केवाईसी अपडेटको लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ
२०८३-०५-०२
- A
- A-
- A+
केवाईसी अपडेटको लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा देउताल गाउँपालिका-४ बस्ने २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिम रामग्राम नगरपालिका-१६ बस्ने २२ वर्षीय जय कुमार केवट, सोही नगरपालिका-१७ बस्ने २२ वर्षीय विद्या सागर केवट र पर्सा वीरगंज महानगरपालिका-३ बस्ने २७ वर्षीय कुवेर थापा रहेका छन् ।
बैंकबाट बोलेको हुँ केवाईसी अपडेट गर्नुपर्यो भन्दै पछिल्लो समयमा बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई लक्षित गरी फोन तथा ह्वाट्स एप कलमा स्क्रिन सेयर गर्न लगाई ओटिपि कोड प्राप्त गरी अथवा ओटिपि कोड माग गरी कर्मचारीहरूको खातामा पहुँच पुर्याई खातामा रहेको रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट पक्राउ गरेको हो ।
उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।