प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

२०७९-०६-०९

  • A
  • A-
  • A+
Share

चितवन, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो । जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको संगठनका सदस्य हुनु पाउनु आफैंमा सम्मानको विषय हो । तसर्थ नव-प्रवेशी प्रहरी अधिकृतहरूलाई प्रहरी सेवालाई केवल पेशाको रुपमा मात्र नलिई राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन निर्देशन गर्दछु ।” 

प्रहरी महानिरीक्षक सिंहले हिंसाजन्य एवम् अमानवीय व्यवहारलाई समाजमा कुनै स्थान दिन नहुने र कुरीतिजन्य आचरण तथा व्यवहारले समाजको सुन्दरतालाई कुरूप पार्ने उल्लेख गर्दै आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराई नेपाल प्रहरी नागरिक आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित हुने गरी काम गर्ने समेत आग्रह गर्नुभयो । कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण र निस्तेज गरी कानुनी राज्यको प्रवर्द्धन गर्न दृढ संकल्पित रही आफ्नो कर्तव्यको दौरानमा त्यसको पूर्ण कार्यान्वयन गर्न उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गरी संगठनले विभिन्न विश्वविद्यालय र तालिम संस्थाहरूसँग सहकार्यको थालनी गरेकोले आगामी दिनमा प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको उल्लेख विकास, स्रोतसाथन र उचित तालिमको अवसरले प्रहरीको व्यावसायिकतामा थप निखार थपिने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो ।

तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७८ असोज १३ गतेदेखि संचालित उक्त तालिममा ३८ जना महिला सहित कुल ५ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।  

उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, जिल्ला अदालत चितवनका न्यायाधीस रितेन्द्र थापा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, विभिन्न सरकारी तथा गैह्र साकारी कार्यालयका कार्यालय प्रमुख  तथा अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।



सम्बन्धित समाचार
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०८१-०१-०४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०१-०२

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी,  इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव सम्पन्न
२०८०-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । उहाँले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्‍घाटन गर्नुका साथै अवलोकन तथा बिरामीसँग भेटघाट समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले अस्पतालका भिजिटिङ कन्सल्टेन्ट प्रध्यापक डा. सानु मैया दली, अस्पताललाई स्थापना कालदेखि सेवा सहयोग गर्नुहुने पूर्व प्रहरी नायव उपरीक्षक श्री बहादुर थापा र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई कदरपत्र प्रदान गर्नुभयो । यसै गरी एन.पि.एल. समाज कल्याण संस्था ललितपुरलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत स्त्री तथा प्रसुती विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्‍याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारमा प्रदान गरिने स्वास्थ्य सेवाको आधारमा प्रहरीको कर्मचारीको मनोबल, उत्प्रेरणा, हौसलाका साथै स्वास्थ्यमा समेत अभिवृद्धि भई तिनीहरूबाट सम्पादित कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई सेवा गर्नुपर्ने बताउँदै शारीरिक तथा मानसिक रूपले सक्रिय रहनुपर्ने प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था र प्रहरीबाट सम्पादित कार्यसम्पादन एवम् प्रभावकारी सेवा प्रवाह एक अर्कासँग अन्तरसम्बन्धित विषयवस्तु भएको हुँदा संगठनले यसलाई उच्च प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पताललको विकास र विस्तारमा सँधै सहयोगी र सकारात्मक रहँदै यसका लागि संगठनले खेल्नुपर्ने भूमिका तथा सहयोगप्रति सदैव चिन्तनशील तथा प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ह्‍विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘हेल्दी वेवी सो कन्टेस्ट’ कार्यक्रममा छनौट भएका ३ जना शिशुहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै संघका अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरि आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.सुन्दर प्रसाद हैंजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

संगठनको नीति अनुसारको काम फिल्डमा हुनुपर्छ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-१२-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा पेशागत र व्यवसायिक सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको स्वार्थलाई माथि राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा नतिजा आउने गरी जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । नयाँ कार्यक्षेत्रमा खटिएपछि त्यहाँको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, गुण्डागर्दी, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कडाईका साथ कानूनी दायरामा ल्याउन मातहत प्रहरी कर्मचारी तथा कार्यालयहरूलाई समेत क्रियाशील बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।  यस अघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

१३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-१२-२३

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहनुभएको छ । यसै गरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत नारायण ज्ञवाली र सोम प्रसाद पंगेनी रहनुभएको छ ।  समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दामाथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा उत्रने विश्वास लिइएको बताउनुभयो । पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ-आफ्नो क्षेत्र अन्तर्गत संगठनको सुदृढिकरणका लागि रचनात्मक क्रियाशिलतातर्फ अग्रसर रहन उहाँले निर्देशन दिनुभयो । सरूवा, बढुवा लगायतका पद्धति र प्रक्रिया वैज्ञानिक, पारदर्शी तथा न्यायोचित हुनुपर्छ र सोही अनुरूप नेतृत्व तह सदैव चिन्तित भएर अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “त्यसमा सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट साझा प्रतिबद्धता, सामुहिक साथ र सहयोगको अपेक्षा लिएको छु ।” आफ्नो पद, जिम्मेवारी र संगठनप्रति जवाफदेही रहँदै संगठनको सुदृढिकरणमा सदैव दत्तचित भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मस्तिष्कमा समझदारी, हृदयमा इमानदारी र काँधमा जिम्मेवारी बोध गरी स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी राष्ट्र हितमा काम गर्न सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८०-१२-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताउनुभयो । संगठनको कार्यसम्पादन गुणस्तर बढाउन र लक्ष्य प्राप्त गर्न विशुद्ध रूपमा निष्ठापूर्वक काम गर्न उहाँले निर्देशन दिनुभयो ।    प्रहरी महानिरीक्षक कुँवरले संगठनको प्राथमिकताबारे सबैलाई जानकारी भएको चर्चा गर्दै सोही अनुरूप आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा आफू रूपान्तरण हुने र सकारात्मक उत्प्रेरणाका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो संयन्त्र राष्ट्र हितमा प्रयोग गर्दै माटोको पहिचान गरी संगठन र राष्ट्रको लक्ष्य हासिल गर्न राष्ट्र सेवकको रूपमा सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको   थियो ।