाला तथा सेवा निवृत प्रहरी कर्मचारीहरुलाई     - ७५% छुट
    २. परिवारका सदस्यहरुलाई                                          - ५०% छुट

प्रहरी कर्मचारीहरुको लागि मात्र निम्न दिनहरुमा नि:शुल्क सेवा उपलब्ध गराईनेछ:-
१. सिनियर प्रहरी अधिकृतलाई                            - आईतबार
२. जू.प्र.अ.लाई                                                  - मंगलबार
३. प्र.ह.,प्र.ह., प्र. का.स. कर्मचारीहरुलाई            - विहिवार

सर्वसाधारणका लागि छुट
१. नेपाल सरकारका वहालवाला निजामति प्र.क.का लागि    - २५%
२. १० वर्ष मुनिका बालबालिका/विधार्थीका लागि                 - ३५%
३. अपांङगहरुलाई                                                          - ३५%
४. ७० वर्ष भन्दा बढी उमेर पुगेका जेष्ठ नागरीका लागि नि:शुल्क सेवा दिईने ।

४.१० नेपाल पुलिस स्कूल :
वहालवाला तथा अवकाशप्राप्त प्रहरी कर्मचारीहरु, अमर प्रहरी  र सर्वसाधारणका सन्ततीहरुलाई सरल र सुलभ रुपमा गुणस्तरिय शिक्षा प्रदान गर्नका लागि नेपाल प्रहरीबाट प्रादेशिक संरचना अनुरुप निम्न स्थानहरुमा रहेका प्रहरी विद्यालयहरुबाट प्रहरी कर्मचारीका अतिरिक्त सर्वसाधारण समेत शैक्षिक सुविधाबाट लाभान्वित भएका छन् ।
सि.नं. विद्यालयको नाम स्थापना मिति
 १.  नेपाल पुलिस स्कुल, साँगा, काभ्रे      २०४०/११/१२
 २.  नेपाल पुलिस स्कुल, घोराही, दाङ     २०४१/१०/२०
 ३.  नेपाल पुलिस स्कुल, बेलचौतारा, तनहुँ     २०४१/१२/१५
 ४.  नेपाल पुलिस स्कुल, धनगढी, कैलाली     २०४२/०१/०३
 ५.  नेपाल पुलिस स्कुल, धरान, सुनसरी     २०४५/११/०६
 ६.  नेपाल पुलिस स्कुल, सामाखुसी, काठमाडौं     २०५५/०३/१३
 ७.  नेपाल पुलिस स्कुल, गरुडा, रौतहट    २०५८/१२/१०
८. नेपाल पुलिस स्कुल, शान्तिपुर, चितवन    २०७५/१०/२९
९. नेपाल पुलिस स्कुल, विरेन्द्रनगर, सुर्खेत     २०७५/१२/१४
 
४.११ नेपाल पुलिस क्लव :
नेपाल पुलिस क्लव, भृकुटीमण्डपमा सर्वसाधारणका लागि निम्न बमोजिमका खेलहरु उपलब्ध हुने र सो सेवा सुविधाहरु लिनको लागि सदस्यता शुल्क निम्न बमोजिम निर्धारण गरिएको छ ।
निम्नः
 
सि.नं. खेल शुल्क दर
१. व्याडमिन्टन     २०,०००।-
२. लन टेनिस     ३०,०००।-
३. आजीवन    १,५०,०००।-
 
४.११ फिल्म शुटिङ :
फिल्म शुटिङको लागि उपलब्ध गराईने तपशिल बमोजिमका सुविधाहरुको लागि निम्नानुसार सहयोग रकम निर्धारण गरिएको छ ।

 सि.नं. विवरण अवधी सहयोग रु. कै.
 १.  कार्यालय भवन ग्राउण्ड  १ देखि ३ घण्टा  ८,०००।-  
 २.  सवारी साधन  प्रति घण्टा  ६,०००।-  
 ३.  मेसिनरी वाकिटकी प्रतिसेट  प्रति घण्टा  २,५००।-  
 ४.  घोडा  प्रति घण्टा  २,५००।-  
 ५.  कुकुर  प्रति घण्टा  ५,०००।-  
 ६.  अन्य सामान ( हतियार बाहेक)  १ देखि ३ घण्टा  १,०००।-  प्रति आईटम
 ७.  समारोह स्थल  १ घण्टा  ७,०००।-  
८. हतियार ( कर्मचारी सहित ) प्रतिघण्टा र गोटा ५,०००।-  
९. मोटरवोट प्रति घण्टा ५,०००।-  

Card image cap
मीरा चौधरी

प्रहरी अतिरिक्त महानिरीक्षक