प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नक्कली शैक्षिक प्रमाणपत्र सहित नौ जना पक्राउ

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर भई झापा दमक नगरपालिका-५ बस्ने २५ वर्षीय समिर राई, कास्की पोखरा महानगरपालिका-१० घर भएका ४० वर्षीय अरूण कार्की, नुवाकोट बेलकोटगढी नगरपालिका-९ घर भई काठमाडौं टोखा नगरपालिका बानियाटार बस्ने २५ वर्षीया राधिका तामाङ, स्याङजा चापाकोट गाउँपालिका-२ घर भई काठमाडौं बसुन्धारा बस्ने ३८ वर्षीया सबिता श्रेष्ठ, झापा मेचीनगर नगरपालिका-६ घर भएका ४६ वर्षीय बिदुर प्याकुरेल, काठमाडौं कागेश्वरी नगरपालिका घर भएका २१ वर्षीय सुरज राज खत्री, अछाम मंगलसेन नगरपालिका-१२ घर भएका २७ वर्षीय वीरेन्द्र बहादुर रावल, झापा विर्तामोड नगरपालिका-५ घर भएका ४० वर्षीय दिनेश प्रसाई र दमक नगरपालिका-८ घर भएका ४८ वर्षीय सूर्य बहादुर श्रेष्ठ रहेका छन् ।  

नेपालस्थित अमेरिकन दुतावासमा  ईडीभी २०२१ को नतिजामा नाम निकालेका तर भिसा प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली एकेडेमिक ट्रान्सकिप्ट बनाई  पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नक्कली एकेडेमिक ट्रान्सकिप्ट सहित शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न दिनेश र सूर्य बहादुरलाई ईलाका प्रहरी कार्यालय दमक झापा र ईलाका प्रहरी कार्यालय अनारमनी झापाको समन्वयमा पक्राउ गरेको हो । 

उनीहरुलाई लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको  छ । 


सम्बन्धित समाचार
मुद्दा मिलाई दिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८०-०६-१६

झापा, मुद्दा मिलाई दिन्छु भन्दै १ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दमक नगरपालिका-५ क्याम्पस मोड बस्ने ३८ वर्षीय शिव नारायण सिंहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका-२ बस्ने २७ वर्षीय तिलकराम खवासको कोठाबाट तिलकराम, दिपक साह र रेशम गौतमलाई अवैध लागूऔषध ब्राउनसुगरसहित गत असार २६ गते प्रहरीले पक्राउ गरेको थियो । उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको अवस्थामा दिपक साहको आफन्तलाई मुद्दा मिलाई दिन्छु भनि शिव नारायणले उक्त नगद ठगी गरेको भन्ने जानकारी गराउन साथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई दमक बजारबाट पक्राउ गरेको हो ।  उनी उपर ठगी मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
२०८०-०६-१६

पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल बस्ने ५६ वर्षीया कान्ती देवी वीनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा जगरनाथपुर गाउँपालिका-५ मसिहानी टोल बस्ने ३६ वर्षीय भुट्टा भन्ने लालबाबु राउत वीन तथा मृतकका जेठाजुहरू सोही ठाउँ बस्ने ५९ वर्षीय चन्द्रिका राउत वीन  र ५७ वर्षीय अमिका भन्ने अमीरीका राउत वीन रहेका छन् । गत असोज २ गते दिउँसो आफ्नै घरभित्र घाँटी रेटी हत्या भएको अवस्थामा कान्ती देवीको शव फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले लालबाबु राउतलाई असोज ७ गते पक्राउ गरेको थियो । थप सोधपुछ एवम् अनुसन्धानको क्रममा चन्द्रिका राउत र अमीरीका राउत समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि उनीहरूलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । कान्ती देवीको घरमा चोरी गर्ने योजनाका साथ असोज १ गते राति सुरूङ बनाइ (सेनकाटी) घरभित्र प्रवेश गरेर चोरी गर्नको लागि बक्साहरू खोतिल्दै गरेको अवस्थामा कान्ती देवी बिउँझी उनीहरूलाई चिने पश्चात पोल खुल्ने डरले खुर्पीले घाँटी रेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।  उनीहरू उपर जिल्ला अदालतबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न १२ जना पक्राउ
२०८०-०६-१६

