हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना पक्राउ
२०८३-०५-०१
- A
- A-
- A+
जाजरकोट, भेरी नगरपालिका-११ जगतिपुरस्थित औषधि पसल गरी बस्ने दैलेख नारायण नगरपालिका-२ घर भएका ३२ वर्षीय दिपक कुमार थापाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भेरी नगरपालिका-८ बस्ने ३३ वर्षीय बिरेन्द्र खत्री, सोही नगरपालिका-९ बस्ने २१ वर्षीय निरज रोकाय, २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय बिनोद गोसाई रहेका छन् । भेरी नगरपालिका-१० नुवागाउँमा बिरेन्द्र समेतका व्यक्तिहरूले साउन २५ गते राति कुटपिट गर्दा गम्भीर घाइते भएका दिपकको नेपालगंज केयर सिटी अस्पतालमा उपचारको क्रममा साउन २८ गते मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत जाजरकोटबाट कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।