अवैध लागूऔषधसहित पक्राउ
२०७९-११-०८
- A
- A-
- A+
सिरहा, मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-९ डुमरी घर भई मिर्चैया नगरपालिका-६ बस्ने ४६ वर्षीय कुशेश्वर यादव र धनगढीमाई नगरपालिका-१४ सरेअम्वास बस्ने ३६ वर्षीय गौरब शाही रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले अन टेष्ट लेखिएको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार कुशेश्वर र गौरबलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न गोलबजार नगरपालिका-१ मुक्सार टोल घर धनगढी नगरपालिका-१४ सरेअम्बास टोल बस्ने २४ वर्षीय काले भन्ने भुपेन्द्र बहादुर ठकुरीलाई समेत मिर्चैया नगरपालिका-९ घुर्मी पुलबाट बागमती प्रदेश ०२-०२६ प०१९७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।
रौतहट, फतुवाबिजयपुर नगरपालिका-९ लक्ष्मिनिया बकैया खोलाको बाँधबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्रामसहित कटहरिया नगरपालिका-१ भसेढवा टोल बस्ने १९ वर्षीय बिकाश कुमार दासलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लक्ष्मिनीया र सशस्त्र प्रही बल नेपाल सुरक्षा बेस लक्ष्मिनियाबाट संयुक्तमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ५६ किलोग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र राप्ती नगरपालिका-१ बस्ने १५ वर्षीय किशोर रहेका छन् । अस्थाई प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले बा.३ च २५०४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-७ थारु छत्राबास नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ८ ग्रामसहित सोही उपमहानगरपालिका-४ बस्ने २६ वर्षीय अछय चौधरीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खैरो हेरोइनसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।