झापा, दमक नगरपालिका-१ कुमाल चोकस्थित रूवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा ईलाम चुलाचुली गाउँपालिका-३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा उक्त रोष्ट हाउसका संचालक विशाल कुमाल, दमक नगरपालिका-७ सयपत्री टोल बस्ने २२ वर्षीय सनम राई, सोही नगरपालिका-१ नवदुर्गा टोल बस्ने २२ वर्षीय आनन्द भन्ने राज कुमार भुजेल, सोही नगरपालिका-१ पाङमी चोक बस्ने २५ वर्षीय नामुद थेव, सोही नगरपालिका-१ फाल्गुनन्द चोक बस्ने २६ वर्षीय आकाश केरुङ, सोही नगरपालिका-७ पशुहाट टोल बस्ने २३ वर्षीय राहुल श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका-७ बस्ने २८ वर्षीय सलमान लिम्बु, ईलाम चुलाचुली गाउँपालिका-४ बस्ने ३१ वर्षीय सन्दिप राई, सोही गाउँपालिका-३ बस्ने ३८ वर्षीय सूर्य केरुङ, ३८ वर्षीय उपेन्द्र राई, झापा दमक नगरपालिका-७ राधाकृष्ण टोल बस्ने १८ वर्षीय किशोर र मोरङ बिराटनगर महानगरपालिका-६ अमाननगर बस्ने २९ वर्षीय मफुद मिया रहेका छन् ।  उक्त रोष्ट हाउसमा असोज १२ गते बिहान सनम राईसमेत १० जना मादक पदार्थ सेवन गरी विवाद हुँदा सनम राईले लुकाई राखेको छुराले गोविन्दलाई प्रहार गरी हत्या गरी फरार भएका थिए । घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तत्काल खटिएको प्रहरीले सोही दिन ८ जनालाई, थप अनुसन्धानको क्रममा मोरङ उर्लाबारी नगरपालिका-१ टप्पु टोल उर्लाबारी-मधुमल्ला सडकमा प्र.१-०१-०१२ प २९५३ नम्बरको मोटरसाइकल रोकी राखेको अवस्थामा ३ जनालाई र घटनामा प्रयोग भएको छुरा व्यवस्थापन गर्न सहयोग पुर्‍याउने मियालाई समेत पक्राउ गरेको हो । उक्त हतियार सोही महानगरपालिका-९ स्थित रोड शिक्षादिप कलेजको पार्किङ छेउमा रहेको झाडीबाट बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।   

चोरी गरी लैजाँदै गरेको मोटरसाइकलसहित दुई जना पक्राउ
२०८०-०६-१५

झापा, अर्काको डेराबाट एकाबिहानै चोरी गरी डोर्‍याँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित २ जनालाई भद्रपुर नगरपालिका-४ तारानगरबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन् ।  उनीहरूले शंकास्पद अवस्थामा उक्त मोटरसाईकल लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल बिर्तामोड नगरपालिका-४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाई नगरपालिका-३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

रक्त चन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ
२०८०-०६-१४

कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ पत्थरकोटबाट रक्त चन्दन जस्तो देखिने काठ करिब ६ सय ५३ केजी १ सय ८८ ग्रामसहित शिवराज नगरपालिका-३ बस्ने २६ वर्षीय टिकाराम पाण्डे र अर्घाखाँची पाणिनी गाउँपालिका-७ पोखेडाँडा बस्ने ३३ वर्षीय गोकुल दर्लामी लगायत ८ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना.५ ख ७३८२ नम्बरको ट्रकमा ६ सय १६ केजी ९ सय ७० ग्राम  र लु.२ च १६३९ नम्बरको पिकअपमा ३६ केजी २ सय १८ ग्राम गरी उक्त परिमाणको काठ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा फेला पारी ट्रक चालक टिकाराम र पिकअप चालक गोकुल लगायत उनीहरूलाई पक्राउ गरेको हो ।  उनीहरूलाई उक्त गाडी र काठसहित आवश्यक कारबाही तथा अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय तौलिहवा  कपिलवस्तुमा बुझाइएको छ ।