अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८३-०७-१०
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोटबाट अवैध लागूऔषध गाँजा ४२ किलो ४ सय १० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बैसाली महुवा टोल बस्ने २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ जाँदै गरेको बिआर १ एपि ६०७३ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा १९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक बिर्जु कुमार र गाडीमा सवार मन्जय कुमारलाई पक्राउ गरेको हो । बाँके, बैजनाथ गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दुखराम थारूलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
धनुषा, शहिदनगर नगरपालिका-१ भगबन टोल बस्ने ४० वर्षीया प्रमिला देवी मण्डललाई अवैध लागूऔषध गाँजा करिब २ किलो ४ सय ७० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्रमिलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।