प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवौं राष्ट्रिय खेलकुद २०७९ मा पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान तथा पुरस्कार वितरण

२०७९-०८-२५

  • A
  • A-
  • A+
Share

    काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले “नवौं राष्ट्रिय खेलकुद २०७९” मा पदक विजेता नेपाल प्रहरीमा आवद्ध खेलाडी, नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरू तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरु तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको हो । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हाँसिल गरेकै कारण नेपाल प्रहरी संगठनको गरिमा उँचो हुँदै आएको चर्चा गर्नुभयो ।  नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीहरूले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गर्दै उहाँले खेलाडीहरूले सफलता पछाडिको संघर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गरी व्यक्तिगत उपलब्धीका साथै संगठनको श्रीवृद्धि, वृहत्तर हित र संस्थागत बिकासमा योगदान दिन खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो ।

प्रहरी पेशा अन्तर्गतका जिम्मेवारीहरू बहुआयामिक रहने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले संगठन र राज्यले सुम्पिएको जस्तोसुकै जिम्मेवारी दृढता र कर्तव्यपरायणताका साथ निर्वाह गर्न तत्पर हुनु सवै प्रहरी कर्मचारीको प्राथमिक दायित्व रहेको  बताउनुभयो । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पदक विजेता खेलाडीहरू समेतको उच्च योगदान रहेको उहाँले बताउनुभयो । 

प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि र मनोबल उच्च गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट खेलाडीलाई संगठनमा आवद्ध गराई महत्वपूर्ण मञ्च उपलब्ध गराउने नेपाल प्रहरीको नीति रहेको तथा उत्कृष्ट खेलाडीको आवद्धताले आगामी दिनमा नेपाल प्रहरीको प्रदर्शन अझ सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभयो । 

समारोहमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीले विभिन्न खेलकुद गतिविधिमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरी राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । साथै उहाँले प्रतियोगितामा नेपाल प्रहरीको सहभागिता सम्बन्धी संक्षिप्त जानकारी दिँदै २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट सहभागी खेलाडीहरुले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल १ सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो ।

विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट सिंगल ईभेन्ट स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई ७ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ५ हजार रुपैयाँ एवम् सामूहिक ईभेन्टतर्फ स्वर्ण पदक विजेतालाई ७ हजार रुपैयाँ, रजत पदक विजेतालाई ५ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३ हजार रूपैयाँ प्रदान गरिएको छ । यसैगरी विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान राख्न सफल ८ जना खेलाडीहरुलाई जनही थप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट २९ खेलमा ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए । जसमध्ये १९८ जना महिला र २९७ जना पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रहरी सहायक निरीक्षक तारादेवी पुन, प्रहरी सहायक हवल्दारद्वय बिकास थापा र मुई लामा तथा प्रहरी जवानहरू जुनुमाया छन्त्याल, बिद्या राई, बिशाल सिंह बिष्ट, सन्देश गुरूङ र चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरीमा आवद्ध खेलाडीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



सम्बन्धित समाचार
शैलेश्‍वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र द लाइब्रेरी क्याफे उद्‍घाटन
२०८१-०१-२८

उदयपुर, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्‍वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको शुक्रबार उद्‌घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा तथा ८० वर्षभन्दा बढि उमेर भएका पूर्व प्रहरी कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । साथै उहाँले शैलेश्‍वर शिव पाञ्चायन मन्दिरमा पुजा अर्चना समेत गर्नुभयो । उद्‌घाटन पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित मन्दिरले प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शान्ति मिल्नुका साथै आफ्नो कार्य सम्पादनमा पेशागत दायित्व निर्वाह गर्न, सतमार्ग र सदविवेक प्रयोग गर्न अन्तस्करण भावनाको बृद्धि हुने बताउनुभयो । धार्मिक आस्था एवं विश्‍वासले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्ने, हौसला मिल्ने र गलत क्रियाकलाप गर्नबाट रोक्नुका साथै कार्य बोझबाट हुने तनाव कम गर्न समेत सहयोग पुग्ने विश्‍वास उहाँले ब्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले रचनात्मक सोचले निर्माण गरिएको क्याफेले प्रहरी र नागरिक बिचको सम्बन्धलाई नजिक बनाउन सेतुको भुमिका निर्वाह गर्नुका साथै प्रहरी कर्मचारीहरूमा पठन पाठनको विकास हुने विचार व्यक्त गर्नुभयो । बौद्धिक जगतका व्यक्तित्वहरूसँग शान्ति सुरक्षा सम्बन्धी समसामयिक विषयवस्तुमा बौद्धिक मन्थन एवं चिन्तन गर्ने थलोको रूपमा लाइब्रेरी क्याफे प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले मन्दिर निर्माण भएबाट प्रहरी कर्मचारीहरूमा सकारात्मक उर्जाको प्रवाह भई कार्य क्षमतामा वृद्धि हुने चर्चा गर्दै नयाँ परिकल्पना स्वरूप रहेको लाइब्रेरी क्याफेबाट ज्ञानगुनका साथै नयाँ ऐन, नीति, नियम, कानूनको बारेमा जानकार रहन अवसर मिल्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश कुमार राई, त्रियुगा नगरपालिकाका उप-प्रमुख महेश्‍वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनाम, विभिन्न स्थानिय पालिकाहरूका प्रमुख, जन-प्रतिनिधिहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय भद्र भलादमी, नागरिक समाजका प्रतिनिधिहरू, पुर्व प्रहरी कर्मचारीहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैह्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।   उक्त कार्यक्रम पश्‍चात प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र जिल्लास्थित अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीहरू बिच समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल समेत भएको थियो ।

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
२०८१-०१-२४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘अपराध अनुसन्धान दिग्दर्शन’ पुस्तकको विमोचन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप  तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा मात्र सीमित नराखी तत्काल कार्यान्वयनमा लैजानु पर्नेमा जोडदिँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘वार्षिक लक्ष्य अनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरेको छ वा छैन अथवा प्रगति हासिल गरेको छ/छैन सो सम्बन्धमा उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन, मूल्याङ्कन तथा मार्गनिर्देशनलाई निरन्तरता दिनुपर्छ । कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना दस्तावेजको रूपमा मात्र सीमित नहोस् भन्नेतर्फ हामी उत्तिकै संवेदनशील हुनुपर्ने देखिएको छ ।’ कार्ययोजना तय गर्दा होस् वा कार्यसम्पादन करार गर्दा आम नागरिकलाई प्रदान गरिने सेवा प्रवाह, सांगठनिक सुदृढिकरण र आन्तरिक शुद्धिकरणलाई केन्द्रविन्दुमा राखेर गरिएको हुनाले वार्षिक लक्ष्य प्राप्ति र सम्पूर्ण विषयको तादम्यता मिलेको हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकमा प्रहरी प्रति प्रकट गरिने रूष्टता तथा गुनासोमा स्वत: कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई निर्देशन समेत दिनुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख बिच शिष्टाचार भेटघाट
२०८१-०१-२०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । यसअघि आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।सो अवसरमा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो । कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
२०८१-०१-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवर हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन फ्रान्स प्रस्थान
२०८१-०१-१०

काठमाडौं,   National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building का विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२४ अप्रिल २३ देखि २५ (तद्अनुसार २०८१ वैशाख ११ देखि १३ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुनु हुनेछ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको विदाइ
२०८१-०१-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।  बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गर्नुभएको कार्य सह्रानीय रहेको बताउनुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।  विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त हुनुभएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लाग्नु भएको हो । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको   थियो ।