प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन उद्‍घाटन

२०७९-१०-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहवीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपण समेत गर्नुभयो । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रममा आवद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउनुहुने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलव राज गिरीलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अविनाश ध्वज जाशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गर्नुभयो । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति बिकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाको रूपमा विकास गर्दै लैजानु पर्ने उहाँले बताउनुभयो । 

चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू १/१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको उहाँले बताउनुभयो । 

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित जेष्ठ प्रहरी अतिथि गृहले उहाँहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुबिधा प्राप्त गर्ने कुल संख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण बिकास गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

विरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’ नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी संचालनको लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभयो । 

सो अवसरमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी संगठन स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरू संचालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्न विगत देखिनै प्रयासरत रहेकोमा यस शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन भएको बताउनुभयो । देशमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको उर्जावान समय प्रहरी सेवामा दिई अवकाश हुनु भएका पूर्व प्रहरी कर्मचारीहरू र तिनका आश्रित परिवारहरूको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । 

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सम्बन्धी प्रतिवेदन र प्राविधिक प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले जेष्ठ प्रहरी अतिथि गृह भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

 नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजार १ सय ८० रूपैयाँ ३८ पैसामा निर्माण कार्य सम्पन्न भएको हो । उक्त ३ तले नवनिर्मित भवनको कुल क्षेत्रफल ६ हजार ९ सय ७३ दशमलव ५५ वर्ग फिट रहेको छ । नवनिर्मित भवनको भुइँ तलामा मेश, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष रहेको   छ । पहिलो र दोस्रो तलामा २ वटा क्याबिन, ३ वटा कमन कोठा र ट्वाइलेट/बाथरूम ब्लकको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा १८ जनासम्म बस्ने क्षमता रहेको छ । 

उद्‍घाटन समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका प्रतिनिधिहरू, पूर्व प्रहरी संगठन तथा परिषदका अध्यक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइसेन्ज कार्यकारीणी समितिका पदाधिकारीहरू, प्राध्यापक तथा शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । 



सम्बन्धित समाचार
सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
२०७९-१२-१०

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी  पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका-७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट अवैध लागूऔषध गाँजा ९ केजी ७ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको गस्ति टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-१२-०९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४६औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।