अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-२४
- A
- A-
- A+
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित सडकबाट करिब १ किलो अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित बाग्लुङ मिसि गाउँपालिका-९ बस्ने ३२ वर्षीय बेगम घर्तीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ८५७१ नम्बरको बसलाई अस्थायी प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार बेगमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, तनहुँ आबुँखैरेनी गाउँपालिका-४ बेनिटार सडकबाट नियन्त्रित लागूऔषध नुफिन १ सय २५ एम्पुल, डाइजेपाम १ सय २७ एम्पुल र फेनारगन १ सय २६ एम्पुल सहित पर्वत कुश्मा नगरपालिका-३ बस्ने २२ वर्षीय अनिल परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । मुग्लिङबाट आबुँखैरेनीतर्फ जाँदै गरेको ना.५ ख ४९६७ नम्बरको बसलाई अस्थायी प्रहरी बिट मुग्लिन पुलजिप तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार परियारले लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एकनम्बर ढाटस्थित सडकबाट करिब ३ ग्राम १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुन्दरहरैचा नगरपालिका-११ बस्ने २६ वर्षीय श्रवण कुमार राजधामी र सोही ठाउँ बस्ने ३५ वर्षीय बिशाल बस्नेत रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ११ प ९१३६ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।